लुम्विनीको भन्दा पोखरा विमानस्थलको काम सन्तोषजनक : मन्त्री ढकाल


     एभरेस्ट आवाज    
     माघ २ गते २०७७ मा प्रकाशित




संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले लुम्विनी अन्र्तराष्ट्रिय विमानस्थल भन्दा पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल छिटो सञ्चालनमा आउने बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएपछि पहिलोपटक पोखरा अन्र्तराष्ट्रिय विमानस्थल अवलोकन गर्दै उनले लुम्विनीको भन्दा पोखरा विमानस्थल छिटो सञ्चालनमा आउने बताएका हुन् । निर्देशन दिन नभई विमानस्थलको प्रगति बुझ्न आफू आएको भन्दै उनले भने,‘हिजो लुम्विनी अन्र्तराष्ट्रिय विमानस्थल र आज पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल अवलोकन गरेँ, दुबै हेर्दा लुम्विनीमा भन्दा यहाँ (पोखरा)बाटै शान्ति आउने रहेछ कि जस्तो लाग्यो ।’ कोभिडका बीचपनि पोखरा विमानस्थलको काम राम्रो भएको उनले बताए । विमानस्थलको काम सन्तोषजनक नै छ,‘उनले भने, ‘तोकिएकै मितिमा विमानस्थल सञ्चालनमा आयो भने पूर्ण सन्तुष्ट हौंला, म्याद गुज्रिन अझै ६ महिना भएकाले अहिले निर्धारित मितिमै सक्नेतर्फ लाग्छौं, हैन भनेपनि जतिसक्दो थोरै समय थपेर सक्ने दिशामा लाग्न पहलकदमी लिन्छौं ।’ उनले निर्धारित मिति भन्दा धेरै ढिलो नहोस् भन्नेमा सरकार र मन्त्रालय सचेत रहेको बताए ।

मन्त्री ढकालले पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल यथाशिघ्र सञ्चालनमा ल्याउन सरकार लाग्ने बताए । सम्भव भएसम्म निर्धारित मितिमै, नभएपनि जतिसक्दो चाँडो विमानस्थल सञ्चालनमा ल्याउन हामी अधिकतम रुपमा लाग्छौं,‘उनले भने,‘विमानस्थल निर्माणमा राज्यको तर्फबाट पहलकदमी नपुगेको भए थप पहलकदमी लिन्छौं, राज्यका तर्फबाट ध्यान नपुगेका कारणले विमानस्थल निर्माणमा विलम्व भएका कुरालाई यथाशिघ्र समस्या हटाउने कुरामा पहलकदमी गरिनेछ ।’ उनले अगाडि थपे,‘काम गर्ने क्रममा पहलकदमी गर्ने, सहजीकरण गर्ने र प्रेरित गर्ने काममा हामी लाग्छौं ।’ ‘नीतिगत हिसाबमा, प्राविधिक हिसाबमा र व्यवहारिक हिसाबमा जहाँजहाँ अप्ठेरा छन् ती सबै फुकाउँछौं’–उनले भने ।

मन्त्री ढकालले लुम्विनी भन्दा पोखरा प्राकृतिक र रमणीय दुबै हिसाबलेपनि राम्रो भएको बताए । उनले भने,‘विमानस्थल बनोटको हिसाबलेपनि लुम्विनी भन्दा पोखराको राम्रो लाग्यो ।’

सो अवसरमा विमानस्थल निर्माण आयोजना प्रमुख विनेश मुनंकमीले विमानस्थल निर्माणको काम ७० प्रतिशत सकिएको बताए । काममा बाधा आएन भने अबको ६ महिना अर्थात निर्धारित मिति आगामी जुलाईसम्ममा निर्माण सम्पन्न गरिसकिने उनको भनाई छ । तर चाइनिज कामदार भ्याक्सिन लगाइसकेपछि पनि नेपाल आउन नसकिरहेको भन्दै उनीहरु आउनुमा ढिलाई भए त्यसको असर विमानस्थल निर्माणमा देखिनसक्ने मन्त्रीलाई ब्रिफिङ गरे ।

आयोजना प्रमुख मुनंकमीले रन–वे, ट्याक्सी–वे, ह्याङ्गर निर्माणलगायतका कामहरु सम्पन्न । भइसकेको उनले बताए । उनले विमानस्थल वरपर फेन्सिङ (बार)को काम शुरु भएको जानकारी दिए । उनका अनुसार टर्मिनल भवनसहित सबै १४ वटै भवन निर्माण सम्पन्न भएर अहिले डेकोरेसनको काम भइरहेको छ । उनले ७० वटा ईक्यूपमेन्ट सेटिङको काम चलिरहेको र बाँकी ४० वटा ईक्यूपमेन्ट सेटिङ गर्न बाँकी रहेको जानकारी दिए । उनका अनुसार अझै केहि ईक्यूपमेन्ट ल्याउन बाँकी रहेको छ । ती ईक्यूपमेन्ट उत्पादन भइरहेको भन्दै उनले उत्पादन भएको २ महिना भित्रमा पोखरा आइपुग्ने उनले बताए ।

पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल ईञ्जिनियरिङ प्रोक्योरमेन्ट कन्सट्रक्सन (ईपिसी) मोडलमा अन्र्तराष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसन (आइकाओ)को मापदण्ड अनुसार फोरडी मोडलमा निर्माण भइरहेको छ । यसमा न्यारोवडीका १९० सिटे विमानहरु उडान तथा अवतरण हुनेछन् । २२ अर्बको लगानीमा निर्माण भइरहेको पोखरा विमानस्थल १० जुलाई २०२१ सम्ममा निर्माण सम्पन्न गर्नेगरी चिनको सिएएमसी ईञ्जिनिरिङ कम्पनीले निर्माण गरिरहेको छ ।

१. पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलको अवलोकन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल । तस्बिर ः उमेश पुन÷नागरिक
२. पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलको भौतिक प्रगति ब्रिफिङमा सहभागि हुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल । तस्बिर ः उमेश पुन÷नागरिक


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।