कथा: एकमा दुई


     शिवप्रसाद पाण्डे     
     असाेज २८ गते २०७७ मा प्रकाशित




हरेराम र भिमसेन मालिका माईको सानो मन्दिरको परिसरमा रहेको चौपारीमा बसि बात मारिरहेका थिए | भर्खर पानी पर्न रोकिएको थियो | नेपालमा एउटा ठूलो मन्दिरको वरिपरि स-साना मन्दिरहरु देख्दा गाउँको वीचको साहु मुखियाको ठूलो घर र गरिवहरुका साना घरहरुको झल्को दिने गर्छ | तर यो मन्दिर सानो भए पनि महत्व ठूलो रहेको छ | त्यो दिन विशेष भएकाले पनि भिडभाड थियो | हरेरामले आफ्नो दुखेसो पोखिरहेका थिए – आस्तिमात्र खोलाको भगाँलो खेतमा पस्यो |अहिले पनि सानो खोलो खेतमा हिडिरहेको छ | यसले गर्दा हाम्रो परिवारका सबैको मुखमा हाँसो छैन | दिनदिनै जसो रासिफलले भने जस्तै केहि न केहि क्षति भएको छ | बुढीको टु इन वान हराएको पनि चार दिन भयो | के हो टु इन वन भनेको भिमसेनले सोधे | हरेरामले एकमा एक जोडदा कति हुन्छ भनि उल्टै भिमसेनलाई प्रतिप्रश्न गरे | भिमसेनले भने-दुई हुन्छ | गलत ! एउटा सानो डाडु र एउटा सानो पन्यु जोडेर एउटा बनाइदैन त | भिमसेनले भने -खेत तपाईंको हुने ठूलो खाले चम्चा भाउजुको हुने | सबै हाम्रो भनौन | खेत मेरा बाबुबाट मैले लिएको हो भने त्यो वस्तु दाइजोमा आएको हो भन्दै उनी सकुनी हाँसो हाँसे |

तपाईं पनि बर माग्न त आउनु भएको होला ?हरेरामले सोधे | यो बरै माग्ने ठाउँ त हो उनले जवाफ दिए | भिमसेनले मालिका माई र बर माग्ने सम्बन्धमा जाने सुनेका कुराभन्दै गए -मालिका माई बहिरी छिन् | त्यसैले चर्को स्वरले एउटा वर (माग) माग्नु पर्दछ | परिवारका सदस्यहरुले कुन वर माग्ने हो पहिल्यै सल्लाह भने गर्नु हुदैन | सच्चा मनले मागेको कुरा माईले पुर्याउनु हुन्छ | कोहि मरोस् भनेर वर मागेको पनि कहिलेकहीँ सुनिन्छ रे | एउटा निसन्तान महिलाले मागेको प्रचलित वरको प्रसङ्ग पनि उनले उठाए | ‘माइलो छोराले माझ तलामा बीस मुरे भकारीको आड लागेर ठूलो ठेकामा मोहि पारेको देख्न पाउँ |’ कति बाठी! तीन भाइ छोरा,तीन तले घर, धेरै जग्गा जमिन र गाईवस्तु एउटै वरमा मागेकी हरेरामले अर्थाए |

भिमसेन मनोविज्ञानमा रुचि राख्दथे | यो विषयमा उनको स्वअध्ययन थियो | उनले यो विषयतिर आफ्नो गफ मोडे | अरु अपरिचित तीन जनाले पनि उनका कुरा सुन्नथाले | प्रत्येक मानिसको चाहाना फरक फरक हुने गर्छ | कसैले छोराछोरीलाई ठूलो ठान्दछन् | कसैले जग्गाजमिन, कसैले गरगहना,कसैले वोटबिरुवा कसैले घर आदि | चाकडी, मपाईं , अरुको कुरा काटनेदेखि खाने लगाउने आदि | घरमा पनि कसैलाई सबै वस्तु व्यवस्थित नहुदा मन दुख्ने, कसैलाई खर्च हुदा मन दुख्ने, कोहि पाहुना आउदा आत्तिने ,कोहि ससुराली जादा मात्तिने गर्दछन् | हुर्केको वातावरण, शिक्षा,वंशाणुगत गुण लगायत उमेर, अनुभव,अपनत्वको भावना आदिको आधारमा मानसिकता निर्माण हुन्छ | मानिस अभिनय गर्नमा साह्रै सीपालु प्राणी हो | अभिनय गर्दागर्दै पनि वास्तविक स्वरुप वेलावेलामा देखिइ हाल्दछ | उनले एउटा प्रश्न सोधे-लेख्न पर्ने तर पढन नपर्ने के हो ?सबै रल्ल परे |उनले यसको उत्तर आफै दिए-जस्तै यहि प्रश्नको प्रश्नवाचकचिह्न पढिदैन | अधिकांश परिवारमा पनि झगडाको कारण यस्तै हो |

लाइनमा बसेका हरेरामका छोरा रश्रीमतीको वर माग्ने पालो आयो | हरेराम र भिमसेनको ध्यान पनि त्यतै केन्द्रित भयो | छोराले चर्को स्वरले ‘भोलीबाट घाम लागोस् माई!’ भने। हरेरामको श्रीमतीले ‘गुमेको चीज आहोस्!’भनिन् | आफ्नो परिवारका सबैलाई खेतको पीर रहेछ भन्ने कुरा हरेरामले बुझे | दुवैजना हरेराम र भिमसेनको नजिक आए | भिमसेनले सोधे -किन भोली घाम लाग्न पर्ने हो बाबु? भोली साथीहरुसंग पिकनिक जानुछ त्यसैले | यो सुनेर हरेराम निराश देखिए | त्यसपछि भिमसेनले हरेरामको श्रीमतीलाई सोधे-भाउजुले के गुमेको चीज माग्नु भएको हो ? मैले दाइजोमा ल्याएको डाडु र पन्यु दुबै भएको भेटियोस् भनेकी हुं | हरेराम केहि रिसाएर भने- एक शयको डाडु ! हिडाइको दु:ख बाहेक एक जनाको चार शय जीप भाडा कता गयो ? हरे ! त्यो माइतबाट ल्याएको आफ्नो हो नि दाइ | यसमा अरु महत्वपूर्ण चीज पनि मिसिएको छ | के मिसिनि फलामै हो हरेरामले स्वर केहि चर्को पारे | त्यसपछि हरेराम र भिमसेन केहिक्षण एक अर्कोको मुखमा हेराहेर गरिरहे |


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।