पोखरा । पोखराको मदरल्याण्डमा बुधबार सुरु भएको त्रिदिवसीय बृहत् सांस्कृतिक , कला प्रदर्शनी तथा सम्मान कार्यक्रम आज सम्पन्न भएको छ ।
कक्षा नर्सरीदेखि बाह्रसम्मका करिब एक सय चालिस प्रस्तुतिहरू राख्दै सम्पन्न भएको उक्त कार्यक्रममा २ हजारभन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष सहभागिता जनाएको विद्यालय स्रोतले जनाएको छ।
तीन दिनसम्म नै सङ्गीतमय बनेको कार्यक्रममा विविधतामयी नेपाली संस्कृतिलाई पूर्ण रूपमा समेट्ने विषयवस्तुका साथै पृथ्वी तथा प्रकृति जोगाउनुपर्छ, परोपकार गर्नुपर्छ, अरूमाथि दया देखाउनुपर्छ, संस्कृतिको संरक्षण गर्नुपर्छ आदिजस्ता सन्देशमूलक विभिन्न गीत तथा नृत्य, गायन, नाटकरप्रहसन, भजन, गाईजात्रा आदि प्रस्तुत गरिएका थिए । सम्पूर्ण प्रस्तुतिहरू विद्यार्थीहरूले तयार गरेका हुन् ।
औपचारिक रुपमा आज समापन गरिएको कार्यक्रमका प्रमुख अतिथी तथा शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले बालबालिकाको पहिलो पाठशाला घर र पहिलो शिक्षक अभिभावक भएकोले विद्यालयले संस्कारयुक्त जीवन उपयोगी सिप प्रदान गर्नुपर्नेमा जोड दिए। उनले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरी आफ्नो पहिचान स्थापित गर्न सफल भएकोले अब कमजोर सामुदायिक विद्यालयलाई सघाउँदै अगाडि बढ्न सुझाव दिए।
कार्यक्रममा विद्यालय निर्देशक त्रिभुवन शर्मा, प्राचार्य नारायण बराल, पोखरा महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष राममोहन आचार्य लगायतले संस्कार र संस्कृतिको प्रवर्द्धन, विकास र संरक्षणमा विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकले विशेष भूमिका खेल्न सक्ने बताए ।
त्यसै गरी कार्यक्रममा मानव जीवनसँग सम्बन्धित समसामयिक विषयवस्तु समेटिएका मुहारचित्र, दृश्यचित्रहरू, स्केच तथा विभिन्न रङको संयोजनका साथ विद्यार्थीद्वारा तयार पारिएका कला तथा चित्रहरू पनि प्रदर्शन तथा बिक्री गरिएको विद्यालयका कला शिक्षक डिबी गुरुङले बताए।
विद्यालयका सहकार्यकलाप प्रमुख सुनिल सुवालको संयोजकत्व तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमनारायण पोख्रेलको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको सञ्चालन प्रा. वि.इन्चार्ज केशु शर्मा, शिक्षकद्वय बामनकुमार घिमिरे र विनीत छन्त्यालका साथमा कक्षा नर्सरीदेखि १२ सम्मका विद्यार्थीहरूले संयुक्त रूपमा गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली कांग्रेस रूपा गाउँपालिका वडा नं. ३ र ४ को…







