आज माघे सक्रन्ती अर्थात माघ महिनाको प्रथम दिन।
यस पर्वलाई मिठो खाने अनि सबैको भलो चिताउने पर्वका रुपमा पनि लिइन्छ।
माघ महिना, मध्य हिँउदको एउटा महत्वपूर्ण महिना भएकाले पनि आजका दिन सूर्य धनु राशीवाट मकर राशीमा प्रवेश गरेको दिन। त्यसैले आजको दिनलाई माघे सक्रान्ती, तिलुवा सक्रान्ती या मकर सक्रान्ती या माघीका रुपमा आआफ्नै विशेषता र सास्कृतीक महत्व र परम्पराका रुपमा मनाइने गरिन्छ।

सनातन संस्कारमा तिलको विशेष महत्व छ। चाहे होमजप गर्नलाई चरुको रुपमा होस् या पूजा तथा दान गर्दा होस् या कुनै पितृकर्म अनि शुभकार्य, तिललाई अपरिहार्य बस्तुको रुपमा उपयोग गरिनछ । आजको दिन, तिलको लड्डुका लागि पनि प्रसिद्ध छ। तिललाई भुटेर अनि सख्खरमा मुछेर बनाइएका लड्ड्हरु आजको विशेष परिकार हो। त्यसैकारणले पनि माघे सक्रान्तीलाई तिलुवा सक्रान्ती पनि भन्ने गरिन्छ।
अर्कोतर्फ नर्थ पोल र साउथ पोल अर्थात उत्तरी र दक्षिणी ध्रुववारे हामीले भुगोलमा पढ्ने गरेका छाँै। सूर्य र पृथ्वीको दिशालाई पनि लगभग यस्तै ध्रुवको अवस्थितीका आधारमा गणना र मापन गरिन्छ। आजवाट सूर्यको दिशा उत्तरायणतर्फ लाग्दैछ।
उत्तर उन्मुख यो सूर्यको दिशा अझ न्यानो असर गर्ने र आजवाट हिँउद घट्दै जाने र बसन्तका साथै गृष्म बढ्दै जाने मान्यता छ। यसकारण पनि आजको दिनलाई उत्तरायण पनि भनिन्छ। आजवाट उत्तरायण आरम्भ भएको मानिन्छ।
आजको दिन अनि घ्यू, चाकु, तिलको लड्डु, भुजा अर्थात मुरैको लड्डु अनि च्यूराको लड्डु तयार पारेर र तरुल, सक्खरखण्ड र पिँडालु उसिनेर र खिचडी पकाएर खाने चलन छ।
माघे सक्रान्तिलाई जाडो यामको न्यानो चाड पनि मान्ने गरिन्छ। तिल र चाकु मिसाएको परिकार, तरुल आदी खानाले जाडोमा शरीरलाई न्यानो मिल्ने गर्दछ।
आजको दिन विभिन्न घाटहरु, नदिहरु अनि पवित्रस्थलमा स्नान गर्ने तिर्थालुहरुको भिड रहन्छ। नवलपरासीको देवघाट, सुनसरीको चतरा, कालीगन्डकी किनार, पर्वतको सेतीवेनी, काठमाडौ शंखमुलको वाग्मती किनार र पोखराको रामघाट र तुलसीघाटस्थित सेती नदि लगायतका ठाँउहरुमा स्नान गर्ने श्रद्धालुहरुको घुँईचो नै लाग्दछ। पोखराको ढुङ्गेसाँघुमा त परम्परादेखि नै माघसक्रान्तिको मेला नै लाग्दछ।
मधेशमा भने मैथिल र थारुसमुदायहरुले सदभावका साथ आज यो चाड मनाउने गर्दछन्। थारु समुदायमा आजको दिन येले दुङ्गका रुपमा लगभग नयाँ वर्षका रुपमा मनाईन्छ। थारु समुदायमा पौष महिनाको अन्तिम दिन जिता मरना भन्दै सुँगुर काट्ने चलन पनि रहेको छ, यसरी काटिएको सुँगुरको मासु सामुदायिक रुपमा धमार गीत गाँउदै रमाईलो गर्दे भोज खाने अनि जाग्राम बस्ने चलन छ, अनन्ती नामक चामलको जाँड पश्चिमी थारु समुदायमा वहुत चर्चित छ । यसैगरि छोरीचेलीहरु माईत आउने र फर्कदाखेरि निसराउ अर्थात उपहारहरु दिएर पठाउने चलन छ ।

