नेकपा स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराईले तीन महिना भित्रमा संसद पुर्नस्थापना भइसक्ने दाबी गरेका छन् । नेकपा निकट सम्बद्ध जनवर्गिय संगठनहरुको जिल्ला स्तरीइ संयुक्त भेलालाई पोखरामा विहीबार सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा विघटन गरेको संसद तीन महिनामा पुर्नस्थापना भइसक्ने दाबी गरेका हुन् । ‘२०१७ सालमा विघटित संसद पुर्नस्थापन हुन ३० वर्ष लाग्यो, २०५९ सालमा विघटिन संसद ३ वर्षमा पुर्नस्थापना भयो, यस पटक ३ महिनामै संसद पुर्नस्थापना हुन्छ’–उनले भने ।
युवा नेता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रान्तिकारी र प्रतिगमनकारी भएको आरोप लगाए । ‘प्रधानमन्त्री ओलीले क्रान्तिमाथि कुठाराघात गरे, अग्रगमनमाथि, संघीय लोकतन्त्र माथि कुठाराघात गरे,‘त्यसैले उनी प्रतिक्रान्तिका नायक हुन्, प्रतिगमनकारी हुन्’–उनले भने । प्रधानमन्त्री ओलीलाई ट्रम्पसँग तुलना गर्दै उनले भने,‘ट्रम्पले पनि जनमत स्वीकारेका छैनन्, ओलीले यहाँ यहि गरिरहेका छन् ।’ ओलीले संसदलाई बहुलठ्ठीपूर्ण ढंगले फाँसीमा चढाएर हत्या गरेको भन्दै उनले भने,‘संसद भनेको जनताको आस्थाको केन्द्र हो । त्यहाँ जनताको जनप्रनिधिहरु हुन्छन् । त्यसमा अनुशासन भएको व्यवस्था भएको हुन्छ । आज त्यसलाई प्रधानमन्त्रीले फाँसी दिने, मृत्यूदण्ड दिने काम गरेका छन्, जबकी यस्तो गर्ने संवैधानिक अधिकार प्रधानमन्त्रीलाई छैन ।
नेता भट्टराईले अधिनायकवादी ओलीलाई नेपाली सेनालेपनि साथ नदिने बताए । ज्ञानेन्द्र शाहको पथमा हिंडेका ओलीलाई सेनालेपनि साथ दिदैन,‘उनले भने,‘ज्ञानेन्द्रको जत्तिको जग ओलीको छैन । ज्ञानेन्द्रलाई त साथ नदिएको सेनाले ओलीलाईपनि साथ दिदैन ।’ सेना लोकतान्त्रिकरण भइसकेको बताउँदै उनले भने,‘ सत्ता र शक्तिको पछि लाग्दैन सेना । सेनाले अब ज्ञानेन्द्रलाई जस्तै भन्नेछ ः प्रधानमन्त्री ज्यू हजुरलाई सिंहदरबारबाट बालकोट सिफ्ट गर्दैछौं ।’
नेता भट्टराईले ओलीलाई बेलैमा सच्चिएर घर फर्किन आग्रह गरे । तपाईंले गल्ती गर्नु भएको प्रधानमन्त्री ज्यू, उनले अगाडि थपे,‘अब ढिलो नगरी फर्किनुस्, अहिल्यै फर्किनु भयो भने समय छ, ३ वर्ष पछि फर्किनु भयो भने समय घर्किनेछ ।’ ओलीले पार्टीमा रहँदासम्म पार्टी नबुझेको आरोप लगाउँदै उनले भने,‘जतिवेला तपाईं पार्टीमा रहुञ्जेल पार्टीलाई बुझ्नु भएन, जतिबेला तपाईंले पार्टी बुझ्नुहुनेछ त्यतिबेला तपाईंसँग पार्टी हुने छैन ।’
नेता भट्टराईले सूर्य चिह्नमा कसैले आँखा लगाउँदैमा आफूहरु बाहेक अरुले नपाउने बताए । उनले भने,‘सूर्य चिह्न हिजोपनि हामीसँग थियो, आजपनि छ र भोलिपनि रहनेछ ।’ उनले चुच्चे नक्सा जारी गरेर वाहवाही कमाएको प्रधानमन्त्रीले त्यहि चुच्चे नक्सा छापिएको किताव वितरण गर्न नदिएर भारतप्रति खातिरदारी गरेको आरोप लगाए । उनले नेकपाका कार्यकर्तालाई ओलीको लोभमा नफस्न आग्रह गरे । कम्युनिष्ट पार्टीको बिचार र सिद्धान्त हुन्छ,उनले भने,‘कता भोज खान पाईन्छ, कता नियुक्ती पाईन्छ कता भैंसी किन्दा पाडो उपहार पाएजस्तो केन्द्रीय सदस्य पद पाईन्छ भनेर नदौडनुस् ।’
नेकपा स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश ईञ्चार्ज देवेन्द्र पौडेल (सुनिल)ले ओलीलाई ईटको जवाफ पत्थरले दिने चेतावनी दिदै उनले त्यसका लागि कार्यकर्तालाई तयार रहन निर्देशन दिए । उनले ओली जस्ता बाटो बिराउनेलाई रामराम भन्न सकिने तर काँध हाल्न नसकिने बताए । नेता पौडेलले प्रधानमन्त्री ओलीले काम गर्न नदिएपछि बाध्य भएर संसद विघटन गरेको भन्ने कुरा शतप्रतिशत झूठ भएको बताए । प्रधानमन्त्रीलाई कसले ? कहाँ रोक्यो ? उनले प्रश्न गर्दै अगाडि भने,‘सरकारले ल्याएको कुन विधेयक, कुन योजना कसले रोक्यो ? कसैलेपनि कहिल्यै रोकेको छैन, यो शतप्रतिशत झूठ हो ।’ बरु भ्रष्टाचारको कुरा आउँदापनि ओलीका कारण पार्टीका नेताहरु सबै जनताको आलोचना सहेर चुप बस्नुपरेको बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







