म्याग्दे गाउँपालिकामा समुदायमै पुगेर मिर्गौला परीक्षण शिविर


     एभरेस्ट आवाज    
     माघ १९ गते २०८० मा प्रकाशित




सांकेतिक तस्विर

दमौली । नेपालमा मिर्गौलापीडितको सङ्ख्या बढ्दो छ । एक्कासि मिर्गौलाले काम गर्न छोडेपछि मात्रै थाहा पाउने व्यक्ति धेरै छन् । तनहुँको म्याग्दे गाउँपालिकाले मिर्गौलाको परीक्षणका लागि भने समुदायस्तरमै पुगेर शिविर सञ्चालन गरेको छ ।

सर्वसाधारणलाई मिर्गौला सम्बन्धि सचेत गराउन समुदायस्तरमै पुगेर परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ । निःशुल्क शिविरमा तीन सय ५५ जनाको मिर्गौला परीक्षण गरिएको छ ।

म्याग्दे–७ स्वामिधारमा आयोजित उक्त शिविरमा दुई सय २७ महिला र एक सय २८ पुरुषको मिर्गौला परीक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकराज घिमिरेले जानकारी दिए । ‘स्वास्थ्य मिगौला, समृद्ध म्याग्दे गाँउपालिका’ नाराका साथ सुरु गरिएको उक्त शिविर यही माघ २३ गतेसम्म चल्नेछ । गाउँपालिकाका सबै वडामा शिविर सञ्चालन गरिने उनले बताए ।

मिर्गौला बचाउ अभियान राष्ट्रिय कार्यक्रम नेपाल र राष्ट्रिय मिर्गाैला केन्द्र काठमाडौँको प्राविधिक सहयोग तथा सूर्य नेपाल प्रालिको आर्थिक सहयोगमा शिविर आयोजना गरिएको छ । म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गाउँपालिकाका नागरिकलाई स्वस्थ बनाउनका लागि निःशुल्करुपमा मिर्गौला परीक्षण गरिएको बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।