तेस्रो पर्वतीय खुला दौडको तयारीस्वरूप हाइकिङ सम्पन्न, रानीवनमा व्यवस्थित पैदलमार्ग निर्माण हुने


     एभरेस्ट आवाज    
     भाद्र ६ गते २०८३ मा प्रकाशित




पोखरा, भदौ ६
तेस्रो संस्करणको पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिताको पूर्वतयारी तथा पुम्दी–भुम्दी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले शनिबार हाइकिङ कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा भएको ८ किलोमिटर हाइकिङ पोखरा–१७ स्थित माछापुच्छ्रे बिम्ब पार्क ड्यामसाइडबाट सुरु भई रानीवन, पुम्दीकोटस्थित विशाल महादेवको मूर्ति हुँदै नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको ‘ड्रिम सिटी’मा पुगेर सम्पन्न भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष हिमलाल बरालले पुम्दी–भुम्दी क्षेत्रको पर्यटन विकास तथा पर्वतीय दौड प्रतियोगितालाई वडाले निरन्तर सहयोग गर्दै आएको बताए । ड्यामसाइडदेखि रानीवन हुँदै पुम्दीकोटसम्म व्यवस्थित पैदलमार्ग निर्माणको काम अघि बढिरहेको उनले जानकारी दिए ।
‘योजनाको टेन्डर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । एडिबीको सहयोगमा पैदलमार्गसँगै विभिन्न स्थानमा प्रतीक्षालय, रेलिङलगायतका भौतिक संरचना निर्माण गरिनेछ,’ उनले भने ।
ड्यामसाइडदेखि पञ्चासे क्षेत्रसम्म करिब २७ किलोमिटर फुटट्र्याक निर्माण गर्ने योजनाअन्तर्गत हालसम्म करिब ७ किलोमिटर पदमार्ग निर्माण भइसकेको उनले बताए ।
गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव टंकप्रसाद ढकालले खेल पर्यटनले पर्यटकको पोखरा बसाइ अवधि लम्ब्याउन महत्वपूर्ण भूमिका खेल्ने बताए । पर्वतीय दौड प्रतियोगितालाई मन्त्रालयले विगतदेखि नै सहयोग गर्दै आएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताए । यस्ता गतिविधिले स्थानीय उत्पादन तथा वस्तुको समेत प्रवद्र्धन हुने उनको भनाइ थियो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखराका अधिकांश डाँडाकाँडा आफैंमा पर्यटकीय सम्भावना बोकेका क्षेत्र भएको बताए । गाउँ पर्यटनको विकासका लागि पदयात्रा र पर्वतीय दौडजस्ता गतिविधि महत्वपूर्ण हुने उनले उल्लेख गरे ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका कार्यक्रम अधिकृत युवराज गुरुङले आगामी दिनमा टुक्रे योजना र भौतिक पूर्वाधारभन्दा देखिने किसिमका कार्यक्रम तथा पर्यटन प्रवद्र्धनमा जोड दिने नीति बोर्डको रहेको बताए ।
नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेलले पर्वतीय दौडले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए । पुम्दीकोट कोट विकास समितिका कोषाध्यक्ष चण्डिका बरालले प्रतियोगिता सफल पार्न समिति आवश्यक समन्वय र सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।
ड्रिम सिटीका सञ्चालक युवा व्यवसायी राजु बरालले करिब ३० जनालाई प्रत्यक्ष रोजगारी दिएर पुम्दीकोट आउने पर्यटकलाई थप केही घण्टा सो क्षेत्रमा रोक्ने वातावरण निर्माण गर्न सफल भएको बताए । विभिन्न आकर्षण अवलोकनका लागि प्रतिव्यक्ति ३५० रुपैयाँ शुल्क लिने गरिएको उनले जानकारी दिए ।
पोखरा–२२ पुम्दीकोटमा करिब १४ रोपनी क्षेत्रफलमा फैलिएको ड्रिम सिटीमा अम्ब्रेला पार्क, हट एयर बलुन फोटो बुथ, ग्लास स्काईवाक, पिङ, स्विङ तथा रेष्टुरेन्टलगायतका संरचना छन् । यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे र धौलागिरि हिमाल, फेवाताल, विश्वशान्ति स्तूप तथा कालाबाङ घरेडी बुद्धपार्कलगायतका दृश्य अवलोकन गर्न सकिन्छ ।
कार्यक्रम संयोजक तथा पोखरा प्रवद्र्धन केन्द्रका अध्यक्ष दिननाथ बरालले असोज १० गते शनिबार आयोजना हुने तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिताको तयारीस्वरूप हाइकिङ आयोजना गरिएको बताए ।
उनका अनुसार प्रतियोगितामा खुलातर्फसहित विभिन्न छवटा इभेन्टमा प्रतिस्पर्धा हुनेछ । पुम्दी–भुम्दी क्षेत्रका प्रमुख पर्यटकीय गन्तव्यलाई जोड्दै विश्वशान्ति स्तूपबाट सुरु हुने मुख्य दौड विशाल महादेवको मूर्ति, पोखरा–२२ को वडा कार्यालय हुँदै हालै निर्माण भएको कालाबाङ घरेडी बुद्धपार्कसम्म करिब ८ किलोमिटर दूरीमा सञ्चालन हुनेछ ।
गत वर्षको प्रतियोगितामा सात देशका १६७ जना धावक सहभागी भएका थिए । यस वर्ष पनि स्वदेश तथा विदेशका धावकलाई सहभागी गराउने तयारी भइरहेको पोखरा प्रवद्र्धन केन्द्रका सचिव सागर सुनारले बताए ।
पोखरा प्रवद्र्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले प्राकृतिक सम्पदामा मात्र निर्भर भएर पर्यटन व्यवस्थापन गर्न कठिन हुने बताए । पर्यटनलाई दिगो रूपमा अगाडि बढाउन नयाँ आयाम थप्दै मानव निर्मित पर्यटकीय गन्तव्यसँगै हाइकिङ तथा पदमार्गलाई व्यवस्थित गर्नुपर्ने उनको भनाइ थियो ।
पुम्दी–भुम्दी क्षेत्रलाई धार्मिक पर्यटनसँगै गाउँ पर्यटन, पदयात्रा, खेल पर्यटन र मनोरञ्जनको वैकल्पिक गन्तव्यका रूपमा विकास गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने उनले बताए ।
हाइकिङ कार्यक्रमको उद्घाटन पोखरा–२२ का वडाध्यक्ष हिमलाल बराल, पोखरा–१७ का वडाध्यक्ष राधिका कुमारी शाही र गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री रामजीप्रसाद बरालले संयुक्त रूपमा गरेका थिए । हाइकिङ कार्यक्रमलाई सफल पार्न ड्रिम सिटी तथा नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले सहयोग गरेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य प्रकाश बराल, टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य, होटल सङ्घ पोखराका लक्ष्मण सुवेदी, पोखरा भ्रमण वर्षका निवर्तमान संयोजक गोपीबहादुर भट्टराई, पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरिया, हाइकर्स क्लबका अध्यक्ष कृष्ण रानाभाट, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगर, ड्रिम सिटीका सञ्चालकमध्येका एक श्यामकुमार बजगाईंसहित पर्यटनकर्मी, सञ्चारकर्मी तथा स्थानीयको सहभागिता थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।