सिद्धि सेतुली स्मृति पुरस्कारबाट हिरा भट्टराई र सानिमा स्मृति पुरस्कारबाट प्रमिला थकाली सम्मानित


     एभरेस्ट आवाज    
     माघ ७ गते २०७७ मा प्रकाशित




“सिद्धि सेतुली स्मृति पुरस्कार–२०७७” बाट महिला उद्यमी हिरा भट्टराई र “सानिमा स्मृति पुरस्कार–२०७७” बाट अपाङ्गताको क्षेत्रमा रही काम गर्दै आउनुभएकी गण्डकी बहिरा संघकी उपाध्यक्ष प्रमिला थकाली सम्मानित भएका छन् । सिद्धि सेतुली प्रतिष्ठान, पोखराको आयोजनामा बुधबार पोखरामा भएको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा त्रिभूवन विश्वविद्यालय पश्चिमाञ्चल सह परीक्षा नियन्त्रक मीना गुरुङ, सिद्धि सेतुली स्मृति प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद बास्तोला, प्रतिभा छनौट समितिका अध्यक्ष नारायण कार्कीलगायतले सम्मानितहरुलाई सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै त्रिभुवन विश्व विद्यालय पश्चिमाञ्चल सह परीक्षा नियन्त्रक मीना गुरूङले कामको क्षमतासँगै फरक क्षमता भएर समाज परिवर्तनमा सम्मानित दुवैको भुमिका महत्वपुर्ण रहेको बताईन् । उनले सामाजिक क्षेत्रमासमेत अग्रहणी रहेको दुबै सम्मानित व्यक्तिहरुलाई बधाईसहित कामलाई निरन्तरता दिन आग्रह गरिन् ।

सिद्धि सेतुली स्मृति प्रतिष्ठान पोखराका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले समाज र राष्ट्रका निम्ति आफ्नो क्षेत्रमा रहेर योगदान पु¥याउने सम्मानित दुवैको योगदान अतुलनीय रहेको बताए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले प्रतिष्ठानबाट गरिएको सम्मान समावेशी ढंगको भएको भन्दै स्त्री शक्ति सम्मानित भएकोमा गर्वानुभूति भएको बताए ।

सम्मानित व्यक्तित्व हिरा भट्टराईले आर्थिक पाटोलाई दरिलो बनाउने उद्देश्य सहित सानै लागानीमा घरपरिवारको हौसलाले उद्यम क्षेत्रमा सक्रिय भएको बताईन् । उनले सम्मानले आफुलाई आगामी दिनमा थप प्रभावकारी ढंगले अगाडि बढ्नका लागि उर्जा थपेको बताईन् ।

त्यस्तै सानिमा स्मृति पुरस्कारबाट सम्मानित गण्डकी बहिरा संघका उपाध्यक्ष प्रमिला थकालीले अपाङ्गताको क्षेत्रमा विशेष गरेर बहिराहरू पछाडि पर्ने गरेको भन्दै सांकेतिक व्यक्ति कोहिपनि कमजोर नरहेको बताईन् । पश्चिमा देशहरुको तुलनामा नेपालमा बहिरा समाजको अभावका कारण असहज परिस्थिति रहेको भन्दै थकालीले बहिराहरूको निम्ति विभिन्न सीप, तालिम, सभा, सेमिनार जस्ता कार्यक्रमहरू संचालन गर्दै आएको बताईन् ।

कार्यक्रममा प्रतिष्ठानका पुर्व अध्यक्ष तथा प्रतिभा छनोट समितिका संयोक नारायण कार्कीले सम्मानित व्यक्तित्वहरूको परिचय दिएका थिए ।

प्रतिष्ठानले हाल सम्म सिद्धि सेतुली स्मृति पुरस्कारबाट ६ जना र सानिमा स्मृति पुरस्कारबाट १ जनालाई सम्मान गरिसकेको संस्थापक अध्यक्ष विश्वरत्न शाक्यले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।