भुजा खाइस्यो हजुर? हुर्कंदै गरेको नवधनिक ,नव संभ्रान्त राजनितीकर्मी ,कर्मचारी उद्यमी ,ब्यबसायी, बिचौलिया ,दलालहरु बिचको थेगो हो यो ।पन्ध्र बर्ष अघि स्याङ्जाको बाॅंदर लडने भिरमा डोको र हॅंसिया मिल्काएर काठमाण्डौमा सुब्बा जागीर खाने खसमको छिंडीको चिसो डेरामा बिना सूचना पुगेकी महिलाले भर्खरै काठमाण्डौ छिरेकी देउरानीलाई फोन गरिछन् ।हेर छोरीको बिहे आंटियो ,टिकोटालोमा तिमिहरुलाइ सम्झन सकिएन ।बिहेमा अल्लि ढंग पुर्याएर आउनु ,उता पक्षका खानदानी परिबारका हुन् भनिछन् ।एउटै सहरमा बसेका भाइ बुहारी पढाइ लेखाइमा त आंफु भन्दा अब्बल नै थिए ,भर्खर काठमाण्डौ छिरेकि लबाइ खबाइ, बोलचाल ब्यबहारमा सुधार नभै सकेको हुॅंदा नयाॅं कुटुम्बमा आफ्नो हैसियतको पोल खुल्ने भयले टिकोटालोको साॅंघुरो घेरोमा सामेल गराउने हिम्मत गरेनन् ।बिहेमा त नबोलाए अप्ठ्यारै हुने केटा पक्षले चाल पाए झन् नराम्रो हुने र भिडभाडमा साह्रै ख्याल पनि नहुने हुॅंदा घुमाउरो चेतावनी सहित बोलाए ।
भर्खर अधिकृतमा बढुवा भएर गाॅंउमै स्थायी शिक्षिका भएकी श्रीमतीलाइ सके सरुवा गराउॅंला नसके कुनै नयाॅं जागिर खोजौंला भनेर काठमाण्डौ प्रबेश गरेकी पढेलेखेकी देउरानीलाई सांवा अक्षर कनिकुथी पढेकी त्यहीं आएर गुन्युबाट बनारसी सारीमा उक्लेकी जेठानीले घुमाउरो पाराले सभ्यताको पाठ पढाइन् अब बुहारीको घरमा हाहाकार भयो ।दाजुको छोरीको बिहेमा नजाने कुरो भएन , जांदा कतिखेर कहां चुक हुन्छ र त्यो कथित सभ्यहरु नबसंभ्रान्तहरुको भिडमा इज्जतको लंगौंटी फुस्कन्छ , धोती तार तार हुन्छ, आतंकनै भयो भाइलाई ।
चाडबाड, सरकारी समारोह, बिहेबारीकालागि जतनले दराजमा राखेका कपडा समेत आउट डेटेट ,रंग उडेका ,सेट नमिलेका लाग्न थाले ।नन्दको हालत झन् खराब भयो। चप्पल देखी कांटा लिपस्टिक गहना सम्मको सेट मात्र नभएर ब्युटी पार्लर समेतको एकाध घण्टाको लागि हुने तामझामको लागि लोग्नेको एक बर्षको तलबले नपुग्ने भयो ।अझ जमघट खानपिन परिकार कांटा छुरी, गफगाफ हंसिमजाकमा कहाॅंनेर आंफै हंसिमजाकको पात्र भईन्छ भन्ने डरले तनाब भईनै रहने भयो ।कतिचोटी लाग्यो जांदै नजाउॅं ,बिसञ्चो छ भनेर सुति दिउॅं ,तर त्यसो गरे पनि एक जना त जानै पर्यो ।
“म जुजुमान “ , आज भन्दा साठी सत्तरी बर्ष अगाडी संभबत गोबिन्द बहादुर मल्ल’गोठाले’ले कथा लेख्नु भएको थियो ।सो कथामा तात्कालिन काठमाण्डौमा उदय भैरहेको नव संभ्रान्तबर्ग र जमिनसंग जोडिएका मध्यमबर्गको मनोबिज्ञानको जिबन्त तस्बिर उतार्नु भएको थियो ।राणा शाह तिनका भारदारको देखासिकी नक्कल गरेर जबर्जस्ति उनिहरु जस्तै हुने देखिने चाहनामा आफ्नो मौलिक स्वभाब खानपान चरित्र जिबन शैली जबर्जस्ति बदल्दा न उनिहरुको जिबन सहज सरल स्वभाबिक भयो न आफ्नो बिरासतसंग नाता सम्बन्ध कुलकुटुम्ब बाल्यकालका साथीभाइ पाखापखेरासंग संबन्ध जोडिन सक्यो ,सबै पराया भए ।काठमाण्डौका रैथाने समुदाय भित्र जरो गाड्दै गइरहेको सांस्कृतिक बिचलन अहिले पहाड तिर सरेको छ भने काठमाण्डौका रैथानेहरुमा समेत धेर थोर अबशेष अझै छ ।
