ऊर्जामन्त्रीद्वारा तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण


     एभरेस्ट आवाज    
     पौष २७ गते २०७७ मा प्रकाशित




ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी सोमबार तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना निरीक्षण गर्दै ।तस्बिर ः कृष्ण न्यौपाने

दमौली। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको आज स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ । सो अवसरमा तनहुँ हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक प्रदीप थिके र आयोजना प्रमुख अच्युत घिमिरेले आयोजनाको हालसम्मको प्रगति र गतिविधिबारे मन्त्री रायमाझीलाई जानकारी गराउनुभयो ।

आयोजनाको प्याकेज–२ अन्तर्गत सिनो हाइड्रो कम्पनीले निर्माण गरिरहेको विद्युत्गृह, मुख्य प्रवेश सुरुङ, सर्ज ट्याक जाने सुरुङ, बाँधस्थल जाने सुरुङ खन्ने कार्य जारीे छ । आयोजना प्रमुख घिमिरेका अनुसार प्याकेज–२अन्तर्गत सिनोले क्याम्प, ब्याचिङ तथा क्रसिङ प्लाण्ट, ल्याब, क्लिनिक, स्टोर, उपकरणकक्ष आदि पूर्वाधारको स्थापना, केबल सुरुङ, विद्युत्गृहको पाइलट सुरुङ, पहुँच सडक खन्ने कार्य सम्पन्न गरेको छ ।

प्याकेज–३ अन्तर्गत प्रशारण लाइन निर्माणका काम बारेमासमेत मन्त्री रायमाझीलाई जानकारी गराइएको छ । केइसी इन्टरनेशनले प्रशारण लाइन निर्माणका लागि काम गरिरहेको छ । त्यस्तै प्याकेज एक निर्माणका लागि नियुक्त ठेकेदारसँगको ठेक्का रद्द गरी पुनः दुई पटक बोलपत्र आह्वान गर्नुपरेकाले निर्माणमा ढिलाइ भएको बताइएको छ ।

निरीक्षणका क्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, राष्ट्रियसभा सदस्य भगवती न्यौपाने र विघटित प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठलगायतको सहभागिता थियो । आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ तथा ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगत विद्यृतगृह निर्माण गरिनेछ ।

खुद उचाई १२१ मिटर रहने आयोजनाबाट सुख्खायाममा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट ऊर्जा उत्पादन हुनेछ । आयोजनाको कूल लागत ५०५ मिलियन अमेरिकी डलर (प्रशारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) रहेको छ । जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि रु १८४ मिलियन डलर बेहोर्ने छ । – (रासस)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।