दशैंको टीकाको उत्तम साईत पूर्वाह्न १० बजेर १९ मिनेटमा


     एभरेस्ट आवाज    
     कार्तिक ८ गते २०७७ मा प्रकाशित




नेपालीको महान चाड बडादशैंको मुख्य दिन बिजयादशमीको अवसरमा लगाईने टीकाको उत्तम साईत १० बजेर १९ मिनेट रहेको नेपाल पञ्चाङ्ग निर्णाय समितिले जनाएको छ । यस वर्ष बडादशैंको मुख्य दिन बिजयादशमी कात्तिक १० गते परेको छ । कात्तिक १० गते पूर्वाह्न १० बजेर १९ मिनेटमा टीकाको शुभ साईत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले बताए । उनका अनुसार टीकाकै दिन पूर्वाह्न १० बजेर ११ मिनेटमा देवी विसर्जनको उत्तम साईत रहेको छ ।
विजयादशमीमा साइत नै खोजेर टीका लगाउनेका लागि पूर्वाह्न १०ः१९ मा उत्तम साईत रहेपनि त्यसपछिको अन्य समयमापनि टीका लगाउन मिल्ने प्रा.डा.गौतमले बताए । “आर्यावर्त क्षेत्रका राज्य सञ्चालकले अनिवार्यरूपमा शुभ साइतमा देवीको प्रसाद लगाउनुपर्ने शास्त्रीय वचन छ, आर्यावर्त क्षेत्रमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, भूटान, बर्मालगायत देश पर्छन्, यी देशका शासकले देवीको आशीर्वाद लिएर राज्य सञ्चालन गरे शान्ति र सुशासन दिनसक्ने शास्त्रीय मान्यता छ”, उनले भने ।
विजयादशमीका दिन घटस्थापना गरिएको घडाको जलले अभिषेक गरी मान्यजनबाट जमरासहित देवीको प्रसाद लगाउने परम्परा रहेको छ ।
नेपालमा केहि स्थानमा बिजयादशमीको दिन मात्र टीका लगाउने प्रचलन रहेपनि अन्य धेरै स्थानमा कोजाग्रत पूर्णिमाका दिनसम्मै मान्यजनबाट टीकासहित आशीर्वाद लिइने चलन रहेको छ ।
टीकाकै दिन बिहान ८ः४७ बजे तुलजा भवानीको यात्रा गराउने साइत जुरेको पञ्चाङ्ग समितिले जनाएको छ । तुलजा भवानीलाई स्थिर आसनमा राख्ने साइत भने बिहान ९ः४९ बजेको छ । खड्गयात्रासमेत यसैदिन गर्ने प्रचलन रहेको छ ।
नेपालीको महान पर्व बडादशैंको अन्तिम दिन अर्थात कोजाग्रत पूर्णिमा यस वर्ष कात्तिक १४ गते शुक्रबार परेको छ । त्यस दिन रातभर जाग्राम बसेर धनधान्यकी देवी महालक्ष्मीको विशेष पूजा आराधना गरेमा धनधान्य प्राप्त हुने जनविश्वास रहिआएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।