युरोपेली यूनियनका राजदुत नोना डेप्रे पत्रकार महासंघ कास्कीमा,फ्रि मिडिया नेटवर्कबारे छलफल


     एभरेस्ट आवाज    
     पौष २९ गते २०७७ मा प्रकाशित




युरोपेली यूनियनका नेपालस्थित राजदुत नोना डेप्रेले पत्रकारले खोज,अनुसन्धानमुलक र सन्तुलित माचारलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

फ्रि मिडिया नेटवर्क कास्कीको पत्रकार महासंघमा आज भएको बैठक तथा अन्तरक्रिया कार्यक्रममा उहाँले कुनै पनि घटनाको गहिरो विश्लेषण गर्नुपर्नेमा जोड दिँदै गलत सूचना प्रवाहबाट जोगिन आग्रह गर्नुभयो । राजदुत डेप्रेले लोकतन्त्रमा अभिब्यक्ति स्वतन्त्रता , कानूनी शासन महत्वपूर्ण रहेको भनाई राख्नुभयो ।

मिडिया नेटवर्कका संयोजक एवं पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले कास्कीको पत्रकारिताका अवस्था, कोभिडले मिडिया , सञ्चारकर्मीमा पारेको प्रभाव र पत्रकारिताको चुनौति बारेमा राजदुतलाई जानकारी गराउनुभएको थियो ।

अध्यक्ष श्रेष्ठले सञ्चार क्षेत्रका सरोकारवालाहरु, राज्यपक्ष, नागरिक समाज ,मानब अधिकारकर्मि र पत्रकारहरुकाबीचमा नियमित संवादबाट पत्रकार सुरक्षा विरुद्धका घटना न्यूनीकरण , समस्याको पहिचान र सहजिकरण अनि पत्रकारका क्षमता अभिबृद्दिका उद्धेश्य सहित नेपाल पत्रकार महासंघको पहलमा जिल्लामा ‘फ्रि मिडिया नेटवर्क’ गठन गरिएको बताउनुभयो ।

पत्रकार महासंघ केन्द्रका कार्यक्रम प्रबन्धक संघर्ष पन्तले गण्डकी प्रदेशका ११ जिल्ला मध्ये कास्कीमा मिडिया नेटवर्क गठन गरिएको जानकारी दिँदै कोरोनापछि सञ्चार क्षेत्रमा विज्ञापन बजारको कमी, मिडिया हाउसको जनशक्ति न्यून हुनु, छापा माध्यम बढी प्रभावित भएको र अनलाइन मिडिया बढेको उल्लेख गर्नुभयो ।उहांका अनुसार ७ वटै प्रदेशमा गरि ११ वटा जिल्लामा नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्षको संयोजकत्वमा फ्रि मिडिया नेटवर्क गठन गरिएको छ । कोरोना कहरकै बिच भर्चुयल माध्यमबाटै भए पनि मिडिया नेटवर्क गठन गर्ने कास्की पहिलो जिल्ला हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।