प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन


     एभरेस्ट आवाज    
     माघ १२ गते २०७७ मा प्रकाशित




काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गर्नुभएको छ ।

धर्मपत्नी राधिका शाक्यसहित बिहान करिब आठ बजे पशुपतिनाथ मन्दिर पुग्नुभएका प्रधानमन्त्री ओलीले पशुपति परिक्रमा विधिअनुसार मन्दिर घुमेर विशेष पूजा गर्नुभएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । सो अवसरमा उहाँले पशुपति क्षेत्रका गतिविधिका बारेमा पनि जानकारी लिनुभएको थियो । पशुपति क्षेत्रलाई विश्वको वैदिक सनातन धर्मावलम्बीको पवित्र स्थलका रूपमा विकास गर्न उहाँले कोषका पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।

सो अवसरमा संस्कृतिमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई तथा काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल पनि सहभागी हुनुभएको थियो । पशुपति क्षेत्रमा प्रधानमन्त्री ओलीलाई कोषका सदस्य सचिव ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापा र कोष सञ्चालक परिषद्का सदस्यलगायत कर्मचारीले स्वागत गर्नुभएको थियो । विशेषपूजापछि पशुपतिका मूल भट्ट रावल गणेश भट्टले प्रसाद लगाइदिनुभएको थियो । मूलसहित चारैजना भट्ट विशेष पूजामा सहभागी हुनुभएको कोषले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।