प्रिय समाज,
आज म कोरोना माथि विजयी प्राप्त गरेको योद्धाको रुपमा गर्वका साथ यो पत्र लेखिरहेकी छु । कोहि कसैलाई कोरोना संक्रमण कसरी हुन्छ ? यो प्रश्नको उत्तर संसारमा एउटै छैन, अहिले पनि यो अनुसन्धानकै विषय हो, तथापि केहि सतर्कताका माध्यमहरु छन् जुन प्रयोग गर्ने हो भने केहि हद सम्म संक्रमणबाट बच्न सकिन्छ तर पूर्ण रुपमा सर्दैन नै भनेर ढुक्क भने हुन सकिन्न ।
जीवन गतिशील छ । त्यसैले एकै ठाउँ, समयमा कुँजिएर बस्ने कुरापनि भएन । एक सञ्चारकर्मी, सामाजिक अभियन्ता भएका कारण निरन्तर सकारात्मक परिवर्तनका लागि सर्मपित भएर लाग्नु मेरो कर्तव्य थियो । हो मैले त्यहि गरेँ जुन मैले गर्नै पथ्र्यो । यसको मैले त्यसरी सञ्चार कर्ममा जाँदा होस् वा सामाजिक काममा जाँदा मैले लापर्वाही गरेको पटक्कै होईन । मैलेपनि कोरोनाबाट बच्नका लागि आफ्नो जानकारीमा रहेका हरेक सावधानीहरु जस्तैः मास्क लगाउनु, साबुन पानीले पटक पटक हात धुनु, नाक र मुखमा हात नपुर्याउनु जस्ता स्वास्थ्य प्रोटोकल सम्बन्धी सावधानी अप्नाएकै हो । मैले त्यसरी सावधानी अप्नाउँदा अप्नाउँदै पनि म कोरोनाबाट बच्न सकिन । मलाई एक्कासी स्वाद र गन्ध नआउने लक्षण देखिएपछि परीक्षण गराउँदा मलाई कोभिड पोजिटिभ पुष्टि भयो ।
तर कोरोनाजस्तो महामारी लडिरहँदा मलाई समाजले हेर्ने दृष्टिकोण फरक भयो । मलाई सहयोग गर्नुपर्नेमा उल्टो हेला गर्ने, लाञ्छना लगाउनेजस्ता घृणित कार्यहरु भए । जसका कारण म आज मेरो प्रिय समाजलाई भन्न बाध्य छु, ‘प्रिय समाज, कोरोना भन्दा खतरनाक त तिमी पो रहेछौ । अझ भनौं कोरोना भन्दा खतरनाक र डरलाग्दो त हाम्रो मानसिक स्थिति पो रहेछ ।
मपनि तिमीजस्तै सामाजिक प्राणी हुँ, मलाईपनि कोरोनादेखि डर लाग्छ र लाग्थ्यो । मपनि यसबाट जोगिन चाहन्थेँ । तर परिस्थितिले पोजिटिभ बनायो । जब म कोभिड पोजिटिभ भएको खबर पाएँ, मलाई मैले टेकेको धर्ती भासिएको महसुस भयो । तर पनि संसारकै तथ्यांकले प्रति एक लाखमा ९०५ भन्दा बढी र नेपालकै तथ्यांक अनुसार प्रति एक लाखमा ८०५ भन्दा बढी कोरोना संक्रमित निको भइरहेको जानकारी रहेकाले म यो रोगलाई जित्न सक्छु भन्ने आत्मविश्वास भने दृढ भयो । मैले सोही अनुसार घरेलु उपचार पनि सुरु गरेँं । मैले योग गर्न सुरु गरेँ । चिकित्सकले दिनु भएको फोर्टीफेलेक्स, भिटामिन सी नियमित रुपमा लिन थालेँ । आफुलाई नितान्त एकान्तवासमा केन्द्रित गरेँ । त्यसपछि जलनेथि प्रक्रियालाई मैले अनुसरण गर्न थाले । यसले स्वास्थ्यमा सकरात्मक प्रभाव पारेको जस्तो अनुभुति हुन थाल्यो । अन्ततः मैले १३ औ दिनमा कोरोनालाई जिती छाडेँ । भनिन्छ हरेक अप्ठ्यारो अवस्थाले हामीलाई सकारात्मक कुरा पनि सिकाउँछ । कोरोनाले मेरो जीबन जिउने चाहना, समाज परिवर्तनको लागि केहि गर्ने चाहना र संघर्षप्रतिको मेरो लगावलाई अझ बलियो बनाईदियो ।
