आर्मीले एएफसी कप छनोट चरणमा श्रीलंका पुलिससँग प्ले–अफ खेल्ने


     एभरेस्ट आवाज    
     माघ १५ गते २०७७ मा प्रकाशित




तस्बीरः एजेन्सी

नेपालको त्रिभुवन आर्मी क्लबले एएफसी कप २०२१ को छनोट अन्तर्गत दक्षिण एसियाली प्ले–अफको पहिलो चरणमा श्रीलंका पुलिससँग खेल्नेछ।

एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार सार्वजनिक गरेको एएफसी कपको खेल तालिकाअनुसार आर्मीले दक्षिण एसियाली प्ले–अफ खेल्नुपर्ने भएको छ।

यो प्ले–अफको विजेता बन्ने टोली एएफसी कपको मूख्य ड्र को समूह ‘डी’ मा रहनेछ । आर्मीले केही समयअघि मात्र एएफसीको क्लब लाइसेन्स प्राप्त गरेकोले उक्त प्रतियोगिता खेल्न योग्य बनेको हो।

गत वर्ष भएको सहीद स्मारक ‘ए’ डिभिजन लिगमा आर्मी उपविजेता बनेको थियो। मछिन्द्रले उपाधि जितेपनि आर्मी क्लब लाइसेन्स पाउने पहिलो क्लब बनेपछि एएफसी कप खेल्ने अवसर पाएको हो।

प्ले–अफबाट मुख्य प्रतियोगितामा पुग्न आर्मीले ३ खेल जित्नुपर्नेछ। जसअनुसार पहिलो चरणमा आर्मीले अप्रिल ७ तारिखमा श्रीलंका पुलिसको सामना गर्नेछ।

यो खेल जित्ने टोलीले भारतको बेंगलुरु फुटबल क्लबसँग अप्रिल १४ मा खेल्नेछ। यो खेलको विजेताले अर्को समूहबाट आउने टोलीसँग प्ले–अफ फाइनल खेल्नेछ।

प्ले–अफको अर्को समूहमा माल्दिभ्सको क्लब ईगल्स र भुटानको थिम्पु सिटी खेल्नेछन्। उक्त खेलको विजेताले बंगलादेशको अबहानी लिमिटेड ढाकासँग खेल्नेछ र यसको विजेता प्ले–अफ फाइनलमा पुग्नेछ। प्लेअफ फाइनल खेल अप्रिल २१ मा हुनेछ। खेल हुने स्थान भने टुंगो लागेको छैन।

यो प्ले–अफ जित्ने टिमसँगै समूह ‘डी’ मा दक्षिण एसियाकै क्लब हुनेछन्। समूह ‘डी’मा भारतको एटीके मोहन बगान, बंगलादेशको बसुन्धरा किङ्स र माल्दिभ्सको माजिया छन्। एएफसी कप २०२१ को समूह चरणका खेलहरु १४ मे देखि सुरु हुनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।