थानकोटमा चारआनामा दुई तले घर भएका एक जना सज्जनले छोरीको बिहेमा सबैकुरा मिले पनि केटाको काठमाण्डौमा घर नभएकोले तयार भएनछन् ।म केटी पक्षकालाइ राम्रो चिन्ने भएकोले एक दिन मलाई फोन गरे ,र केटाको परिबारको बारेमा सोधपुछ गरे ।म केटालाइ चिन्दिनथें तर उनिहरुको सामाजिक आर्थिक हैसियत राम्रो संग चिन्दथें ।अहिले पनि कच्चिबाटो नपुगेको बागलुंगको सुदुर गाउंमा जरो भएका थानकोटे सज्जनले पोखरामा पढेलेखेको प्रतिष्ठित संपन्न परिबारलाइ उनले सभ्यता संस्कार रहनसहन नमिल्ने भन्ने जस्तो पेटबोली बुझेपछी मैले उनलाइ भनि दिएं केटाको सम्पतिले काठमाण्डौ न्युरोड दुइ वटा घर किन्न पुग्छ ,परिबार नाम चलेका हुन केटो तपाईले मन पराउनु भएको रहेछ आंट्नु होस भने ।काठमाण्डौमा एउटा घडेरी सम्म नभएकालाइ कसरी छोरी दिने भने ? दिएनछन् ।
कुंबर भएर काठमाण्डौ छिरेकाहरु एकाएक महाराणा प्रतापका बंसज राणाहरुमा परिबर्तन भएका थिए ।उनै राणा मध्ये एक जना रोलवाला राणाजी कहाॅं भान्छे भांडा-चुल्हो गर्दै संस्कृत पढेर हाकिम भएका काठमाण्डौमा घर बनाएका सज्जनले गौरब साथ मैले भांडा माज्दै पढ्दै गरेर यो हैसियत ,सम्पती र छोराछोरीहरुलाइ उच्च शिक्षा दिलाएको हुॅं भन्दै गर्ब साथ पाहुनापछालाई सुनाउॅंदा रहेछन् ।बिगतका संघर्ष भनिरहॅंदा छोरा छोरीलाइ भने गर्ब हैन ग्लानी हुॅंदो रहेछ ,अपराधबोध हुॅंदो रहेछ ।पटक पटक बा लाई यस्ता कुरा अब नभन्न सुझाउंदा रहेछन ।खानदानी संभ्रान्त देखिने झुटो दम्भमा मानि कसरी स्वत्व गुमाउंदो रहेछ प्रकारान्तरले पहिचान बिहिन बेवारिसे बनेर भट्किदो रहेछ यसका परिणाम सतहमा देखिन थालेका छन् ।
कर्मचारीमा मात्र किन ,परीश्रम नगरी अस्वभाविक तरिकाले धनाढ्य बनेका नब धनिकहरु ,राजनितीकर्मीहरु सबै यसै बर्गमा आउंछन ।अस्वभाबिक तबरले आर्जित पद प्रतिष्ठा ऐश्वर्य सुख चयनहरु नितान्त टिकाउ नहुने र बिस्तारै होइन एकै चोटी खुर्मुरीदै झर्ने सत्य नबुझ्दा हुने परिणाम त्यतिखेर थाहा पाउंछन जतिखेर सुध्रने मौका गुमि सकेको हुन्छ ।
तिनै गाउॅं, गोरेटा ,खेत खलियान ,जातजातीका बस्तिहरुबाट उठेका हवाइ चप्पलमाथी लाहुरेले जडाउरी दिएको कोट लगाएर सिंहदरबार छिरेका ,आफ्नो ब्यापार उद्यम ब्यबसाय जागीर नभएकाहरुका राजधानीमा अट्टालिकाहरु छन ।बोली भाषा पहिरन गरगहना बसउठ घुमफिरमा/पहिरनमा ठुलो परिबर्तन आएको छ ।तर स्वभाब बिपरितको फरक देखिन खोज्ने जद्दोदहत मुजुरको प्वांख घुसारेर चिटिक्क परेको काग जस्तै हो ।पद प्रतिष्ठा पैसाको तुजुक सकिए बित्तिकै एकै झड्कामा मुजुरका प्वांखहरु झर्ने छन ,न यी मुजुर हुनेछन न कागले आफ्नो बथानमा मिसाउनेछ ।
