हार्न नजानेकी झरना, भन्छिन : चौधौं सागमा स्वर्ण जित्ने धोको छ


     एभरेस्ट आवाज    
     पौष १८ गते २०७७ मा प्रकाशित




बाह्रौं सागमा रजत पदक जितेपछि पदक देखाउँदै झरना ।

बाह्रौं दक्षिण एसियाली खेलकुद (साग)मा खेल्ने क्रममा घाईते भएकी पोखरेली उसु खेलाडी झरना गुरुङले स्वर्ण गुमाईन् । सानैदेखि स्वर्ण जितेर नेपालको नाम चम्काउने धोको उनको बाह्रौं सागमा पूरा भएन । उनले रजत पदकमा चित्त बुझाईनन् । घाईते भएपछि गुरुसहित धेरैले उनलाई फाइनल खेल नखेल्न सुझाए । तर उनले मानिनन् । सानैदेखिको आफ्नो सपना सम्झिईन् । देशलाई सम्झिइन् । र चोटग्रस्त भएपनि फाइनल खेल्ने अठोट गरिन् । खेल्न त खेलिन् फाइनल । तर उनलाई स्वास्थ्यले साथ दिएन । उनको काँध (सोल्जर) मुनिको भागको ईञ्जुरीका कारण पर्फमेन्स सोंचेजस्तो भएन । उनले प्रतिष्पर्धी भारतीय खेलाडीलाई २–० को सेटमा नतिजा सुम्पिइन् ।

बाह्रौं सागमा रजत पदकमा चित्त बुझाउन बाध्य भएकी झरना नेपालमै बसेर फेरी खेल्न चाहन्थिन् । आफू भन्दा जुनियर खेलाडीलाई प्रशिक्षण गराएर प्रतिष्पर्धामा खरो उतार्दै देशका लागि पदक दिलाएर देशको नाम चम्काउन चाहन्थिन् । तर सोंचेको सँधै कहाँ पुग्छ र ? उनको जीवनमा पनि नसोंचेकै भयो । बाह्रौं साग सकेर स्वदेश फर्किएकी उनलाई राखेपले सहायक प्रशिक्षकको रुपमा अनुबन्ध गर्यो । तर भूमिका भने दिएन । झरना दैनिक प्रशिक्षण गराएर खेलाडी उत्पादन गर्न चाहन्थिन् । राखेपले भने सिनियरलाई प्रशिक्षणमा प्राथमिकता दिनुपर्ने भन्दै उनलाई जगेडामा थन्कायो । सँधै फ्रण्टलाईनमा बसेर देशका लागि सेवा गर्ने उनको सपनामाथि बज्रपात भयो । जगेडामा बसेर भूमिकाहिनहुँदै तलब मात्र खाईरहन उनको स्वाभिमानले दिएन । त्यसपछि उनलाई लाग्यो यसरी राखेपको बोझ बनेर बस्नुभन्दा विदेशिनु राम्रो । कम्तिमा आफ्नो भविष्य त बन्छ ।

नभन्दै उनी विदेशिइन् । हाल उनी स्पेनमा बस्दै आएकी छन् । विदेशिएपनि नेपालको माया र खेलले उनलाई पछ्याउन छाडेको छैन । उमेरले ३२ वर्ष टेकेकी अविवाहित झरनाको स्वर्ण जित्ने हुटहुटी अझै बाँकी छ । विदाको समय पारेर जन्मथलो पोखरा आएकी झरनाले आफ्नो खेल्ने धोको अझै पूरा नभएको बताईन् । मेरो खेल्ने धोको अझै पुगेको छैन,उनले भनिन्,‘सागमा स्वर्ण जित्ने मेरो धोको छ ।’ उनले स्वर्ण जित्ने आफ्नो धोको चौधौं सागमा पूरा गर्ने बताइन् । मलाई स्वर्ण जितेरै छाड्ने हुटहुटी छ,उनले थपिन्,‘म यसका लागि सम्पूर्ण कुरा गर्न तयार छु, म यो सपना पूरा गरेरै छाड्छु ।’

