पोखरा महानगरपलिका वडा नं १७ का वडाध्यक्ष तिर्थराज अधिकारीले संसद विघटन गर्ने परिस्थिती नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्दा सृजना भएको आरोप लगाएका छन् । पोखरा महानगरपालिका वडा नं १७ र पुलचोक टोल कमिटि, छोरेपाटनबीच विहीबार भूमिहीन र अव्यवस्थित बसोबास सँगै विकासका पुर्वाधार सम्बन्धित अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । भूमिहीन र अव्यवस्थित बसोबास गर्नेहरुलाई हल्का बनाउने काम भइराखेको भन्दै सुरुवातदेखि नै सुकुम्बासी समस्याको समाधानमा क्रियाशिल नेकपा ओली पक्ष नै रहेको प्रति दुविधा नपाल्नसमेत उनले आग्रह गरे । ‘भूमिसम्बन्धी समस्या समाधान आयोगले मागेका प्रमाणहरु अनिवार्य चाहिन्छ, यदि केही समस्याहरु छन् भने वडामा सिधै सम्पर्क गर्नुहोला, हामी सहयोग गर्न तत्पर छौँ,’ उनले भने ।
वडा नं १७ क्षेत्र र जनसंख्याको आधारमा ठुलो रहेको भन्दै कोभिड १९ ले विकासका काममा असहज परिस्थिती उत्पन्न गराएता पनि वडा लागिरहेको र केही आयोजनाहरु बन्ने क्रममा रहेको समेत अधिकारीले बताए ।
सोही कार्यक्रममा पोखरा महानगरपलिका कार्यपालिका सदस्य राधिका शाही योगीले गण्डकी प्रदेश अन्तर्गत कास्कीको पोखरा महानगरपालिकासँग भूमिसम्बन्धी समस्या समाधान आयोगले गरेको सम्झौतानुसार वडा स्तरीय भूमि सम्बन्धी समस्या सहजीकरण समिति गठन भएको बताईन् । आयोगले छुट्याइएको आवेदन अनुसार प्रक्रिया र प्रमाण मिलेको खण्डमा स्रोत मुल्याङ्कनको अनुसार लालपुर्जा पाउन सकिने भन्दै घरघरमा आउने आवेदकलाई सत्यतथ्य प्रमाण पेश गर्न योगीले अनुरोध गरिन् ।
नेकपा (ओली पक्ष)का वडा नं १७ का अध्यक्ष सुवास ढुंगानाले पार्टी र जनप्रतिनिधिबीच सम्बन्ध राम्रो रहेको र कसैको प्रयोगमा नआई आफैँ लागि पर्न आवश्यक रहेको बताए ।
पुलचोक टोल सुधर समितिका अध्यक्ष इन्द्र बहादुर खड्काले यस क्षेत्रमा मुख्यतः लालपुर्जा, खानेपानी र सडकको प्रमुख समस्या रहेको भन्दै यस विषयमा वडाले विशेष जोड दिन आग्रह गरे ।
सो कार्यक्रममा अग्रज पत्रकार हरि बास्तोला, पोखरा १७ पुलचोक टोल नेकपा कमिटिका अध्यक्ष देवबहादुर वि.क, बाराही टोल नेकपा कमिटिका अध्यक्ष भीम रोका मगर, पोखरा १७ सिमलटुडा नेकपा कमिटिका अध्यक्ष गुप्तबहादुर गुरुङ, विभिन्न आमा समूहहरु लगायतको उपस्थिती रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







