सिमाविद आदरणीय बुद्दि नारायण श्रेष्ठज्यूले कालापानी, लिपुलेक, र लिम्पियाधुरालाई “ग्रेटर कालापानी” (बृहत कालापानी) भन्न सुरु गरेको कुरा प्रति म लगायत धेरै जनाको गम्भीर ध्यानाकर्षण भएको छ। उहाँ समक्ष म केहि बुंदाहरु पेश गर्न चाहन्छु, र यी बुंदाहरुलाई कृपया उहाँसम्म पुर्याइदिनुहुन अनुरोध छ।
१) कुनै पनि देशले अतिक्रमण गरेको अर्को देशको क्षेत्रलाई कुनै एक जना मानिसको व्यक्तिगत इच्छा, आकांक्षा, रहर वा लहडमा नयाँ नामकरण गर्न मिल्दैन। जुन क्षेत्रको बिषयमा नेपाल-भारत बीच लामो समयदेखि बिबाद रही आएको छ र अहिले यो मामिलाको बिषयमा नेपाल-भारतबिचको वार्ता अवरुद्द भएको छ, यहि बेला यो ऐतिहासिक ठाउँको नयाँ नामकरण षडयन्त्रमुलक ढंगमा आएको आशंका छ यद्दपी त्यस्तो नहोला।
२) कुनै ठाउँको नामाकरण रहरको भरमा भएको हुदैन। ऐतिहासिक तथ्य, प्रमाण, बिशेषता, एउटा लामो डीश्कोर्ष पार गरेर त्यो ठाउँको चिनारीको रुपमा हरेक ठाउँको नामाकरण गरिएको हुन्छ। नामाकरण गर्दा त्यो क्षेत्रसंग सम्बन्धित हरेक साझेदारहरुसंगको छलफल, बहस, राज्यसंगको छलफल, बहस, यसको सम्भावीत सकारात्मक र नकारात्मक परिणाम, यसको उपादेयिता, एउटा लामो अनुसन्धानको आधारमा हुनुपर्ने हो तर आफ्नो नातीको वा छोराको ‘टाइटल नाम’ राखे जस्तो गरि ऐतिहासिक स्थलको नामाकरण गर्नु गलत छ।
३) भारतीय खुफिया संस्था'”रअ”‘ का प्रमुख सामन्त गोयलले नेपाल भ्रमण गरेको समयसंग आदरणीय बुद्दि नारायण सरले उक्त क्षेत्रको नामकरण गरेको समय मिल्नु साएद संयोग नै होला भन्ने ठानौ तर यसले अनेक आशंका पैदा गरेर ल्याएको छ कि यतिबेला नै वा “रअ” का प्रमुख ले नेपाल भेटेर गएको र भारतीय सेना प्रमुख नेपाल आउदै गरेको समयसँग यो नयाँ नामाकरणको समय कसरि जुध्न पुग्यो? प्रश्न जायज हुनसक्छ ।
४) नेपाल-भारत सिमा वार्ता अवरुद्द भएको, भारतले राजनीतिक र कुटनीतिक तहमा वार्ता गर्न नचाहेको, उसले सेक्रेट एजेन्सीलाई प्रयोग गरेर नेपालमा आफु अनुकुलको ‘एजेन्डा सेटिंग’ र ‘इस्यू’ को उठान गर्न खोजेको परिबेशमा उक्त क्षेत्रको नयाँ नामाकरणमा गम्भीर आशंका पैदा भएको छ।
५) लिपुलेक र लिम्पियाधुरा आसपासका नागरिकले आफ्नो ऐतिहासिक चिनारी, बिरासत, बिशेषतालाई तिलाञ्जली दिएर आदरणीय बुद्दि नारायण सरले गरिदिएको न्वारनलाई स्वीकार गरि ‘बृहत कालापानी’ भनिने क्षेत्रमा कसरि समेटिएलान? आफ्नो पहिचान गुमाउन को नागरिक तयार रहला?
