पोखरा । ‘आमा सेतुलीमाया शाक्य स्मृति वृत्ति तथा सम्मान २०८०’ बाट महिला अभियान्ता दुर्गादेवी सापकोटालाई सम्मान गरिएको छ । सिद्धि सेतुली प्रतिष्ठान, पोखराको आयोजनामा आइतबार भएको कार्यक्रममा उनलाई सो सम्मान अर्पण गरिएको हो ।
सापकोटालाई नगद १ लाख रुपैयाँसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । एकल महिलाको “रातो टिका रातो पहिरन” अभियानमा उल्लेखनीय र उदाहरणीय कार्य गरेको भन्दै प्रतिष्ठानले उनलाई सम्मान गरेको हो । कार्यक्रममा प्रमुख अतिथि प्रतिष्ठानका ज्येष्ठ सदस्य बिलबहादुर गुरुङले सम्मानित व्यक्तिले नेपाली समाजमा एकल महिलाको मनोबल उच्च राख्न योगदान दिएको बताए । समाज परिवर्तनमा सम्मानित सापकोटाको खेलेको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले समाज र राष्ट्रका निम्ति सम्मानित सापकोटाको योगदान अतुलनीय रहेको बताए । प्रतिष्ठानबाट गरिएको सम्मान समावेशी ढंगबाट भएको भन्दै नारी शक्ति सम्मानित भएकोमा गर्विलो महसुस गरेको उनले बताए । प्रतिष्ठान समयको पालना गर्ने विषयमा पनि अब्बल रहेको उनको भनाइ थियो ।
सम्मानित व्यक्ति सापकोटाले प्रतिष्ठानबाट गरिएको सम्मानले आफूलाई काम गर्नका लागि अझ ऊर्जा मिलेको बताइन् । यसले गर्दा जुनसुकै क्षेत्रमा रहेर पनि एकल महिलाको जन्मसिद्ध अधिकार प्राप्तिका लागि लडिरहरने बताइन् । ‘एकल महिलाको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ त्यो मैले भोगिसकेको छु,’ उनले भनिन्, ‘मैले पनि १६ वर्ष कोरा जीवन बिताएर २०५९ सालदेखि क्रान्तिमा लागेको हुँ । यो सम्मानले अझ यसमा लाग्ने प्रेरणा मिलेको छ ।’
कार्यक्रममा प्रतिष्ठानका प्रतिभा छनोट समितिका संयोजक दीपेन्द्र श्रेष्ठले सम्मानित व्यक्तिका बारेमा परिचय दिदै आज एकल महिलाकालागि सहज बन्दै गएको रातो टिका रातो पहिरन २०५९ सालको बिजया दशमीका दिन दुर्गाले गरेको बिद्रोह र अदम्य साहस कै प्रतिफल भएको बताए । उनले दुर्गालाई समाज सुधारक र जागरण अभियन्ताको रुपमा चिनाए प्रतिष्ठानका संरक्षक तथा संस्थापक अध्यक्ष विश्वरत्न शाक्यले संस्थाका बारेमा जानकारी गराउदै प्रतिष्ठान बिशुद्द कल्याणकारी संस्था भएको बताए ।
लायन्स अभियन्ता तथा समाजसेवी सोनाम साङ्पो, पूर्व अध्यक्ष भुपनिधि पन्त, सचिब इन्द्रकमल मान्धरलगायतले प्रतिष्ठानले समाज रुपान्तरण भूमिका खेलेका व्याक्तिहरुलाई सम्मान गरेर उनीहरुमा काम गर्ने हौसला प्रदान गरेको बताए ।
सोही कार्यक्रममा गत पुस १ गते प्रतिष्ठानको नवौं अधिवेशनबाट निर्वाचित भएका कार्य समितिको पदस्थापना पनि गरिएको थियो । अधिवेशनबाट अध्यक्षमा दीपेन्द्र श्रेष्ठ, उपाध्यक्ष प्रमिला तझ्या, सचिवमा इन्द्रकमल मानन्धर र कोषाध्यक्षमा गोविन्द ताम्राकार सर्वसम्मत चयन भएका थिए । यस्तै सदस्यहरुमा लोकदर्शन कोइराला, सतकुमारी शेरचन, विनोदरत्न शाक्य, सुरेशकुमार मानन्धर र श्रुति मुल्मी चयन भएकी थिइन् । अध्यक्ष कृष्णप्रसाद बास्तोलाले स्वागत र नव पदास्थापित अध्यक्ष दीपेन्द्र श्रेष्ठले धन्यबाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन सचिव इन्द्रकमल मानन्धरले गरेकी थिइन् ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







