कोभिड–१९ को संक्रमणका कारण ७ सय १५ जनाले ज्यान गुमायो

- गण्डकी प्रदेशमा ५ हजार ५ सय ७७ संक्रमित, कास्कीमा थप १ जनाको ज्यान गयो


     एभरेस्ट आवाज    
     कार्तिक १ गते २०७७ मा प्रकाशित




कोरोना भाइरसका कारण हालसम्म नेपालमा ७ सय १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शुक्रबार मात्रै २१ जना संक्रमितको ज्यान गएको छ। कोरोना भाइरसको संक्रमण बढेसँग ज्यान गुमाउनेको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको हो।

पछिल्लो २४ घन्टामा ४ हजार ३ सय ९२ जनामा कोरोना देखिएको छ भने २१ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २१ जनाको संक्रमितको ज्यान गएको पुष्टि भएको छ।

त्यस्तै, काठमाडौंमा सबैभन्दा बढी सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ६ पुगेको छ। ललितपुरमा सक्रिय संक्रमितको संख्या २ हजार ६ सय ६१ र भक्तपुरमा १ हजार ५ सय २२ पुगेको छ। हालसम्म काठमाडौंमा १ सय ५४, ललितपुरमा ४५ र भक्तपुरमा ३८ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घन्टामा ज्यान गुमाउनेहरूमध्ये भक्तपुरमा ५, काठमाडौंमा ३, ललितपुरमा २, गोरखा, सुनसरी, धादिङ, बारा, सिराहा, मुस्ताङ, रामेछाप, रूपन्देही, मकवानपुर, रुकुम पश्चिम र सुनसरीमा १/१ जना रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घन्टामा १६ हजार ५ सय ३१ वटा नमुना परीक्षण गर्दा ४ हजार ३ सय ९२ जनामा संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ । यसबीचमा ३ हजार ५ सय २२ जना निको भएका छन् । निको हुनेको संख्या पनि ८८ हजार ४० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ रहेको छ । उनीहरूमध्ये २५ हजार ४६ जना होम आइसोलेसनमा बसेका छन् । तिमध्ये १२ हजार ३ सय ३६ जना स्वास्थ्यकर्मीको निगरानी रहेको संस्थागत आइसोलेसनमा छन् ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा पनि २४ सय २ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये काठमाडौंमा १ हजार सात सय ८४, ललितपुरमा ३ सय ७४ र भक्तपुरमा २ सय ४४ रहेका छन् ।

गण्डकी प्रदेशमा ५ हजार ५ सय ७७ संक्रमित

गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या ५ हजार ५ सय ७७ पुगेको छ। यो संगै यस प्रदेशमा शनिबार थप ३० जना नयाँ संक्रमित थपिएका छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज, चितवनको फिभर क्लिनिकमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप नयाँ ३० जना संक्रमितको पहिचान भएको हो।

संक्रमितमध्ये बागलुङ जैमिनीका २ जना संक्रमित जिल्लाको कुस्मीशेरा आइसोलेसनमा बसेका छन्। अन्य जिल्लाका सबै संक्रमितहरुलाई आईसोलेसनमा व्यवस्थापन गर्ने तयारी भैरहेको छ। गण्डकी प्रदेशमा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ।

कास्कीमा १ जनाको ज्यान गयो

कास्कीमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका १७ का ४७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

गएराति चरक अस्पतालमा उपचारको क्रममा निधन भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनमा गत असोज २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनमा कोरोनासँगै अन्य दीर्घ रोग समेत रहेको निर्देशनालयले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।