ओलीले भारतसामु आत्म समर्पण गरिसके : बाबुराम


     एभरेस्ट आवाज    
     पौष २९ गते २०७७ मा प्रकाशित




जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले भारतसामु आम्तसमर्पण गरिसकेको बताएका छन् । जनता समाजवादी पार्टीको संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको बिरुद्ध पोखरामा बुधबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै डा.भट्टराईले ओलीले आफ्नो शासन सत्ता लम्ब्याउन भारतसामु आत्मसमर्पण गरिसकेको आरोप लगाएका हुन् । ा हिजो जोसँग लड्यो त्यहिसँग केपी ओलीले घुँडा टेकिसक्यो,भारतको नाम नलिईकन उनले भने,‘ओलीले आत्म समर्पण गरेर शासन सत्ता लम्ब्याउँदैछ, त्यसका लागि नै प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रघाती कदम चालेको हो । यसको भरपर्दो आधार र प्रमाण हामीसँग छन् ।’ उनले भ्रष्टाचारी ओलीले ठूलो राष्ट्रघात गर्न लागेकोसमेत दाबी गरे । ओली नक्कली राष्ट्रवादको खोल ओढेर आएका हुन्,उनले भने,‘पकेटमार आफैले अरुलाई पकेटमार भन्छ र आफू पकेट मारेर भाग्छ । केपी ओलीमा यहि प्रवृत्ति छ । यसैको आडमा उसले ठूलो राष्ट्रघात गर्दैछ ।’

अध्यक्ष डा.भट्टराईले डोनाल्ड ट्रम्पलाई जस्तै केपी ओलीलाई पनि महाअभियोग लगाउनुपर्ने बताए । जसरी अमेरिकामा डोनाल्ड ट्रम्पलाई त्यहाँको संसदले महाअभियोग लगाउँदैछ, त्यसरी नै केपी ओलीलाई पनि हामीले कार्वाही गरेर महाअभियोग लगाउने दिशातिरपनि जान सक्छौं, त्योबाटो हामीसँग छ । तर त्यसका लागि नेपाली कांग्रेसले खुट्टा कमाउनु भएन । ¥याल काढ्नु भएन ।‘

डा.भट्टराईले केपी ओलीले चुनाव नगराउने ठोकुवा गरे । हुँदाखाँदाको दुई तिहाईको सरकार ढालेर ओलीले चुनाव गर्छन् भनेर पत्याउनु वेवकुफी हुने उनको भनाई छ । ओलीलाई हिटलरसँग तुलना गदै उनले भने, ‘हिटलरपनि उखान तुक्का भन्थे, मीठा भाषण गर्थे, तर सत्तामा पुगेपछि संवैधानिक अंग सबै भत्काए र नक्कली न्यायालय, संसद बनाएर तानाशाही शासन लागु गरे । त्यसरी नै केपी ओली अगाडि बढेका छन् ।’ उनले ओलीले संकटकाल लगाउनसक्नेसमेत बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।