ठगिएको रकम सुरक्षित आप्रवासन परियोजनाको पहलमा फिर्ता


     एभरेस्ट आवाज    
     वैशाख १९ गते २०७८ मा प्रकाशित



सुरक्षित आप्रवासन परियोजना (सामी) को पहलमा तनहुँका १८ जनाले ठगिएको रकम फिर्ता पाएका छन्।

वैदेशिक रोजगारको शिलशिलामा ठगिएकाहरूलाई सामी परियोजनाको पहलमा रकम फिर्ता गरिएको हो। चालु आर्थिक वर्षको असारदेखि हालसम्म १८ जनाले ८ लाख ७० हजार रुपैयाँ रकम फिर्ता पाएको परियोजनाका जिल्ला संयोजक लुना रानाले जानकारी दिएकी छन्।

यस अवधिमा व्यास नगरपालिकाका ४ लाख, म्याग्दे गाउँपालिकाभित्रकाका ४ लाख ४० हजार रुपैयाँ र अन्य स्थानीय तहकालाई ३० हजार रुपैयाँ रकम फिर्ता गरिएको छ।

चालु आर्थिक वर्षमा आप्रवासन केन्द्रमा ९२ वटा मुद्दा परेका छन्। त्यसमध्ये व्यास नगरपालिकाका ३१, भानु नगरपालिकाका ७, शुक्लागण्डकी नगरपालिकाका १६, म्याग्दे गाउँपालिकाका २१ र अन्य स्थानीय तहका १७ मुद्दा छन्। आप्रवासन केन्द्रमा परेका उजुरीका आधारमा उनीहरूलाई रकम फिर्ता गराउन पहल गरिएको रानाले जानकारी दिइन्।

‘पीडित पक्षले मुद्दा दर्ता गराएपछि ठगी गर्नेलाई सम्पर्क गर्छौँ, प्रशासनको समेत सहयोग प्राप्त भएपछि ठगी गर्नेहरू डराएर पैसा लिएर आउने गरेका छन’, उनले भनिन्, ‘विदेश पठाइदिन्छु भनेर १८ लाख रुपैयाँसम्म ठगी गरेको मुद्दा पनि आएको छ।’

परियोजनाकै पहलमा विदेशमा मृत्यु भएका, अंगभंग भएकालाई ७८ लाख ७४ हजार ८ सय २८ रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको छ। व्यास नगरपालिकाभित्रकालाई २७ लाख ६७ हजार ३ सय ५, शुक्लागण्डकी नगरपालिकाभित्रकालाई १२ लाख ७२ हजार ४ सय ४२, म्याग्दे गाउँपालिकाभित्रकालाई ६ लाख १९ हजार ८१ र अन्य स्थानीय तहकालाई ३१ लाख ३६ हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइएको रानाले जानकारी दिइन्।

कोभिड संक्रमणका कारण गरिएको बन्दाबन्दीको अवधिमा ५३ जनालाई विभिन्न देशबाट उद्धार गरिएको छ। त्यसमध्ये व्यास नगरपालिकाका ७, भानु नगरपालिकाका ११, शुक्लागण्डकी नगरपालिकाका ११, म्याग्दे गाउँपालिकाका ११ र अन्य स्थानीय तहका १३ जना छन्।

वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन विसं २०७६ मंसीर १ गतेदेखि जिल्लाका व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकामा यो परियोजना संचालित छ।

परियोजनामार्फत विदेश जाने र विदेशबाट फर्किएका युवायुवतीलाई परामर्श सेवा प्रदान गर्ने गरिएको छ। त्यसका लागि जिल्ला प्रशासन कार्यालयमा आप्रवासन केन्द्र स्थापना गरिएको छ। आप्रवासन केन्द्रमा दुई परामर्शकर्ता खटाइएको छ।

हालसम्म उक्त केन्द्रबाट २ हजार ८ सय ३१ जनालाई परामर्श दिइएको छ। त्यस्तै, ८१ जनालाई सीप तालिम सिफारिश गरिएको छ भने ७ सय ३ जनाको रिटर्नी सीप परीक्षण तथ्यांक संकलन गरिएको छ। साथै यस अवधिमा ६१ जनालाई मनोसामाजिक परामर्श, ५६ जनालाई क्वारेन्टिनमै परामर्श र ६४ जनालाई आइसोलेशनमा परामर्श सेवा प्रदान गरिएको छ।

जिल्ला प्रशासन कार्यालयमा वैदेशिक रोजगारीका लागि विदेश जान राहदानी बनाउन पुगेका युवालाई विदेश जानुपूर्व गर्नुपर्ने कामका बारेमा जनचेतना अभिवृद्धि गर्नेजस्ता काम केन्द्रबाट प्रदान गरिन्छ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।