पेस्तोल र वन्यजन्तु सामग्रीसहित तनहुँमा एक जना पक्राउ


     एभरेस्ट आवाज    
     कार्तिक ५ गते २०७७ मा प्रकाशित




अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित र आङ्तकित पार्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्लाको बन्दीपुर गाउँपालिका–६ का ४० वर्षीय अशोक गुरुङ रहेका छन्।
प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बन्दीपुर र इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिगएको प्रहरी टोलीले दुई थान पेस्तोलसहित उनलाई घरबाट मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए।

उनका अनुसार गुरुङको घरबाट प्रहरीले दुई थान पेस्तोल सहित वन्यजन्तुसँग सम्बन्धित सामग्री बरामद गरेको छ। घरभित्र लुकाई राखेको अवस्थामा ९ एमएमको अटो पेस्तोल, ७.५ इन्च लम्बाई र ५.५ चौडाई भएको म्याग्जिन र सोही म्याग्जिनमा रहेको एक राउण्ड गोली, ७ इन्च लम्बाई र ५ इन्च चौडाई भएको म्याग्जिनसहितको एक थान पेस्तोल बरामद गरिएको प्रनाउ तिमिल्सिनाले जानकारी दिए।

त्यसैगरी, दुईवटा सुटकेशभित्र लुकाइछिपाइ राखेको अवस्थामा पाँचवटा विभिन्न वन्यजन्तु सामग्री बरामद गरेको छ। विभिन्न आकारका लम्बाइ, चौडाई भएका छालाजस्तो देखिने वस्तु पानको पात आकारमा बिचमा ॐ लेखेको ५.५ इन्च लम्बाई चार इन्च चौडाई भएका एक थान वस्तु बरामद गरेको हो।

त्यसैगरी जङ्गली जनावरको छालाजस्तो देखिने छ इन्च लम्बाई, २.५ इन्च गोलाईको वस्तु एक थान र जङ्गली जनावरको छालाजस्तो देखिने सात इन्च लम्बाई र १.५ इन्च गोलाइ भएको वस्तु एक थान बरामद गरेको छ। त्यस्तै जङ्गली जनावरको छालाजस्तो देखिने १० इन्च लम्बाई २.५ इन्च गोलाई भएको वस्तु थान एक र जङ्गली जनावरको छालाजस्तो देखिने ‘भी’ आकारको वस्तु एक थान तथा जङ्गली जनावरको सिङजस्तो देखिने एक फिट लम्बाई, फेद गोलाइ ४.५ इन्च र टुप्पाको गोलाई एक इन्च भएको वस्तु एक थानसहित बरामद गरेको प्रहरीले जनाएको छ।

त्यसैगरी जङ्गली जनावरको सिङजस्तो देखिने एक फिट तीन इन्च लम्बाइ फेदको गोलाई तीन इन्च, टुप्पोको गोलाई १.५ इन्च भएको वस्तु एक थान पनि प्रहरीले बरामद गरेको छ। सोही सुटकेशको साइड गोजीमा प्लाष्टिकमा पोका पारी राखेको ५० ग्राम गाँजाजस्तो पदार्थसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।