चालक अनुमतिपत्रका लागि अनलाइन फाराम भर्न समस्या


     रासस    
     पौष २४ गते २०७७ मा प्रकाशित




काठमाण्डौं । यातायात व्यवस्था कार्यालयमा नयाँ चालक अनुमतिपत्रका लागि अनलाइन फाराममा समस्या आउँदा सेवाग्राही हैरान भएका छन् ।

विभागले यातायात कार्यालयअनुसार निश्चित सङ्ख्यामा मात्रै सेवाग्राहीले भर्न पाउने व्यवस्था गर्दा समस्या आइरहेको छ । सर्भरमा पनि समस्या आइरहेको विभागले जनाएको छ ।

तोकिएको सङ्ख्या सकिएपछि सर्भरले काम नगर्ने र सेवाग्राहीले दुःख पाइरहेको गुनासो आएको विभागका निर्देशक रामचन्द्र पौडेलले बताए ।

उनका अनुसार अहिले सर्भर स्तरोन्नति गर्ने गरी छलफल भइरहेको छ । त्यस्तै, सङ्ख्या तोकिदिँदा सेवाग्राही फारम नै भर्न नपाएकाले त्यो हटाउने गरी छलफल भइरहेको उनले बताए । तत्काल इच्छुक सबै सेवाग्राहीको फारम सङ्कलन गर्ने र पालैसँग परीक्षाका लागि बोलाउने गरी छलफल भइरहेको छ । उनले बताए, “एक दुई दिनमा नै केही निर्णय गर्न सकिन्छ ।”

एकै पटक धेरै सेवाग्राहीले फारम भर्दा सर्भरमा समस्या आउँदा विभागको सेवा दुई दिनका लागि अवरुद्ध भएको थियो । बिहीबारबाट सुचारु गरिए पनि अहिले पनि सेवाग्राहीले सहज रुपमा फाराम भर्न नपाएको गुनासो छ । उनले भने, “१० महिना रोकिएको सेवा खुलाउन लाग्दा धेरै सेवाग्राही हुनु स्वभाविक हो, कसरी व्यवस्थापन गर्ने भनी छलफल भइरहेको छ ।”

आफूले पटक पटक प्रयास गर्दा पनि फाराम भर्न नसकेपछि धेरै सेवाग्राहीले विभाग र कार्यालयहरुमा गुनासो गरिरहेका छन् । देशभरका अधिकांश स्थानका सेवाग्राही फाराम भर्न नपाएको गुनासो रहेको उनले बताए ।

कोभिड–१९ सङ्क्रमणको जोखिलाई ध्यान दिएर विभागले कार्यालय वा विभागमा नगरेर अनलाइन भर्ने व्यवस्था गरेको हो । उनले भने, “सजिलोका लागि यो प्रणाली ल्याइएको हो ।”


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।