तथाकथित उच्च र संभ्रान्तबर्ग भित्र जबर्जस्ती प्रबेश गर्न ,यसैलाइ जिबनको सफलता ठान्ने मध्यम र निम्न मध्यम बर्गको मरिहत्तेले देशमा भ्रष्टाचारमात्र बढेन ,दलाल र उपभोक्ताबादी संस्कृती पनि ताण्डब गरिरहेछ ।देश ध्वस्त हुॅंदैछ । राष्ट्रियता धरापमा परिसकेको छ ।सामाजिक संस्कार र मुल्यहरु पतनोन्मुख छन ।कम्युनिष्टहरुले बर्गोत्थान भनेको सायद यसैलाइ पो हो की ! भलै सर्बहाराहरुको पिछडिएकाहरुको उत्थान गर्छु भनेर काठमाण्डौ छिरेका कम्युनिष्टहरुले आफ्नै उत्थान गरे । यो काठमाण्डौकै पानीमा संधै संभ्रान्तरस बहिरहन्छ र हो की कुन्नि ।।।
चराहरु दिन भर देशदेशाबर उडान भरे पछी सांझ त उही रुखको टोड्कामा बिसाउने हो । तर उपेक्षा गरेर बेवारिस छाडिदिएको पहराको रुख साॅंझमा फर्कदा लडेको रहेछ भने कहाॅं परान छाडने हो ? जिबनको उत्तरार्धमा सबै सम्पति सन्तानलाई बुझाएर पेन्सनपट्टा च्यापेर आउने बनपाखा, साथीसंगती, तुलसीको मोठको संझनामा बलिन्द्रधारा रोएका कति पुर्बकर्मचारी ,उद्यमी ,ब्यबसायी मैले देखेको छु ,सुनेको छु ,कतिपय मेरै दुइ चार बर्ष उमेरमा जेठा मित्रहरु छन ।सुख आनन्द बल हुंदा बैभब हुंदा ,पद प्रतिष्ठा हुॅंदा आफै ओइरिन्छन ,नचाहॅंदा नचाहॅंदै पनि ठेलमठेल गरेर आउॅंछन् ,खोज्नु पर्दैन ।यि सबै चाहिने जिबनको उत्तरार्ध्दमा हो ।त्यतिखेर पद प्रतिष्ठा बल बैभब भएको बेला जगेर्ना गर्न सकिएन,शक्तिको उन्मादले जरो बिर्सियो भने ,बिरासत बिर्सियो भने छोराछोरी समेत बिराना हुने ,उनिहरुले बोझ ठान्ने ,धर्म नैतिकता समेत ख्याल नगरेर आर्जन गरेका सम्पत्ति बुहारीको कब्जामा हुने अबस्था हो ।
बिश्व बिख्यात ब्राण्ड रेमण्ड कुनै बेला अरबका शेख ,युरोप अमेरिकाका धनाढ्यहरुको पहुंचमा मात्र हुन्थ्यो ।रेमण्डको कपडामा संसारकै सबैभन्दा महंगा मोडलहरु बिज्ञापनमा सजिएर आउंथे ।भारतमा उनको पहिलो निजी हवाइ जहाज थियो ।एक पटक उनले आंफैले लण्डनबाट हबाइ जहाज उडाएर मुम्बई उतारेका थिए ।बिख्यात पत्रिका फोर्ब्सको धनाढ्यहरुको सुचीमा उनि धेरै बर्ष टिकी रहे ।आज उनै उद्यमी बिजयपत सिंहानियाको एक मात्र छोराले सय बर्ष पुग्न लागेका माता पितालाइ पाटीको बास बनाई दिएको छ ।मुम्बइको एउटा साधारण दुइकोठे फ्ल्याटमा गुजारा गरिरहेका छन ।उनि भन्छन् ,”हामी सुखी छौं ,खुसी छौं ,आनन्दित पनि छौं ।किनभने ति बैभबका दिनहरुमा पनि हामी जरोबाट उछिट्टिएका थिएनौं ।त्यही बिरासतको सम्मान र जुडावले हाम्रो जिबन सुखद बितिरहेछ ।त्यति बोध हुंदा हुंदै पनि मबाट एउटा चुक भयो ,सन्तान संधै मातापिता सॅंग बांधिएर बस्छन् समय भएपछि चराहरु झै बिच्छेद भएर उड्छन् भन्ने प्राकृतिक नियम मैले बुझिनॅं ,सबै चल अचल सम्पति उद्योग सेयर आफुलाइ छोरो मात्र राखेर छोरालाइ दिएं ,आज छोराले मलाइ बेदखल गर्यो ।”
