चाँडपर्वसँगै कास्कीमा सुरक्षा ब्यबस्था कडा


     सन्देश श्रेष्ठ    
     असाेज २८ गते २०७७ मा प्रकाशित




जिल्ला प्रहरी कार्यालय कास्कीले नजिकिदो चाँडपर्व लक्षित गरेर सुरक्षा योजना सार्वजनिक गरेको छ । कास्की प्रहरीले नेपालीको महान चाँड दशैं, तिहार, छठ, नेपाल सम्वतलगायतका चाँडपर्वहरुलाई मध्यनजर गर्दै चाँडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएको हो । देशकै ठूलो महानगरलाई सुरक्षित बनाउन कास्की प्रहरीले ‘नाकामा चेकिङ, सहरमा पेट्रोलिङ’ अभियान सञ्चालन गर्ने जनाएको छ ।

जसका लागि कास्की प्रहरीले अहिले खटिएको भन्दा दोब्बर संख्यामा प्रहरी खटाउने भएको छ । कास्की प्रहरीमा कुल ९०६ जना प्रहरी भएकोमा ७३५ जनालाई फिल्डमै खटाउने गरि योजना तयार पारिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) जीवन श्रेष्ठले जानकारी दिए । उनले विशेष गरेर सहरी क्षेत्रलाई लक्षित गरेर प्रहरी परिचालन गरिएको बताए । उनका अनुसार दिउँसो र राती दुबै समयमा प्रहरी परिचालन गरिनेछ । प्रहरीले यस वर्ष साविकका चाँडपर्व भन्दा बढी चोरी हुने सम्भावना औंल्याउँदै सो कार्यहरु रोक्नका लागि प्रहरी खटाइने जनाएको छ । यस वर्ष कोभिड–१९ का कारण धेरैले रोजगारी गुमाएको, आम्दानी घटेकोलगायतका कारण चोरी बढ्न सक्ने भएकाले सोहि अनुसार सुरक्षा योजना तयार पारेर प्रहरी खटाइएको एसपी श्रेष्ठले बताए ।

कास्की प्रहरीले गण्डकी प्रदेशको राजधानी पोखरा भित्रिने र बाहिरिने मुख्यमुख्य नाकाहरु, मुख्य मुख्य सडक तथा भीडभाड हुने बजार क्षेत्रहरुमा बाक्लो मात्रामा प्रहरी परिचालन गर्ने जनाएको छ । त्यस्तै, वैंक, वित्तिय संस्था, बिजनेस कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर्स, सुन पसललगायतमापनि प्रहरी परिचालन गरेर निगरानी बढाइएको प्रहरी प्रवक्ता, प्रहरी नायव उपरिक्षक (डिएसपी) सुवास हमालले जानकारी दिए ।

यसैगरी खसी, बोका, च्याङ्ग्रा भित्रिने नाकामा पनि प्रहरी परिचालन गरिएको उनले बताए । खसीबोका लुट्ने, ब्यापारीलाई कुटपीट गर्ने, पैसा माग्नेलगायत सम्भावनालाई मध्यनजर गर्दै प्रहरी परिचालन गरिएको उनको भनाई छ ।

सुरक्षा ब्यबस्था चुस्त राख्नका लागि सादा पोषाक र बर्दीधारी पोषाक दुबै परिचालन गरिएको डिएसपी हमालले जानकारी दिए । बर्दीधारीबाट लुकीछिपी आपराधिक कार्य हुने भएकाले सादा पोषाकका प्रहरी परिचालन गरिएको उनको भनाई छ ।

कास्की प्रहरीले चाँडपर्वमा हुनसक्ने होहल्ला, हुलहुज्जत र लफडा नियन्त्रणका लागिपनि छुट्टै फोर्स परिचालन गर्ने भएको छ । विशेष टास्क फोर्स बनाएर प्रहरी परिचालन गरिने डिएसपी हमालले बताए । उनका अनुसार मापसे र लागूऔषध नियन्त्रणलाई पनि प्रभावकारी रुपमा नियन्त्रण गर्न प्रहरी परिचालन गरिनेछ । जसका लागि नाकाहरुमा चेकिङ र सादा पोषाकका प्रहरी परिचालन गरिने उनले बताए ।

प्रहरीले चाँडपर्वमा घर फर्किने यात्रुहरुलाई लक्षित गरी पोखराका दुई ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गर्ने भएको छ । यात्रु बाहिरने मुख्य क्षेत्र पोखराको पृथ्वीचोक बसपार्क अगाडि र बागलुङ बसपार्कमा ६÷६ जनाको टोलिसहित यात्रु सहायता कक्षा सञ्चालन गरिने डिएसपी हमालले बताए । यात्रु सहायता कक्षबाट स्वास्थ्य सुरक्षा साबधानीसँगै, ठगिएका यात्रु, सामान हराएका, टिकट नपाएका, पकेट मारिएका, बढी भाडा लिएका, टिकट काटेरपनि सिट नपाएका, अलपत्र परेका यात्रुहरुलाई सहयोग गरिने उनले बताए ।

कास्की प्रहरीले चाँडपर्वमा हुने जुवातासलगायतका अवैध कार्यहरुको नियन्त्रण गर्नपनि निगरानी बढाएको छ । जुवातास खेलिरहेकालाई समातेर कार्वाही गर्ने, मुद्धा चलाउनेलगायतका कार्यहरु गरिने डिएसपी हमालले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।