बैंकहरूको नाफा पौने एकाउन्न अर्ब


     एभरेस्ट आवाज    
     वैशाख १७ गते २०७८ मा प्रकाशित



कोरोना महामारीमा वाणिज्य बैंकहरूको नाफा घट्ने अनुमान विपरीत झनै बढेको छ।

चालु आर्थिक वर्षको नौ महिना (साउन–चैत) मा २७ वाणिज्य बैंकहरूले पौने ५१ अर्ब रूपैयाँ नाफा गरेका छन्।

कोरोना महामारीका कारण अघिल्लो वर्ष बैंकहरूको नाफा घटेकाले यो वर्ष पनि घट्न सक्ने अनुमान थियो। गत वर्ष सोही अवधिमा ती बैंकहरूले करिब ४४ अर्ब ७० करोड रूपैयाँ खुद नाफा गरेका थिए।

बैंकरहरूले गत आर्थिक वर्षको तुलनामा अहिले नाफा वृद्धि हुनुमा कोरोनाबाट अनुभव लिएर काम गर्नुलाई लिएका छन्। यस अवधिमा २१ बैंकले नाफा बढाएका छन् भने ६ वटाको घटेको छ। तेस्रो त्रैमासमा सबभन्दा बढी नाफा नबिल बैंकले गरेको छ।

साउन–चैतसम्म नबिलले तीन अर्ब ६७ करोड रूपैयाँ नाफा कमाएको छ। त्यस्तै, एनआइसी एसिया, राष्ट्रिय वाणिज्य र ग्लोबल आइएमई बैंक पनि तीन अर्ब रूपैयाँभन्दा बढी कमाउन सफल भएका छन्। नाफा घटाउनेमा स्ट्यान्डर्ड चार्टर्ड, एनसिसी, एसबिआई, एभरेस्ट, हिमालयन र सेन्चुरी बैंक छन्।

धेरै नाफा बढाउनेमा एनएमबि सबभन्दा अगाडि छ। उक्त बैंकले ८८ प्रतिशत नाफा बढेको विवरण सार्वजनिक गरेको छ। कोरोना महामारीमा उद्योगी–व्यवसायीलाई साँवा तथा ब्याज भुक्तानीका लागि नेपाल राष्ट्र बैंकले कर्जा पुनर्तालिकीकरण र पुनर्संरचना गर्न पाउने सुविधा दिएका कारण धेरैले यस्तो नीति आउँदा बैंकहरूको नाफा घट्ने अनुमान गरेका थिए। तर कतिपय बैंकर सोही नीतिका कारण कर्जा बिग्रन नपाएर बैंकहरूलाई सहज भएको बताउँछन्।

नागरिक दैनिकबाट


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।