मैले आफ्नै पसिनाले बैभबको साम्राज्य निर्माण गरेका ,उमेर र समयले निबृत भएका धैरै उद्यमी ब्यबसायीहरु मेरै वरिपरी दैनिक जस्तो देखिरहेको छु ।उनीहरुको हिजोको जस्तो स्बभाब, रौब,दंभ र अहंकारले तम्तमाएको हैन ,उनिहरुलाइ नितान्त निरिह जस्तो ,एक्लो जस्तो ,हतास, बदहवास टोलाइ रहेको देख्छु ।आफ्नै जगमा ,आफैंले हस्तान्तरण गरेको साम्राज्यमा परिवारजनको उछलकुद चमकदमक झिलिमिल जिन्दगीको सानो किरण पनि उनिहरुको अनुहारमा छैन ,लुटिएए जस्ता ,खोसिए जस्ता मलिन निरास देखिन्छन ।
बिसौं बर्ष सत्ताको शिखरमा दमखम साथ बसेका र समयले निबृत जस्तै गरिदिएका तर आशै नमारेका नेताहरु अस्ति,हिजो र आज तिन अबस्थामै देखि रहेछु ।हिजो सत्ताको चौंकचौंध उज्यालोमा तिरमिराएर नदेखिएको बिगतमा म फेरी झर्नु पर्छ ,उत्तरार्धको लामो र कहाली लाग्दा दिनहरु फेरी अस्तिका झैं बिताउन पर्छ ,भन्ने चेत भएको भए आज आफ्नैसंग तर्सेर झस्कन पर्ने ,घरी घरी सपनामा तर्सेर आतंकित हुनु पर्ने ,दुइ जना उभिएर आफ्नै सुरमा गफ गरिरहंदा अक्कलझुक्कल आंफुलाइ हेरे वा आफ्नै बिषयका सिलसिलामा हाॅंसे भने मलाइनै उपहास गरेर हाॅंसेकि भनेर चिन्तित हुनु पर्ने भयग्रस्त मनोबिज्ञानमा कष्टपुर्ण जिबन बिताउनु पर्ने थिएन ।
महर्षी अष्टाबक्रले जनकलाइ सम्झाउदा भन्नु भएको थियो “जगतको बोधनै मोक्षमार्गको पहिलो सिंढि हो जनक “। र सबै भन्दा कठिन पडाव पनि हो ।यसमा टेक्ने बित्तिकै मोक्षका द्वारहरु धडाधड खुल्दै जान्छन ।”कृष्णले अर्जुनलाइ संझाउदा ‘स्व:धर्म निधनं श्रेयः परधर्मो भयावहः ‘ भन्नु भयो ।कृष्णले प्रचलित धर्महरुलाइ धर्म भन्नु भएको थिएन , स्वभावलाइ धर्म भन्नु भएको थियो जुन उस्को अन्तस्करणमा युगयुग देखि निर्मित भएर आएको हुन्छ यो नै स्वभाब धर्म हो ।स्वधर्ममा रहनु वा आफ्नो बिरासतसंग जोडिनु र जगतको सास्वत यथार्थको बोध हुनु ,मानिसको जन्म देखि मृत्यु सम्म यिनै युगिन मुल्यहरुलाइ आत्मसात् गरेर रह्यो भने जीवन सुखद संपन्न र आल्हादमय हुन्छ ।आफ्नो बनपाखा छांगा छहरा फल कन्दमुल गाइ बस्तु बा आमा दाजुभाउजु भतिजा भतिजी लगौंटिया साथी संगतीको सुन्दर संस्कृति र जीवन मूल्य त्यागेर सभ्य हुने ,सम्पन्न हुने ठुलो हुने अन्धो दौडमा फराल्दा , जहाॅं फरालिन्छ त्यो संस्कृतिले पनि स्वभाविक आत्मसात गर्दैन ,फर्केर लाचार भएर फर्केर आउॅंदा समयको नदी नेटो कटी सकेको हुन्छ । नया पानीले उसलाइ चिन्दैन , हिजोको आफुलाइ चिन्ने पानी बगी सकेको हुन्छ। स्थिर र निर्जिब किनाराले चिनेर कुनै अर्थ रहदैन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१७ बैशाख, पोखरा ।नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशमा प्रदेश स्तरीय कार्यालय छ…






