कुमुदिनी होम्सको वार्षिक खेलकुदमा यती र लालीगुराँस सदनको उत्कृष्ट प्रदर्शन


     एभरेस्ट आवाज    
     कार्तिक २१ गते २०८३ मा प्रकाशित




पोखरा, कात्तिक २०। कुमुदिनी होम्स माध्यमिक विद्यालयको ४०औँ वार्षिक खेलकुद प्रतियोगितामा अन्तरसदनात्मक तथा खुला प्रतिस्पर्धाका विभिन्न विधामा विद्यार्थीले उपाधि जितेका छन्। प्रतियोगितामा करिब नौ सय विद्यार्थीले सहभागिता जनाएका थिए।
पोखरा महानगरपालिका–४, गैह्रापाटनस्थित विद्यालयको वार्षिक कार्यतालिकाअनुसार आयोजित प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो। प्रतियोगितामा फुटबल, फुटसल, बास्केटबल, भलिबल, कबड्डी, रस्साकस्सी, छेलो, टेबलटेनिस र ब्याडमिन्टनलगायत खेल सञ्चालन गरिएको थियो।
अन्तरसदनात्मक प्रतिस्पर्धामा यती र लालीगुँरास सदनले विभिन्न खेलमा उपाधि जितेका छन्। कक्षा ४ देखि ६ सम्मको छात्र फुटबलमा लालीगुँरास सदन प्रथम हुँदा कक्षा ७ र ८ को छात्र फुटबलमा यती सदन प्रथम भयो। सिनियर फुटसल छात्रतर्फ पनि यती सदनले उपाधि जित्दा छात्रातर्फ लालीगुँरास सदन विजयी भयो। सिनियर बास्केटबल छात्रतर्फ लालीगुँरास सदन र छात्रातर्फ यती सदन प्रथम भए। कक्षा ८ देखि १० सम्मको छात्र भलिबलमा लालीगुँरास सदन तथा कक्षा ६ देखि १० सम्मको छात्रा भलिबलमा यती सदन प्रथम भए।
रस्साकस्सी छात्रतर्फ यती सदन र छात्रातर्फ कुमारी सदन विजयी भए। आधारभूत तहको कबड्डी छात्र तथा छात्रा दुवै विधामा यती सदन प्रथम भयो।
खुला प्रतिस्पर्धातर्फ छेलो फाल्ने आधारभूत तहको छात्र विधामा कक्षा ८ (ख) का सनराइज पुन प्रथम भए। रोहिल गुरुङ द्वितीय र मनिष गुरुङ तृतीय भए। छात्रातर्फ मञ्जु राई प्रथम, दीक्षा श्रेष्ठ द्वितीय र ग्रेसी गुरुङ तृतीय भए।
माध्यमिक तह (कक्षा ९–१०) को छेलो छात्रतर्फ एलिश आउजी प्रथम, रिधान शेरचन द्वितीय र सोहन श्रीश तृतीय भए। छात्रातर्फ एन्सी तिलिजा पुन प्रथम, कोमल गुरुङ द्वितीय र अश्लेषा सुवेदी तृतीय भए। टेबलटेनिसमा एञ्जल पुन प्रथम, आर्यन शाह द्वितीय र सम्पन्न लिगल तृतीय भए। ब्याडमिन्टन छात्रातर्फ रिम्सा श्रेष्ठ प्रथम, जोयना गुरुङ द्वितीय र शिवानी राई तृतीय भए। आधारभूत तहको छात्रा ब्याडमिन्टनमा अविना भुजेल प्रथम, गृहाना गुरुङ द्वितीय र मञ्जु राई तृतीय भएको शिक्षक सुरेन्द्र सदिच्छाले दिए।
विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यालय प्राङ्गणमा बेलुन उडाएर बुधबार प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए। उद्घाटनका अवसरमा विद्यार्थीले मार्चपास प्रस्तुत गरेका थिए।
अतिरिक्त क्रियाकलाप इन्चार्ज दिपेन्द्र थापा मगरले विद्यार्थीको शैक्षिक विकाससँगै खेलकुद प्रतिभा प्रस्फुटन गराउन विद्यालयले नियमित रूपमा खेल गतिविधि सञ्चालन गर्दै आएको बताए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।