आजकै दिन किरात वशंले काठमाडौ उपत्यकामा आक्रमण गरि विजय हासिल गरेको र सोही विजय उत्सवलाई संवतका रुपमा किरात संवत शुरु भएको मानिन्छ।
नेवार समुदायमा ‘घ्यूचाकु सँल्हु’ नामले माघे सक्रान्ति मनाइन्छ। उनीहरुले चाकुमा तिल मिसाएर लड्डु बनाएर खाने तथा दान दिने गर्दछन्। आज काठमाडौ उपत्यका नजिकैको पनौतिमा एतिहासिक मकर मेला लाग्दछ। लिच्छवी राजा मानदेवका पालादेखि यो मेला शुरु भएको मानिन्छ।
माघे संक्रान्ति पर्व नेपालका मगर जातिको पनि प्रमुख चाड हो। माघे सक्रान्तिलाई मगरहरुको राष्ट्रिय पर्वका रुपमा मान्यता दिइएको छ। मगर समुदायमा आज तारो हान्ने खेल अत्याधिक प्रचलनमा छ। यस पर्वमा मगरहरुले धुमधामका साथ चेलीबेटी र पितृहरुको तीन दिनसम्म पूजा गर्दछन्।
वन तरुल बिना मगरहरुको संक्रान्ति अधुरो हुने भएकाले उनीहरु सक्रान्ति अघि नै जंगलबाट वन तरुल खनेर ल्याउने र संक्रान्तिको अघिल्लो रात वन तरुल पकाउँछन्। घरका पुरुषहरुले धनुषकाँडले तारो हान्दै पर्वमा रौनकता थप्छन्। तारोको निसाना लगाउने व्यक्तिलाई सम्मानका साथ तितेपाती लगाएर काँधमा बोकेर गाउँ घुमाइन्छ र खानाका परिकारहरु दिइन्छ।
आज तोल ल्होसार पनि
३ वटा ल्होसारहरु मध्य यो प्राचिनतम ल्होसार पनि हो। तोल ल्होसार नै अन्य ल्होसारहरुको उद्गम मानिन्छ र तोल ल्होसारको आफ्नै दर्शन र महत्व भएको पाइन्छ। तोलको अर्थ हो समय या समयको चक्र र चलायमानता ।
त्यसकारण यस ल्होसारलाई समयचक्र संवत्सर पनि भनिन्छ । नेपालका हिमाली जिल्लाहरु हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङ र तिब्बत तथा भुटानका मानिसहरुले पौष शुक्ल प्रतिपदाको दिनमा धुमधामका साथ मनाउने गर्दछन। विशेषगरी, सोनाम ल्होसार जसरी नै मनाइने यो पर्वको दिन मात्र फरक हुने गर्दछ।
यो पर्व घर आगन लिपपोत गरी चोखो पारिन्छ र आँफु पनि नुहाएर पुजा गरिन्छ । अनि लामा पुरोहित वाट वा घरको मुलीबाट पुजापाठ गराइ गहुँको पिठो आकाशतर्फ उडाएर देवताको विजय र भुत प्रेतको हार होस भनि कामना गरिन्छ । अनि मान्यजनबाट आर्शिवाद लिँदै बाबरी रोटी, फुरौला, कन्दमुल आदि खाने पनि गरिन्छ ।
लोसार दुईवटा शब्द ‘लो’ ‘सार’ मिलेर बनेको छ जस्को अर्थ भोट, भुटानी, शेर्पाली, डोल्पाली, इत्यादि भाषा अनुरुप ‘लो’ को अर्थ बर्ष र ‘सार’को अर्थ नयाँ भन्ने बुझिन्छ । खासगरी यो पर्व नयाँ बर्षको स्वागतका लागि मनाउने गरिन्छ । ल्होसारलाइ लोसार, ल्होछार पनि भन्ने गरेको पाइन्छ ।
मिठो खाने अनि सबैको भलो चिताउने यस पर्व माघे सक्रान्तिको सबैलाई शुभकामना।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







