प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल शुक्रबारदेखि


     एभरेस्ट आवाज    
     माघ १५ गते २०७७ मा प्रकाशित




काठमाडौँको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीद्वारा वेष्टर्न युनाइटेड क्लबलाई पोशाक वितरण गर्दै ।तस्बिर:चन्द्रागिरि नगरपालिका

काठमाडौँ। चन्द्रागिरि नगरपालिकाको सर्वाधिक राशिको ‘प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७७’ को तयारी पूरा भएको छ ।शुक्रबार र शनिबार चन्द्रागिरि–९ स्थित मत्छ्य फुटसल मैदानमा आयोजना हुने सो प्रतियोगितामा नगरका १५ वडाका २५ टिमबीच प्रतिष्पर्धा हुनेछ । चन्द्रागिरि–५ र नगरपालिका स्वयं आयोजक रहेको सो प्रतियोगिताको संयोजन वेष्टर्न युनाइटेड क्लबले गरेको छ ।

प्रतियोगिताका बारेमा जानकारी दिन क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रामनारायण घिमिरेले प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः रु ७५ हजार र रु ४० हजारसहित ट्रफी र पदक र अन्य चार विधामा उत्कृष्ट हुनेलाई रु पाँच हजारसहित पदक प्रदान गरिने जानकारी दिए। ती विधामा उत्कृष्ट टिम, खेलाडी, गोलकर्ता र किपर रहेका छन् ।उनले भने , “फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ ।

चन्द्रागिरि नगरपालिकाभित्र खेलकूद विकास गर्न र युवालाई खेल क्षेत्रमा आकर्षित गर्न क्लबले विभिन्न गतिविधि गरिरहेको छ ।” कोरोना कहरले आक्रान्त खेलकूद क्षेत्रलाई चलायमान बनाउन प्रतियोगिताले कोशेढुङ्गाको काम गर्ने क्लबका उपाध्यक्ष साजन महर्जनले बताए । पछिल्लो समय युवापुस्ताका बीचमा फुटसल लोकप्रिय बनिरहेको छ । प्रतियोगिता अन्तर्राष्ट्रिय नियमलाई पालना गरी खेलाइने आयोजकले जनाएका छन् ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले युवापुस्तालाई खेलकूदमा थप आकर्षित गरी खेल क्षेत्रको विकास गर्न नगरपालिकाले प्रतियोगिता आयोजना गरेको जानकारी दिए । उनले भने ,“युवा समाजका परिवर्तनका संवाहक शक्ति हुन् । उनीहरुको क्षमता र प्रतिभा विकासमा सबैले सहयोग गर्नुपर्छ । यसलाई खेलकूदले सहयोग गर्नेछ ।” नगर प्रमुख घनश्याम गिरीले प्रतियोगिताका सहभागीलाई पोशाक वितरण गरे । (रासस)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।