लहान। लामो समयदेखि विद्युत् महसुल नबुझाउने ९० जना ग्राहकको विद्युत् लाइन विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले काट्ेको छ । वक्यौता विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन अभियान शुरु गरेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले करीब एक महिनाको अवधिमा ९० जना ग्राहकको लाइन काटेको हो ।
विद्युत् लाइन काटिएकामध्ये ६० जनाबाट रु ६० लाख ३५ हजार बक्र्यौता असूल भएको र बक्र्याैता रकम बुझाउनेको पुनः लाइन जडान गरिएको विद्युत प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख जीतेन्द्रकुमार यादवले जानकारी दिनुभयो । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले रु ५० हजार भन्दा बढी बक्यौता बाँकी रहेका २२० जना ग्राहकको सूची तयार गरेर विद्युत् लाइन काट्न शुरु गरेको प्रमुख यादवले बताउनुभयो ।
विद्युत बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटकपटक समयमै विद्युत् महसुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन काट्न थालेको प्रमुख यादवको भनाइ छ । उहाँका अनुसार पहिलो चरणमा लामो समयदेखि बक्यौता रकम नबुझाउने तीन फेजका २२० जना ग्राहकको विद्युत् लाइन काटिने र पछि थप ग्राहकको लाइन काटिने छ । ग्राहकबाट विद्युत् महसुलबापत करिब रु ३० करोड भन्दा बढी बक्यौता उठाउन बाँकी रहेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले जनाएको छ ।
गार्हस्थ्य मिटरतर्फ रु १९ करोड १४ लाख ५१६, व्यापारिक मिटरतर्फ रु ९९ लाख ७१ हजार ४३९, गैर व्यापारिक मिटरतर्फ रु एक करोड ५८ लाख र औद्योगिक मिटरतर्फ रु चार करोड २६ लाख ३८ हजार ८३५ बक्यौता रकम उठाउन बाँकी रहेको प्रमुख यादवले बताउनुभयो । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानमा ४५ हजार ग्राहक रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







