घरदैलो सहकारीको रक्तदानमा ६३ युनिट संकलन


     एभरेस्ट आवाज    
     माघ १४ गते २०७७ मा प्रकाशित




पोखराको बुद्धचोकमा रहेको घरदैलो बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदानमा ६३ युनिट रगत संकलन गरिएको छ । रक्त सञ्चार केन्द्र पोखराको सहयोगार्थमा सहकारीले पहिलो पटक आयोजना गरेको रक्तदानमा उल्लेख्य सहभागिता रहेको थियो ।
पोखरा महानगरपालिकाका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सहकारीका सदस्य लगायतले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमको संयोजकत्व भने सहकारीका कोषाध्यक्ष रुद्रबहादुर कार्की रहेका थिए ।
कोभिडको महामारीले त्रासकै बीचमा अस्पतालमा उपचाररत विरामीलाई रगतकै अभावमा उपचारमा समस्या सृजना नहोस भन्ने उद्देश्यले सहकारीले रक्तदान आयोजना गरिएको कोषाध्यक्ष कार्कीले सुनाए । सहकारीको काम केवल सर्वसाधारणको पैसा बचत गर्ने र ऋण प्रवाह गर्ने मात्रै नभई सामाजिक उत्तरदायित्व समेत बहन गर्नुपर्ने भन्दै पोखरा महानगरपालिकाका सहकारी समितिका अध्यक्ष अधिकारीले सहकारीले वर्षेनी सामाजिक उत्तरदायित्वको कामहरु गर्नुपर्नेमा जोड दिए ।
घरदैलो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको रक्तदान कार्यक्रमको सञ्चालन भने सहकारीकी सचिव शान्तादेवी थापाले गरेकी थिईन् । रक्तदाताहरुलाई प्रमुख अतिथि अधिकारीले प्रमाणपत्र प्रदान गरेका थिए ।
फोटो पनि छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।