पोखराको बाटुलेचौरमा परम्परागत रुपमा हुँदै आएको तीज मेलाले यस बर्ष पनि निरन्तरता पाउने भएको छ ।
नेपाली नारीको महान पर्व हरितालिका तीजको अवसरमा यही भदौं २७ देखि २९ गतेसम्म मेला आयोजना गर्न लागिएको आयोजक मौलिक कला, संस्कृति संरक्षण समिति, पोखरा–१६ ले जानकारी दिएको छ । तीन दिनसम्म बाटुलेचौरस्थित ऐतिहासिक खेल मैदानमा संचालन हुने मेलामा मौलिक तीज गीत प्रस्तुतिसहित पोखरा महानगरभित्रका वडाको सहभागितामा पुरुष भलिबल प्रतियोगिता, महिला दौंड, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, खुल्ला ठेलो हान्ने, घैंटो फुटाउने, डोरी तान्ने प्रतियोगिताका साथमा बिबिध सांस्कृतिक कार्यक्रम आयोजना गरिने समितिका अध्यक्ष एवं मेला संयोजक सुवासबाबु अधिकारीले जानकारी दिए । नेपाली मौलिक कला, संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले मेलालाई निरन्तरता दिईएको उनले बताए ।
मेलाको तयारीका लागि आन्तरिक छलफललाई तिब्रता दिईएको र प्रस्तावनालाई तयार पारिएको संयोजक अधिकारीले बताए । मेला बाटुलेचौरको मात्र नभई सम्पुर्ण पोखरेलीको गौरब भएकाले पनि यसलाई सफल बनाउन सबैको सहयोग उपलब्ध हुने उनले विश्वास व्यक्त गरे । तीजलाई केवल मनोरञ्जनको पर्वका रूपमा मात्र नभई मौलिक संस्कृति, लोकगीत, लोकनृत्य, भेषभूषा तथा परम्पराको संरक्षण गर्ने अवसरका रूपमा मनाउने उद्देश्य समेत रहेको सचिव कमल तिमिल्सीनाले बताए । मेलाका लागि पत्राचार देखि उपसमितिलाई पुर्णता दिने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्नुका साथै स्थानीय कलाकार तथा प्रतिभाहरूलाई आफ्नो कला प्रस्तुत गर्ने महत्वपूर्ण अवसर मेलाले प्रदान गर्ने उनले बताए ।
बाटुलेचौर परम्परागत तीज गीत र भलिवल खेलका लागि प्रसिद्ध रहेको हुँदा पनि यस पटक अन्तर वडास्तरीय पुरुष भलिबललाई निरन्तरता दिईएको खेलकुद संयोजक बलराम तिमिल्सीनाले जानकारी दिए ।खेल संचालनका लागि बिभिन्न खेल संस्थासँग समन्वय भईरहेको उनले बताए । मेलालाई केन्द्रित गरी सरसफाई तथा खेल स्थलको व्यवस्थापन समेत भईरहेको समितिले जनाएको छ ।मेला सम्पन्न गर्न अधिकारीको संयोजकत्वमा मुल आयोजक समिति र बिभिन्न उपसमिति गठन गरिएको छ ।
लामो समयसम्म हिमालय क्लबले संचालन गरेको मेला केही बर्ष नागरिक समाज र पछिल्लो बर्ष वडाको समन्वयमा आयोजना भएको थियो ।१५ औं शताब्दिमा तत्कालिन राजा कुलमण्डन शाहकै पालादेखि त्यस क्षेत्रमा सामुहिक रुपमा जम्मा भई तीज गीत प्रस्तुत गर्ने प्रचलन रहेको जानकारहरु बताउँछन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको बाटुलेचौरमा परम्परागत रुपमा हुँदै आएको तीज मेलाले यस बर्ष पनि निरन्तरता…





