भ्रष्टाचारविरुद्ध निर्मम बन्न अख्तियारलाई गण्डकी प्रदेश प्रमुख शेरचनको आग्रह


     एभरेस्ट आवाज    
     पौष २७ गते २०७७ मा प्रकाशित




अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तीसौं वार्षिक प्रतिवेदन (आ.ब. २०७६/७७) नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पेश गरेको छ।

उक्त प्रतिवेदन पेश गर्दै आयोगको कार्यालय पोखराका कार्यालय प्रमुख विपिन आचार्यले प्रतिवेदनका मुख्य विषयहरूको संक्षिप्त प्रस्तुतिकरण गरे।

कार्यालय प्रमुख आचार्यले प्रस्तुतिकरणमा प्रतिवेदनमा रहेका मुख्य विषयहरू, उजुरीको प्रवृत्ति, प्रदेशस्तरमा उजुरीहरूको प्रवृत्तिसँगसँगै भ्रष्टाचार न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय निकायहरूका लागि आयोगले पेश गरेका सुझावहरूको बारेमा प्रकाश पारे।

वार्षिक प्रतिवेदन ग्रहण गर्दै गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले संविधान र कानूनी रूपमा आयोग अधिकार सम्पन्न रहेको बताए। आयोगले प्रमाणमा आधारित सुक्ष्म अनुसन्धान गरी सोका आधारमा जुनसुकै पदका दोषी उपर अभियोजन गर्नुपर्नेमा जोड दिए।

त्यसैगरी, आयोगको पाँच वर्षे संस्थागत रणनीतिक योजनाको सोंच ‘भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माण’ पूरा गर्न अधिकार सम्पन्न निकायबाट हुने कार्यहरू आयोगको क्षेत्राधिकार बाहिर राखिन नहुने धारणा व्यक्त गर्दै प्रदेश प्रमुख शेरचनले गण्डकी प्रदेशमा निर्ममतापूर्वक भ्रष्टाचारविरुद्ध आयोग र आयोगको कार्यालय पोखराले भूमिका खेल्नुपर्ने औंल्याए।

साथै, प्रदेश प्रमुख शेरचनले भ्रष्टाचार नियन्त्रण होइन समाप्त पार्ने सन्दर्भमा आफूले सबै किसिमको सहयोग गर्ने प्रतिबद्धतासहित प्रतिवेदन पेश गरेकोमा आयोगप्रति धन्यवाद व्यक्त गरे।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।