अखिल नेपाल ट्रेड यूनियन महासंघ गण्डकीको आरोप : बालेन सरकार गरिबी हटाउनु पर्नेमा गरीब हटाउँदैछ


     एभरेस्ट आवाज    
     वैशाख १७ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, बैशाख १७

अखिल नेपाल ट्रेड यूनियन महासंघ गण्डकी प्रदेशले बालेन सरकार उल्टो बाटो हिंडिरहेको टिप्पणी गरेको छ । महासंघ गण्डकीले १३७ औं अन्र्तराष्ट्रिय मजदुर दिवस (मई दिवस)को अवसरमा विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर बालेन सरकारले गरिबी हटाउनुपर्नेमा गरीब हटाएर उल्टो बाटोमा हिंडिरहेको आरोप लगाएको हो । पुराना दलहरुले केहि गरेन भनेर त्यसको जगमा जनअनुमोदित भएर आएको सरकारले संविधानले ज्ञारेन्टी गर्दै मौलिक हकका रुपमा राखेको गाँस, बास र कपासको व्यवस्था गर्नुपर्नेमा उल्टै उनीहरुको उठीबास लगाउनु दुर्भाग्य भएको अखिल नेपाल ट्रेड यूनियन महासंघ गण्डकी प्रदेशका अध्यक्ष रुद्र गौतमले बताए । उनले भने,‘हटाउनुपर्ने गरिबी थियो तर बालेन सरकारले अहिले गरीब हटाईरहेको छ । पेट्रोलियम पदार्थमा भएको अत्यधिक मूल्य बृद्धि र त्यसका कारण बढेको महङ्गीले जनता बाँच्न नसक्ने अवस्थामा पुगेको बेला श्रमिकहरुको दैनिक जीवन सहज बनाउनुको सट्टा उल्टै सुकुम्बासी हटाउने नाममा गरीब जनताको घर टहरामा डोजर लगाएर जनतालाई सडकमा मर्न बाध्य बनाईनू दुर्भाग्य हो ।’

महासंघ गण्डकीले सरकारलाई आफ्नो प्राथमिकता स्पष्ट पार्न पनि आग्रह गरेको छ । महंगीका कारण जनता आहत भएको तर सरकार आहत जनतालाई राहत दिनुको सट्टा उल्टो सुकुम्बासी बस्ती खाली गर्ने नाममा आहत दिने काममा लागेको उसको आरोप छ । सरकारको प्राथमिकता महंगी नियन्त्रणमा हुनुपर्ने भए पनि त्यसतर्फ ध्यान नगएको अध्यक्ष गौतमको टिप्पणी छ । सरकार आहत जनतालाई राहतको सट्टा उठीबास लगाउँदैछ,उनले सरकारलाई प्राथमिकता स्पिष्ट पार्न आग्रह गर्दै भने,‘गरीब, मजदुरको रोजीरोटीको व्यवस्था गर्ने कि घर भत्काएर लखेट्ने ? सामाजिक सुरक्षा कोषलाई अनिवार्य गरेर मजदुरको हक सुरक्षित गर्ने कि घरबार विहीन बनाउने ? ।’

महासंघ गण्डकीले वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी नहटाउन आग्रह गरेको छ । काठमाडौंमा वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी बस्तीमा डोजर लगाइएको घटनाको घोर भत्र्सना गर्दै उसले आगामी दिनमा त्यस्तो कार्य नदोहो¥याउन चेतावनी दिएको छ । सुकुम्बासी विकासको बाधक कहिल्यै नबन्ने अध्यक्ष गौतमले बताए । हिजो जसले हजारौं विघा जमिन सत्ता र शक्तिको दुरुपयोग गरेर हडपेर धनी बन्यो आज त्यसैले गरीबलाई विकासको बाधक भन्दै डोजर चलाएको उनको आरोप छ । ‘सुकुम्बासी विकासको बाधक हिजो पनि थिएन, आज पनि होईन र भोलि पनि हुँदैन’–उनले भने ।

