समानताका कुरामा जोड दिउँ : प्रदेश प्रमुख शेरचन


     एभरेस्ट आवाज    
     माघ २ गते २०७७ मा प्रकाशित




गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले आदिवासी जनजातिले सबै जातजातिको समानतामा जोड दिन आग्रह गरेका छन्।

‘एउटै जातजाति, संस्कार र संस्कृति तथा पहिचानलाई मात्रै जोड दिइयो भने समाजमा विखण्डन आउँछ, समाज क्षत–विक्षत बन्छ,’ उनले भनेका छन्, ‘सवाल समानता र समानुपातिकताको हो। सबै जातजातिहरुमा राज्यबाट बिभेद गरिएको छ। सबै जातजातिले एकताबद्ध भइ सामुहिक रुपले समानताका कुरा उठाउँ। यसरी उठाएको सवालले समाज विखण्डन हुँदैन।’

माघे सक्रान्ति तथा थकालीहरुको नयाँ वर्ष ल्हाङ्ल्हो (गाइबर्ग) २१४८ को अवसरमा तीन गाउँले थकाली सेवा समाजले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा प्रदेश प्रमुख शेरचनले यस्तो बताएका हुन्।

उनले सबै थकालीहरुको पुर्खा एउटै रहेको जिकिर गरे। थकाली–थकालीबीचको भाषा, रहनसहन, संस्कार–संस्कृति फरक नरहेको दाबी गरे। उनले भने, ‘समग्र थकालीहरुको पोशाक, भाषा र संस्कार–संस्कृति फरक छैन। सबै थकालीहरु कोही पनि फरक छैनौँ। हामी सबै एउटै पुर्खाका सन्ततीहरु हौँ।’

देशमा वैदेशिक हस्तक्षेप बढेको बताउँदै शेरचनले राष्ट्रिय एकता र सामुहिकताले मात्रै राष्ट्रलाई बचाउन सकिने औँल्याए। वैदेशिक हस्तक्षेप कदापी सह्य नहुने उनको भनाई थियो।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रेम तुलाचनले जातजातिको पहिचान र अधिकारका लागि नीति निर्माण तहमा उनीहरुको पहुँच नपुगेको उल्लेख गरे।

संविधानसभा सदस्य श्रीमाया थाकालीले देशको राजनीति स्थायित्व हुनुपर्नेमा जोड दिइन्।
गण्डकी प्रदेश सांसद मोहन रेग्मीले आदिवासी जनजातिहरु राजनीतिक रुपले नेतृत्वमा र वैचारिक हिसावले सचेत बन्नुपर्नेमा जोड दिए।

कार्यक्रममा गण्डकी प्रदेश सांसद इन्द्रधारा बिष्ट, समाजका सल्लाहकार गणेशलाल थकाली, बसन्त थकाली, आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश संयोजक खेम पुन, तमुधिं नेपालका अध्यक्ष हुम तमु, नेवाः खल कास्की अध्यक्ष अशोक पालिखे, समाज युवा संगठन अध्याक्ष सञ्जोग थकालीलगायतले शुभकामना मन्तव्य दिएका थिए।

समाजका पूर्व सचिव श्यामप्रसाद थकालीले तीनगाँउले थकाली सेवा समाज, समाजले प्रकाशन गर्ने गरेको पात्रो र उनीहरुको संस्कार–संस्कृतिबारे प्रकाश पारेका थिए।

समाजका अध्यक्ष क्षेत्रबहादुर थकालीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका सल्लाहकार नरकुमार थकालीले स्वागत र सचिव बिक्रम थकालीले कार्यक्रम संचालन गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।