कोरोना संक्रमित हुँदाका केहि तिता भोगाई पनि छन्, सायद कोभिड पोजिटिभ नभएकी भए थाहा पाउन्न थिएँ होला । यो भोगाईले जिन्दगीको केहि बुझाईलाई नै परिवर्तन गरिदिएको छ र गहिरो गरी छाप पारेको छ मेरो मनमा । म एक सञ्चार क्षेत्रमै आबद्ध व्यक्ति भएको हुँदा मलाई कोरोना पोजिटिभ भएको कुरा कमसेकम मैले लुकाउन हुन्न र समाजलाई सतर्क रहन मैले मेरो सामाजिक सञ्जालमार्फत आफु कोरोना पोजिटिभ भएको जानकारी दिनुपर्छ भनेर त्यसै गरेँ । यसबाट समाजमा सकारात्मक प्रभाव पर्ला र कोरोनाबाट बच्न सतर्कता अप्नाउला भन्ने साेंच थियो । तर भयो उल्टो, हुन त सुखको बेला त जो पनि सँगै हुन सक्छ, आफ्नो र पराई भन्ने कुरा दुःखको बेला थाहा पाउने मौका पनि हो रहेछ । यो महामारीसँग म जुझी रहँदा हामी सामाजिक प्राणी भएको कारण सदभाव, सहयोग र साथ पाउने आशा थियो । त्यो मैले यहि समाजबाट आशा गरेकी थिएँ । म जन्मेको घर परवार, आफन्त र छिमेकी तथा साथीभाईबाट त्यो अपेक्षा गर्नु मेरो हक नै होजस्तो लाग्छ मलाई । के होईन र ? मैले मात्र होइन, यो संघर्षमा सवैले त्यहिनै खोज्छन्, अपेक्षा गर्छन् । जसरी हामीले ०७२ को भूकम्पको बेला कुनै जात, धर्म, पेशा, लिङ्ग नहेरी एक मानिसले अर्को मानिसलाई एउटा मानवताको नाताले, सामाजिक भावले सहयोग गर्यौ र बिपत्तिसँग जुध्यौं, कोरोनालाई पनि त्यसरी नै लिनुपर्ने हो ।
कोरोना संक्रमितको लागि घाममा बस्नु अति नै महत्वपूर्ण हुन्छ । सोहि कारण प्रत्येक दिन आफ्नै कौशीमा सुरक्षा सावधानीसहित घाम ताप्न जाँदा तिमीले मलाई कोरोना नाम दियौं । कोरोना आयो, कोरोना आयो जस्ता अपशब्द प्रयोग गरिंदाका ती क्षण कोरोनाको पीरले भन्दा तिम्रो लाञ्छनायुक्त बोलीले चित्त दुखाउँथ्यो । जसले गर्दा कोरोना जित्न उद्यत मेरो मनोवल तिम्रो कारण घट्न पुग्थ्यो । मलाई कोरोना आयो भन्ने मात्र नपुगेर तिमीले वडा कार्यालयमा म कोरोना संक्रमित कोठाबाट बाहिर कौसीमा निस्कियो भनेर खबरसमेत पुरयायौ । जसका कारण म मात्रै होईन मेरो पुरै परिवारले विभेद भोग्नु पर्यो ।
कोरोना लाग्नु कुनै पाप गर्नु होइन । यो त ढिलो चाडो सबैलाई हुन्छ । कोरोना महामारीका तेस्रो लहरसम्म हुने गर्दछ । युरोपमा अहिले दोश्रो लहर चली राखेको छ र केहि युरोपेली देशहरुले दोश्रो चरणको बन्दाबन्दी पनि गरेको छ । यसर्थ यो रोग धेरैलाई लाग्ने पक्का छ तर कोरोना लागेका व्यक्तिलाई गरिने दुव्र्यवहारले तिम्रो दरिद्र मानसिकता रहेछ भनेर सोंच्न बनाएको छ ।
प्रिय समाज, आज मैले कोरोनालाई जितेर फेरी पनि लेख्दै छु । म कोरोना होइन । कोरोना लागेकालाई निरुत्साहित होइन, उच्च मनोबलका साथ जीवनप्रति आशावादी बनाउने हो ।
कोरोनाका भ्रम, मिथ्या सूचना प्रवाह गरी डर सिर्जना गर्ने होईन, आशा बाँँढ्ने हो । जे सकिन्छ दिएर नभएपनि मीठो वचन बोलेर वा मुस्कान छरेर कोरोना संक्रमितको हौसला बढाउन सक्दो प्रयास गर्ने हो । अहिलेको समय धृणा, रिस र भेदभावको होइन ,सहयोगी हातहरु बढाउने, मानवताको सम्भावना जगाउने हो । आउनुस हातेमालो गरौं, समाज परिवर्तन गर्ने दृढ संकल्प गरौं ।
तिम्रो सधै हित चिताउने, उही कोरोनालाई जितेको शुभ चिन्तक
लेखक श्रेष्ठ सञ्चारकर्मी÷पत्रकार हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१७ बैशाख, पोखरा ।नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशमा प्रदेश स्तरीय कार्यालय छ…






