पोखरा उद्योग वाणिज्य संघको चुनावमा २३६५ मत खस्यो, मतगणना भोलि


     एभरेस्ट आवाज    
     पौष २५ गते २०७७ मा प्रकाशित




पोखरा उद्योग वाणिज्य संघको नया नेतृत्वका लागि शनिबार भएको मतदानमा ७५ प्रतिशत मत खसेको छ । संघको ३३ औं महाधिवेशनमार्फत नया नेतृत्वका लागि आज विहान १० बजेदेखि अपराह्न ५ बजेसम्म भएको मतदानमा ७४.९८ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका संयोजक तीर्थ श्रेष्ठका अनुसार कुल ३ हजार १ सय ५४ मत मध्ये शनिबार भएको मतदानमा २ हजार ३ सय ६५ मत खसेको छ । अपराह्न ५ बजेसम्म भनेपनि सो समयसम्म लाईनमा बसेकाहरुलाई साँझ ६ बजेसम्मै मतदान गर्न दिइएको निर्वाचन समितिका संयोजक तीर्थ श्रेष्ठले जानकारी दिए । आज सम्पन्न मतदानको मतगणना भोलि विहान ८ बजेदेखि हुने निर्वाचन समितिले जनाएको छ ।

मतदाता उद्योगी÷व्यवसायीहरुले दिनभर लाईनमा बसेर मतदान गरेका थिए । उनीहरुले विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोनाई भाईरस (कोभिड–१९) प्रति बेपर्वाहहुँदै मतदान गरेका हुन् । मतदाताहरुले मुखमा मास्क लगाएपनि भौतिक दुरी कायम नगरी बाक्लो भीडकाबीच लाईन बसेर मतदानमा सहभागि भए । कतिपयले मास्क नै नलगाई सहभागि भए भने मास्क लगाएकाहरुलेपनि नाकमुनी, चिउँडो मुनी मास्क पु¥याउँदै बसेका थिए ।

कोरोनाको जोखिमका बाबजुद भएको निर्वाचनमा उमेद्वारहरुले मतदान क्षेत्र वरपर मत माग्नका लागि आ–आफ्ना मान्छे खटाएका थिए । उनीहरुले मतदातालाई भौतिक दुरी कायम नगरी मत माग्नुका साथै उमेद्वारको ब्रोसर र पम्प्लेट, कार्डलगायत वितरण गरेका थिए ।

संघको नया नेतृत्वका लागि वर्तमान बरिष्ठ उपाध्यक्ष नारायण कोईराला र वर्तमान उद्योगतर्फकी उपाध्यक्ष विन्दु कोईराला सुवेदी प्यानलसहित चुनावी मैदानमा छन् । संघको उद्योग उपाध्यक्षमा कोईराला प्यानलबाट चिनुकमारी गुरुङ र स्वतन्त्र उमेद्वार गोकर्ण कार्की चुनावी मैदानमा छन् । वाणिज्य तर्फको उपाध्यक्षमा कोईराला प्यानलबाट वर्तमान महासचिव अर्जुन पोखरेल उमेदवार छन् सुवेदी प्यानलबाट वर्तमान कार्यकारिणी सदस्य सोवित पौडेल उमेदवार छन् ।

संघको महासचिवमा कोईराला प्यानलबाट वर्तमान कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे र सुवेदी प्यानलबाट धनीराम बराल उमेदवार बनेका छन् । उपमहासचिवमा कोईराला प्यानलबाट वर्तमान सदस्य केशवबहादुर खत्री र सुवेदी प्यानलले गृहलक्ष्मी ग्यास उद्योगका सञ्चालक धर्मराज बर्तौला, कोषाध्यक्षमा कोईराला प्यानलबाट वर्तमान सदस्य बलराम आचार्य तथा सुवेदी प्यानलबाट वर्तमान सदस्य तारानाथ ढुंगाना उमेदवार छन् ।

संघको सदस्यका लागि कोईराला प्यानलबाट कुमारी मुना बास्तोला, दीनेशचन्द्र बास्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी, सुदनबहादुर कोइराला रहेका छन् ।

सुवेदी प्यानलबाट सदस्यमा पवित्रा गुरुङ, विनोद केसी, रामप्रसाद गौतम, उत्तम सेवक कार्कीले उमेदवारी दिएका छन् । १० खुल्ला सदस्यमा ४ जनाको मात्रै उमेदवारी रहेको छ भने वस्तुगत र एशोसियट सदस्यतर्फ भने यो प्यानलबाट उमेदवारी घोषणा भएको छैन ।

संघको बरिष्ठ उपाध्यक्षमा वर्तमान वाणिज्यतर्फका उपाध्यक्ष पवन प्रजापति निर्विरोध निर्वाचित भइसकेका छन् । त्यस्तै, एशोसियट सदस्यमा कोइराला प्यानलबाट उमेदवार भएका हरिहर सापकोटा र हर्कबहादुर अधिकारी (मिराज) निर्विरोध चयन भइसकेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।