दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि लायन्स क्लबले रु एक करोड ११ लाख ६८ हजार सहयोग गरेको छ ।
लायन्स क्लब अन्तर्राष्ट्रिय गुठी ९एलसिआइएफ०ले नेपालमा सञ्चालित विभिन्न परियोजनालाई सहयोग गर्ने क्रममा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि उक्त रकम सहयोग गरेको हो । उक्त अस्पतालमा डायलासिस सेन्टर सञ्चालन गर्न लायन्स क्लब अफ तनहुँ खैरेनीटार, लायन्स क्लब अफ तनहुँ म्याग्दे र लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सले पहल थालेका थिए ।
जिल्लामा दमौली अस्पतालमा मात्रै डायलासिस सेन्टर रहेको र मिर्गौला पीडितलाई सास्ती भइरहेकाले क्लबले सो अस्पतालमा डायलासिस सेन्टर स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो । मिर्गौला पीडितका लागि आवश्यक उपचार गर्न अस्पतालमा ६ थान मेसिन राख्ने तयारी गरिएको लायन्स क्लबका डिष्ट्रिक क्याबिनेट सचिव सुजित हीराचनले बताए । उनले भने, “यो भेगमा डायलासिस सेवा अति आवश्यक भइसकेको छ । यहाँका बिरामीलाई दमौली, पोखरा जानुपर्ने बाध्यता छ । यही डायलासिस सेन्टर स्थापना गर्न सकिए उहाँहरुलाई सहज हुन्छ ।”
दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रुपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री स्व गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा सात सय ४० रोपनी जग्गा उपचार केन्द्रको नाममा उपलब्ध भएको छ ।
अस्पतालमा तनहँुको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा, नवलपरासीलगायतका बिरामी सेवा लिन आउने गरेका छन् ।
अस्पतालले श्वासप्रश्वासको उपचार सेवा सुरु गरिसकेको छ । अस्पतालमा दैनिक दुई सय ५० भन्दा बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये ४०÷५० बिरामी श्वासप्रश्वासका रहेको अस्पतालले जनाएको छ । हाल सदरमुकामस्थित दमौली अस्पतालमा मात्रै डायलासिस सेन्टर छ । दमौली अस्पतालमा सात उपकरणमार्फत मिर्गौला पीडितलाई सेवा दिने गरिएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज ९ नेपालीको महान चाँड बडादशैंको सन्दर्भ पारेर पोखराको लेकसाईडमा…