स्पेनमा बस्दै आएकी झरनाले तेह्रौं साग भने गुमाईन् । तेह्रौं सागको छनौट(सेलेक्सन) भएकै जानकारी नहुँदा सागमा स्वर्ण जित्ने धोको २ वर्ष पर धकेलिएको उनको भनाई छ । ‘म तेह्रौं सागमै खेल्थें, तर कहिले सेलेक्सन भयो भन्ने जानकारी नै भएन ।’–उनले भनिन् । तर चौधौं साग म कुनैपनि हालतमा गुमाउन चाहदिंन,उनले थपिन्,‘मैले मेरा गुरुहरुदेखि खेलकुदका पदाधिकारी सबैलाई भेटेर यसबारे जानकारी गराईसकेको छु, म खेलेरै छाड्छु ।’ झरनाले चौधौं सागको लागि आफूले अहिलेदेखि नै तयारी शुरु गरिसकेको बताइन् । ‘म विदेश भएपनि आफू बसेकै ठाउँमा दैनिक अभ्यास गरिरहेकी छु ।’–उनले भनिन् ।

झरनाले विदेशिनु रहर नभई बाध्यता भएको बताईन् । म नेपालमै केहि गरौं भन्नेमा थिएँ,उनले भनिन्,‘तर खेल खेलेर बाँच्न सक्ने आधार नै भएन, त्यसैले बाध्य भएर विदेशिएँ ।’ बाह्रौं साग खेलेर फर्केपछि सहायक प्रशिक्षक बनेकी उनले त्यहाँपनि आफूलाई काम गर्ने मौका नदिदा निराश भएर विदेशिनु नै उपयुक्त भएको निश्कर्ष निकालेर बाहिरिएको बताइन् । म नियमित प्रशिक्षक बनेर खेलाडी उत्पादन गर्न चाहन्थेँ, उनले भनिन्,‘तर मलाई जगेडामा थन्काइयो, यसले गर्दा मलाई त्यत्तिकै बसेर जागिर खाइरहन मन लागेन र जागिर छाँडे ।’ उनले सिनियर र जुनियर भनेर प्रशिक्षणमा भेदभाव हुने गरेको भन्दै यसले नया प्रशिक्षकले आफ्नो कला देखाउने मौका नपाउने गरेको बताइन् । सँधै सिनियर भन्ने हो भने जुनियरले कहिले आफ्नो कला देखाउने ? उनले थपिन्,‘मलाई नै हेर्नुस् न मैले जानेका नया नया टेक्निकहरु सिकाउने अवसर नै पाईनँ ।’

केही गरि खेल्न नपाए आफू कुनै न कुनै माध्यमबाट खेल क्षेत्रमा फर्किने उनको प्रण छ । खेल्न पाईनँ भने म प्रशिक्षक वा एकेडेमी सञ्चालक भएरपनि फर्किन सक्छु,उनले भनिन्,‘त्यो विकल्पबारे पनि मैले सोंचिरहेको छु ।’ स्पेनमा बस्दा सानो बच्चादेखि युवा अवस्थासम्म खेलाडीले के कुरा गर्नुपर्छ भन्ने सिकेको र त्यो नेपालमा आएर प्रयोग गर्ने आफ्नो ईच्छा रहेको उनले बताइन् । ‘कुन उमेर समूहकाले के खाने ? कति खाने ? कति घण्टा सुत्ने ? कति समय अभ्यास गर्ने ? डाइट कति चाहिन्छ ? भन्ने बारेमा अध्ययन गरेको छु, यो कुरा म नेपालमा आएर प्रयोग गर्न चाहन्छु’–उनले भनिन् । उनले एकेडेमी बनाएर आफ्नै खर्चमा सो काम गर्ने ईच्छा रहेको र त्यसमा अन्य संघसंस्थासँगपनि सहकार्य गर्न सकिने उनको भनाई छ । उनले आफू विदेशमा भएपनि नेपालका अन्य भेट्रान खेलाडीसँग मिलेर खेलाडीहरुलाई खेल सामग्रीहरु सहयोग गरिरहेको र आगामी दिनमा फाउण्डेसन नै बनाएर सहयोग गर्ने ईच्छा रहेको बताइन् । उनले पदकधारी खेलाडीहरु मिलेर खेलाडीहरुमा मोटिभेसनल कार्यक्रम गर्ने मन रहेकोसमेत बताइन् ।

झरनाले खेलाडीलाई खेल खेलुञ्जेल राष्ट्रका गहना भनेपनि पछि बेवास्ता हुनेगरेको गुनासो गरिन् । ‘गहना जसरी काम सकिएपछि दराजमा थन्काइन्छ, त्यसरी नै खेलाडीलाईपनि खेल जीवनपछि वास्ता गरिदैन, यसले गर्दा खेल क्षेत्रमै टिकिरहन गाह्रो छ’–उनले भनिन् । उनले स्थायी सरकार आएपनि ४ वर्ष अघि जस्तो थियो अहिलेपनि खेल क्षेत्र र खेलाडीको जीवन सुधारिन नसकेको देख्दा आफू निराश बनेको बताइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।