नेवार समुदायले भाईटीका (किजापूजा) मंसीर २ गते लगाउने


     एभरेस्ट आवाज    
     कार्तिक २० गते २०७७ मा प्रकाशित




नेवार समुदायले यस वर्षको भाईटीका (किजापूजा) मंसीर २ गते लगाउने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाईटीका मंसीर १ गते भनेर सार्वजनिक गरेपनि नेवार समुदायले मंसीर २ गतेमात्र लगाउने भएको हो ।

नेवा खलःकास्कीले नेवार समुदायमा अपिल गर्दै आफू मातहतका सम्पूर्ण कचा खलःहरुलाई मंसीर २ गतेमात्र भाईटीका लगाउन आग्रह गर्दै अपिल जारी गरेको छ । नेवा खलः कास्कीका महासचिव सुविन्द्र श्रेष्ठद्वारा जारी विज्ञप्तीमा एकरुपताका साथ टीका लगाउन नेवार समुदायलाई आग्रह गरिएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाईटीका लगाउन भनेको दिन मंसीर १ गते नेवार समुदायले म्हःपूजा गर्ने भएको छ । नेवा खलःले कात्तिक ३० गते लक्ष्मी पूजा, मंसीर १ गते म्हःपूजा र २ गते भाईटीका लगाउने निर्णय नै गरेको नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए ।

नेवारी परम्परा अनुसार नै भाईटीकाको मिति सार्वजनिक गरिएको अध्यक्ष पालिखेले बताए । स्वन्ती भनेको ३ दिन हो,‘उनले भने,‘यो अनुसार औंसीको साँझ लक्ष्मी पूजा, परेवा तिथिको दिन म्हः पूजा र द्वितीया तिथिको दिन भाईटीका गर्ने सँधैको परम्परा नै हो ।’ उनले तिथि र साईत हेरेर पञ्चाङ्ग निर्णायक समितिले भाईटीकाको मिति मंसीर १ गते गरेका कारण अन्य समुदाय र नेवार समुदायको भाईटीका फरक परेको बताए । तर परम्परा र संस्कृति अनुसार भाईटीका गर्नु नै राम्रो भएकाले यस्तो निर्णय गरिएको उनको भनाई छ ।

पञ्चाङ्ग निर्णायक समितिको निर्णय अनुसार भाईटीका लगाउने हो भने म्ह ः पूजा गर्ने दिन नै नहुने भन्दै उनले परम्परा र संस्कृति अवलम्वन गर्नु सबैको दायित्व र कर्तव्य भएकाले सोहि अनुसार निर्णय गरिएको बताए । कास्की वा गण्डकी प्रदेशमा मात्र नभई देशै भरका नेवारहरुले यस वर्ष मंसीर २ गते भाईटीका लगाउनुपर्ने उनले बताए । नेवा खलः राष्ट्रिय समिति, नेवा तजिलजी दबु र नेवा दे दबुलगायतका सबै नेवार समुदायका संस्थाहरुले यसबारे निर्णय गरेर अपिल जारी गरिसकेको पालिखेले बताए ।

नेवार समुदायले अघिल्लो वर्षपनि पञ्चाङ्ग निर्णायक समितिले भनेको भन्दा १ दिनपछि मात्र भाईटीका लगाएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।