आज २९९ औँ राष्ट्रिय एकता दिवस, राष्ट्रिय र नागरिकस्तरमा दिवस मनाइँदै, गोरखाबाट हिँडेको शान्ति पदयात्रा काठमाण्डौं पुग्यो


     एभरेस्ट आवाज    
     पौष २७ गते २०७७ मा प्रकाशित




आज पुसको २७ गते अर्थात २९९ औँ राष्ट्रिय एकता दिवस। विभिन्न कार्यक्रम गरी आज देशभरी राष्ट्रिय एकता दिवस मनाइदैछ।

विगतमा यसलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रुपमा मनाइने गरिन्थ्यो। राष्ट्रिय एकता दिवसको अवसरमा आज शान्तिपूर्ण प्रदर्शन गर्ने कार्यक्रम छ।

विसं १७७९ पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेको सन्दर्भमा केही वर्षदेखि यता पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइँदै आएको छ।

तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट व्यक्त भएको

‘मेरा साना दुखले आज्र्याको मुलुक होइन। चार जात ३६ वर्ण सबै जातको फुलबारी हो। सबैलाई चेतना भया।’

‘खानी भएको ठाउँमा गाउँ भएपनि गाउँ अरू जग्गामा सारिकन खानी चलाउनू। गाह्रो बनेको जग्गामा घर भएपनि घर अरू जग्गामा सारी कुलो काटेर खेत बनाई आवाद गर्नू…।’

‘प्रजा मोटा भए, दरबार बलियो रहन्छ।’

‘अन्याय मुलुकमा हुन नदिनू । घुस दिने र घुस खाने राज्यका महाशत्रु हुन्।’

लगायतका दिव्योपदेशहरु अहिलेपनि उत्तिकै सान्दर्भिक रहेका छन्।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर नेपाली सेनाले गोरखादेखि काठमाडौँसम्म पदयात्रा सुरू गरेको छ । पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानलाई उच्च सम्मान गर्दै पृथ्वी जयन्ती हर्षोल्लासका साथ मनाउन पृथ्वीनारायण शाह हिँडेको बाटो भएर सेनाले गत वर्षदेखि गोरखाबाट काठमाडौँसम्मको पदयात्रा गर्न थालेको हो।

गोरखा सदरमुकामस्थित नेपाली सेनाको रणसिंहदल गणका सहसेनानी दलबहादुर थापाको नेतृत्वमा ४० जनाको टोलीले मंगलबार बिहान गोरखा दरबारको हनुमान भञ्ज्याङबाट पदयात्रा सुरू गरेको हो।

यात्रामा पृथ्वीनारायण शाहको पालामा स्थापना भएका सेनाका प्रथम पाँच कम्पनीका झन्डा पनि समावेश गरिएको छ। पृथ्वीनारायण शाहको पालामा श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज नाममा ५ कम्पनी स्थापना भएका थिए। तत्कालीन कम्पनीहरु अहिले सेनाको गणका रुपमा रहेका छन्।

गोरखा दरबारबाट शुरु भएको गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्रामा रहेको नेपाली सेनाको टोली काठमाडौंको हनुमानढोका पुगेको छ ।

पुस २१ गते मंगलबार बिहानदेखि गोरखा दरबारबाट शुरु भएको ‘गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्रा’ पुस २६ गते साँझ काठमाडौंको हनुमानढोकामा रहेको शार्दुलजंग गुल्ममा आइपुगेको हो।

गोरखाबाट हिँडेको टोली गोरखा दरबार, जोर चौतारी, ताप्ले, अश्राङ, बोर्लाङ, बोर्लाङघाट (घाटबेसी) हुँदै धादिङ प्रवेश गरेको थियो। राष्ट्रिय झन्डा, टर्च लाइट, ब्यान्डबाजासहित टोली यात्रामा निस्केको हो।

धादिङ र गोरखाको सीमानामा रहेको बोर्लाङघाट पुगेपछि गोरखाबाट आएको टोलीले धादिङको देवीदत्त गणलाई झन्डा, टर्च हस्तान्तरण गरेको थियो। गोरखाबाट आएको टोली कछारगाउँ, सल्यानटारको कोशढुङ्गा, रानिपौवा, कालोढुङ्गा, खहरे, चरङ्गेपौवा, चरङ्गे, कटुन्जे, पन्ध्रकोशे, थर्पु हुँदै भ¥याङभुरूङसम्मको करिब ३५ किलोमिटर दूरी पार गरी नुवाकोट प्रवेश ग¥यो। गोरखाबाट यात्रा सुरू भएको तेस्रो दिन नुवाकोट र धादिङको सिमानामा रहेको भ¥याङभुरूङ पुगेको थियो। नुवाकोटको जबरजंग गणको टोलीलाई पदयात्राको टर्च र झन्डा हस्तान्तरण गरेपछि उक्त टोली नुवाकोट हुँदै काठमाडौँ पुगेकोे थियो।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा गोरखादेखि काठमाडौँसम्म हिँडेको बाटो भएर यात्रा गर्दै यात्रामा सहभागीहरु काठमाण्डौ पुगेका हुन्। टोली आज (पुसको २७ गते) हनुमानढोकामा आयोजित राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको कार्यक्रममा सहभागी हुनेछ।

गोरखाबाट धादिङ–नुवाकोट हुँदै काठमाडौँसम्मको पदमार्ग २६ कोष रहेको छ । विक्रम संवत् २०३१ मा पृथ्वी राजमार्ग संचालनमा आउनुअघि पश्चिम नेपालबाट काठमाडौँ आवत–जावत गर्न यही पदमार्ग प्रयोग हुने गरेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।