तनहुँको शुक्लागण्डकी नगरपालिकाले बजार क्षेत्रमा लकडाउनको घोषणा गरेको छ।
कोरोना भाइरसको संक्रमण समुदायस्तरमा तीव्रगतिमा फैलिएपछि बुधबार दिउँसो बसेको नगर कार्यपालिका बैठकले बुधबार राति १२ बजेदेखि आगामी मंगलबार रातिसम्म लकडाउन गर्ने घोषणा गरेको हो।
यस अवधिमा नगर क्षेत्रमा राजमार्गसँग जोडिएको बजारसँगै ढोरफिर्दी र साँखे बजारसमेत बन्द रहनेछ।
अत्यावश्क सेवामा पर्ने स्वास्थ्य, सरसफाइ र विपद् व्यवस्थापन बाहेक बैंक तथा वित्तीय संस्था, सामाजिक संघसंस्था, सार्वजनिक र निजी संस्थान, उद्योग कलकारखाना र यातायातले दिने सेवा बन्द हुनेछन्।
‘पूर्व निर्धारित कक्षा ११ को परीक्षा भने सञ्चालन हुनेछ । परीक्षा सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना हुनुपर्नेछ।
नगरपालिकाले अत्यावश्क कामबाहेक घरबाट बाहिर ननिस्कन नगरबासीलाई सचेत गराएको छ। मास्क लगाउने, समूहमा हिँडडुल नगर्ने, भौतिक दूरी कायम गर्ने र धार्मिक तथा सामाजिक कार्यका लागि भेला नहुन भनिएको छ।
शुक्लागण्डकीको मुख्य व्यापारिक केन्द्र दुलेगौँडा बजारमा कोरोनाको संक्रमण भित्रभित्रै फैलिएपछि जनस्तरबाट लकडाउन गर्न आवाज उठेको थियो।
स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार शुक्लागण्डकीमा १ सय ४६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने १ सय १० जना कोरोनामुक्त भएपछि हाल सक्रिय संक्रमितको संख्या ३६ छ भने २ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
उता जिल्लाकै म्याग्दे गाउँपालिका पनि मंगलबारदेखि बन्द रहेको छ। कर्मचारी र जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबारसम्म गाउँपालिकाको कार्यालय, वडा कार्यालय, गाउँपालिका क्षेत्रमा सञ्चालित संस्थागत र सामुदायिक विद्यालयसँगै सेवा प्रदायक संस्थाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा पूर्ण रुपमा बन्द छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाली कांग्रेसका नेता कृष्ण केसीले पार्टी विभाजित नभएको स्पष्ट पारेका छन् ।…






