पौडीकी गौरीका सिंहले वर्षको उत्कृष्ट महिला र करातेका मण्डेकाजी श्रेष्ठले वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्र्ड जितेका छन्।
नेपाल खेलकूद पत्रकार मञ्चले आयोजनाको गरेको ‘एनएसजेफ पल्सर स्पोर्टस् अवार्ड’मा उनीहरुले अवार्ड जितेका हुन्।
वि.सं. २०७६ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा दुवै जना उत्कृष्ट खेलाडीका रूपमा घोषित भएका हुन्।
गौरीकाले करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ तथा ट्रायथलनकी सोनी गुरुङलाई पछि पार्दै उत्कृष्ट खेलाडीको अवार्ड जितेकी हुन्।
गौरीकाले १३ औँ दक्षिण एशियाली खेलकूद (साग) मा ४ स्वर्ण, २ रजत र ३ कास्य पदक गरी ९ पदक जितेकी थिइन्। गौरिकाले सागमा सर्वाधिक स्वर्ण जित्ने तेक्वान्दोका दीपक विष्टको कीर्तिमानसँग बराबरी गरेकी थिइन्।
गौरीकाले आठौँ राष्ट्रिय खेलकूदमा १२ स्वर्ण पदक जितेकी थिइन्। गौरीकाले कम उमेरमा ओलम्पिक खेल्ने कीर्तिमानसमेत बनाएकी थिइन्। उनले जापानको टोकियो ओलम्पिक खेल्ने पक्का भइसकेको छ।
मण्डेकाजीले गल्फका सुवास तामाङ, तेक्वान्दोका कमल श्रेष्ठ, एथ्लेटिक्सका गोपीचन्द्र पार्की तथा फुटबलका विकेश कुथुलाई उछिन्दै उक्त अवार्ड जितेका हुन्। यी सबै खेलाडीले गत वर्ष नेपालमा सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकूद (साग) मा स्वर्ण पदक जितेका थिए।
उक्त प्रतियोगितामा मण्डेकाजीले करातेतर्फ टिम काता र एकल गरी २ स्वर्ण पदक जितेका थिए। उनले आठौँ राष्ट्रिय खेलकूदमा एकल कातामा स्वर्ण तथा टिम कातामा रजत जितेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







