विश्व बन्धुत्व दिवसको अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय पोखरामा १६२ युनिट रक्तदान


     एभरेस्ट आवाज    
     भाद्र ७ गते २०८३ मा प्रकाशित




पोखरा। राजयोगिनी डा. दादी प्रकाशमणि जीको १९औँ पुण्य स्मृति दिवस तथा विश्व बन्धुत्व दिवसको अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल क्षेत्रीय कार्यालय, फूलबारी, पोखरामा विशाल रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

भारत तथा नेपालका विभिन्न ब्रह्माकुमारी सेवाकेन्द्रहरूमा भाद्र ५ गतेदेखि ९ गतेसम्म सञ्चालन भइरहेको रक्तदान अभियानअन्तर्गत भाद्र ६ गते पोखरामा आयोजित कार्यक्रममा १६२ युनिट रक्त संकलन भएको हो।

“रक्तदान गरौँ, जीवन बचाऔँ, मानवतामा विश्व बन्धुत्वको भावना जगाऔँ” भन्ने मूल भावनाका साथ आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङ सहभागी हुनुभएको थियो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका निवर्तमान सभापति दण्डराज शर्मा, पूर्वी उत्तर प्रदेश (बनारस) क्षेत्र तथा पश्चिम नेपाल सबजोन प्रमुख परम आदरणीय राजयोगिनी ब्र.कु. परिणीता दिदी, महासचिव राजयोगी ब्र.कु. शैलेषराज बराल, तथा वरिष्ठ राजयोगिनी सावित्री दिदीको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन राजयोगी ब्र.कु. शंकर तथा राजयोगिनी ब्र.कु. शोभा दिदीले गर्नुभएको थियो।

सोही अवसरमा ब्रह्माकुमारीजकी नियमित विद्यार्थी बी.के. लीला रानाका दिवंगत भ्राता होमबहादुर रानाको श्रद्धाञ्जली कार्यक्रम तथा ब्रह्माभोजनसमेत आयोजना गरिएको थियो।

त्यसै दिन गण्डकी प्रदेशमा ब्रह्माकुमारीज संस्थासँग आबद्ध दाजुभाइ तथा दिदीबहिनीहरूबीच पवित्र रक्षाबन्धन तथा तीज स्नेह मिलन समारोह पनि भव्यताका साथ सम्पन्न भयो।

रक्तदानमार्फत मानव सेवा, श्रद्धाञ्जलीमार्फत आत्मिक स्मरण, ब्रह्माभोजनमार्फत शुभभावना तथा रक्षाबन्धनमार्फत पवित्र बन्धुत्वको सन्देश प्रवाह गर्दै कार्यक्रमले सेवा, स्मरण, सद्भाव र विश्व बन्धुत्वको सुन्दर संगम प्रस्तुत गरेको आयोजकले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।