महासंघ गण्डकीले पोखरा बसपार्कमा रहेका सुकुम्बासी बस्तीबारे पनि आफ्नो धारणा स्पष्ट पारेको छ । पोखरा बसपार्क निर्माणमा सुकुम्बासी बाधक नबन्ने बताउँदै उसले त्यसका लागि पोखरा महानगरपालिकाले बसपार्क निर्माणको ज्ञारेन्टी गर्नुपर्ने तथा सुकुम्बासीलाई वैकल्पिक व्यवस्था गर्नुपर्ने जनाएको छ । महासंघ गण्डकीका अध्यक्ष गौतमले बसपार्क पूर्व निर्धारित २०५ रोपनी क्षेत्रफलमै बन्नुपर्ने र त्यसको ज्ञारेन्टी पोखरा महानगरले गर्नुपर्ने बताए ।

बसपार्क निर्माणका लागि सरकारले २०३२ सालमा २०५ रोपनी क्षेत्रफल छुट्याएको थियो । त्यसबेला पोखराको पृथ्वीचोकको करीब दुई सय मिटर पूर्वपट्टी रहेको सेती डिल किनारबाट पश्चिमतर्फ, पृथ्वी राजमार्ग हाईवेबाट दक्षिणतर्फ, पुरानो एयरपोर्टबाट उत्तरतर्फ र पुरानो ट्राफिक कार्यालयबाट पूर्व तर्फको भाग बसपार्क बनाउनका लागि भनेर छुट्याएकाले त्यो सबै क्षेत्र खाली गरेर बसपार्क बनाउनुपर्नेमा महासंघ गण्डकी रहेको अध्यक्ष गौतमले बताए । सो २०५ रोपनी जमिनमध्ये हाल करीब १९ रोपनीमा मात्रै बसपार्क छ । सत्ता र शक्तिको आडमा त्यहाँको अधिकांश जमिन हडपेर व्यक्तिको नाममा लालपूर्जा बनेको गौतमको दाबी छ । पहिला सो जग्गामा डोजर चलाउनुपर्नेमा महासंघ गण्डकी रहेको उनले प्रष्ट्याए । गरीबको उठीबास लगाउने र धनीले हडपेकोचाहिं छाड्ने कदापी स्वीकार्य नहुने बताउँदै उनले भने,‘हामी बसपार्क बनाउनुपर्छ भन्नेमै छौं । तर बसपार्क कति क्षेत्रफलमा बन्छ र घरटहरा भत्काउन कहाँबाट शुरु गरिन्छ भन्ने हामी हेरिरहेका छौं ।’

महासंघ गण्डकीले सुकुम्बासी बस्ती खाली गर्ने नाममा आतंक सिर्जना गर्ने कार्य बन्द गर्न आग्रह गरेको छ । वैकल्पिक व्यवस्था नगरी पोखरा बसपार्क क्षेत्रमा बसेको सुकुम्बासी बस्ती खाली गर्नेबारे पोखरा महानगरपालिकाको ३५ दिने सूचनाले स्थानियमा आतंक सिर्जना गरेको उनको भनाई छ । बास्तविक सुकुम्बासीलाई वैकल्पिक व्यवस्था गरेर मात्रै त्यहाँ डोजर चलाउन उनको आग्रह छ । अन्यथा महानगरले निकालेको ३५ दिने सूचनाको हदम्याद सकिएको भोलिपल्ट ३६ औं दिनमा आफूहरु पनि दश हजार मजदुर र सुकुम्बासी डोजर लिएर सडकमा निस्किने उनले चेतावनी दिए । तपाईंहरु डोजर देखाएर गरीब, निमुखा जनतालाई देखाएर डर, त्रास देखाउने काम बन्द गर्नूस्,उनले भने,‘डोजर हामीसँग पनि छ, हामीसँग डोजर चलाउने पनि छन् र डोजर पनि छन् । कहाँकहाँ डोजर चलाउनुपर्छ हामीलाई पनि थाहा छ ।’

महासंघ गण्डकीका बरिष्ठ उपाध्यक्ष भोजराज खत्रीले आफूहरु पनि पोखरा बसपार्क बनाउनुपर्ने पक्षमा रहेको बताए । ‘तर त्यहाँ बस्दै आएका भुमिहीन सुकुम्बासीलाई बेहाल र बेघर बनाएर होईन, वैकल्पिक व्यवस्था गरेर बसपार्क बनाईनुपर्छ’–उनले भने ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।