विन्ध्यवासिनी मा.विका प्रअ आचार्यलाई विशेष राष्ट्रिय शैक्षिक सम्मान


     एभरेस्ट आवाज    
     मंसिर ६ गते २०८३ मा प्रकाशित




विन्ध्यवासिनी माध्यमिक विद्यालय, बाटुलेचौरका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले विशेष राष्ट्रिय शैक्षिक सम्मान प्राप्त गरेका छन्।

प्रधानाध्यापक संघ नेपालले तेस्रो राष्ट्रिय सम्मेलनका अवसरमा संघका केन्द्रीय सदस्य समेत रहेका आचार्यलाई विशेष राष्ट्रिय शैक्षिक सम्मान प्रदान गरेको संघका अध्यक्ष सुदाम प्रसाद गौतमले जानकारी दिए। जनकपुरमा आयोजित कार्यक्रममा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले सो सम्मान प्रदान गरे ।नेपालको सामुदायिक विद्यालय शिक्षाको शैक्षिक गुणस्तर अभिवृद्धी, शैक्षिक सुशासन तथा संस्थागत नेतृत्वमा पुर्याएको योगदान स्वरुप सम्मान प्रदान गरिएको संघले जनाएको छ । सम्मानित आचार्यले गतबर्ष देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापक मध्येबाट उत्कृष्ट प्रधानाध्यापक अवार्ड समेत प्राप्त गरेका थिए । सम्मानपछि प्रधानाध्यापक आचार्यले यो सम्मान आफ्नो मात्र नभई शिक्षा क्षेत्रमा खट्टिने सम्पुर्ण शिक्षकहरुको भएको बताए । उनले संघले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा समेत गरे ।

वि.सं. २०५२ सालमा शिक्षण पेसा सुरु गरेका आचार्य २०६० मा विन्ध्यवासिनी मावि प्रवेश गरेका थिए । उनी विगत एक दशकदेखि प्रधानाध्यापकको जिम्मेवारीमा छन् । उनको कार्यकालमा सो विद्यालय विसं २०७९ मा नेपाल सरकारको गुणस्तर मापन केन्द्रको सर्वेक्षणमा देशभरकै सामुदायिक विद्यालयमध्ये प्रथम हुन सफल भएको थियो । त्यस्तै विसं २०८० मा गण्डकी प्रदेशमा प्रथम र पूर्वाधारका आधारमा देशभरमै दोस्रो भएको थियो । उनको नेतृत्वमा विद्यालयले राष्ट्रिय शिक्षा पुरस्कार र प्रदेश शिक्षा पुरस्कार समेत प्राप्त गरिसकेको छ ।

यसैबिच संघको रिक्त गण्डकी प्रदेश सचिवमा पृथ्वीनारायण मावि, धम्पुसका प्रधानाध्यापक बुद्धिबहादुर मिजार चयन भएका छन् ।तीन दिनसम्म संचालन भएको संघको सम्मेलन शनिबार सम्पन्न भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।