६) अतिक्रमित भूमिको नामाकरण गर्दा अतिक्रमणमा संलग्न देशका र अतिक्रमणमा परेको देशका अन्य कैयौं बुद्दिजीवीहरुको अनुसन्धान र सो देशको धारणा महत्वपूर्ण होला कि नहोला?
७) अतिक्रमित भुमिलाई शान्तिपूर्ण कुटनीतिक वार्ताको माध्यमबाट समाधान गर्ने गरि नेपालले पहल सुरु गरिरहदा भोली वार्ताको क्रममा भारतले ‘कथित बृहत कालापानी’ को हवाला दिएर एउटा नक्कली स्थान खडा गर्ने र इस्स्यू डाइभर्ट गर्ने खतरा रहला कि नरहला?
८) कुटनीतिक वार्ताको क्रममा द्वन्दरत पक्षहरुले खोज्ने र टेक्ने भनेको ऐतिहासिक प्रमाणहरु नै हुन्। भोली हुन सक्ने वार्तामा ‘बृहत कालापानी’ संग सम्बन्धित ऐतिहासिक प्रमाणहरु पेश गर्नु पर्ने हुन्छ। त्यसो हुदा आदरणीय श्रेष्ठज्यूले उक्त बृहत कालापानी सम्बन्धि ऐतिहासिक तथ्य र प्रमाणहरु कसरि नेपाल सरकारलाई उपलब्ध गराउनुहुन्छ ? ‘बृहत कालापानी’ दक्षिण एसियाको नक्सामा कहाँ छ र कहाँ निर देखाउन सक्नुहुन्छ?
९) उहाँले बृहत बेइजिङ्ग, विश्वका थुप्रै बृहत शब्द जोडिएका ठाउँहरुको उदाहरण पेश गर्नु भएको छ। ती ठाउँहरुको आफ्नै ऐतिहासिक महत्व, बिशेषता र चिनारी सहित कति अनुसन्धान र प्रकाशन भएको छ, विश्वका कति विद्वानहरुले उक्त ठाउँको बिषयमा अनुसन्धानमुलक रचना तयार गर्नुभएको छ भन्ने कुरा तिर पनि ध्यान दिदा राम्रो होला। फेरी उक्त देशहरुको greater location कुनै व्यक्तिले भन्दा तथ्य, प्रमाण र राज्यको आवश्यकता, भूमिका र अगुवाईले गरेको हो। एउटा व्यक्तिले होइन, तथापि मेरो आदरणीय सरप्रति उच्च सम्मान छ।
१०) मूल बिषय भनेको बृहत कालापानीले लिम्पियाधुरा, लिपुलेक र कालापानी स्वयमको पनि तथ्य र प्रमाणलाई कम्जोर बनाउने छ। भारतले भन्ने छ कि”तिमीहरुले क्लेम गरेको बृहत कालापानी कुनै पनि ऐतिहासिक दस्ताबेज वा नक्सामा देखाउ”। अनि हामीले यो बृहत कालापानी लाई दक्षिण एसियाको कुन चाही नक्सामा देखाउने?
११) त्यसैले आदरणीय बुद्दि नारायण सर, यहाँप्रति मेरो उच्च सम्मान हुदा-हुदै पनि यहाँले प्रयोग गरेको शब्द प्रति बास्तबमै आपत्ति छ। यहाँको लेबलको मान्छेले आफु भन्दा उमेरमा साना मानिसहरुप्रति सहनशीलता प्रदर्शन गर्नुपर्छ र उनीहरुका कुरा पनि सुन्नुपर्छ। मैले भोली हामीले भोग्न सक्ने परिणामको बिषयमा आकलन गरेर लेखें। त्यसैले यो बृहत कालापानीको बहस कृपया यहि रोकौं, हजुर प्रति लाग्न सक्ने आरोपबाट बच्नुहोस् । मेरो सुभेक्षा छ यहाँप्रति। बाँकी यहाकै मर्जी।
(साभार: अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति बिषयमा पि.एच्. डि.स्कलर Hari Chand – Agnipunja को फेसबुक वालबाट)
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।