समृद्धि र विकासमा सर्वसाधारणलाई जोड्दै ताल


     एभरेस्ट आवाज    
     वैशाख २२ गते २०७८ मा प्रकाशित




तालैतालको वडाका रूपमा ख्याति कमाएको पोखरा महानगरपालिका–२६ स्थित खास्टे, न्युरेनी र गुँदे ताल यहाँका स्थानीयवासीको समृद्धि र विकासमा वरदान साबित हुँदै गएका छन्।

तालले यहाँको गरिमा र महत्वलाई विश्वसामु चिनाउन योगदान गरेको छ नै यसैका माध्यमबाट यहाँका स्थानीयवासी एकताबद्ध भई समृद्धि र विकासको अभियानमा पनि जुटेका छन्।

पछिल्लो समयमा ताल आसपासका क्षेत्र खरानेफाँट र यसका जलाधार क्षेत्रका स्थानीयवासी, युवा तथा व्यवसायीको संयुक्त पहलमा वातावरण संरक्षणका साथै समृद्धि र विकासका पहल बढिरहेको छ। यसै पहलस्वरुप २०७३ माघदेखि खास्टे ताल मत्स्य तथा कृषि सहकारी संस्था स्थापना भई आसपासका ७४५ सर्वसाधारण यसमा आबद्ध भइसकेका छन् ।

मत्स्यपालनले बिस्तारै व्यावसायिक रूप ग्रहण गर्दै जाँदा वार्षिक करिब ८ लाख रुपैयाँसम्मको आम्दानी हुने गरेको छ। सहकारीमार्फत गरिएको मत्स्यपालनले तालको दिगो संरक्षणमा योगदान पुग्नाका साथै सर्वसाधारणमा सचेतना अभिवृद्धिसमेत गरेको खास्टे तथा न्युरेनी ताल संरक्षण विकास समितिका अध्यक्ष हरि अधिकारीले बताए। उनका अनुसार मासिक बचतसमेत हुने गरेको सहकारीमा वार्षिक २ करोड रुपैयाँ बराबरको कारोबार हुने गरेको छ।

वडाभित्रका तीनवटै तालका आ–आफ्नै विशिष्टता छन्। खास्टे ताल २६९ हेक्टर क्षेत्रफलमा फैलिएको छ। तालमा पानीले ढाकेको क्षेत्रफल २०० हेक्टर रहेको छ। १ दशमलव ५ देखि ५ मिटर गहिराइ रहेको यो ताल रामसार क्षेत्रमा सूचीकरण भएसँगै यसको संरक्षणमा चासो बढेको देखिन्छ। सफा पानीको तालका रूपमा रहेको यहाँ विभिन्न प्रजातिका रैथाले चराका साथै हिउँदको समयमा आउने पाहुना चरा देख्न सकिन्छ। खास्टे तालमा रहेको ज्येष्ठी तालबाराही मन्दिरमा पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ।

यहाँको अर्को न्युरेनी ताल जम्मा १८ हेक्टर क्षेत्रफलमा फैलिएको छ। यस तालको १० हेक्टर क्षेत्रफल पानीले ढाकेको छ भने यसको गहिराइ १ दशमलव ४ मिटर छ।

त्यस्तै गुन्द्री बुन्न प्रयोग हुने एक विशेष प्रकारको गुँद नामक वनस्पति धेरै पाइने भएकाले वडाभित्रको अर्को तालको नाम गुँदे ताल रहेको छ। चराको बासस्थानका लागि उपयुक्त मानिने यो ताल ६१ हेक्टर क्षेत्रफलमा फैलिएको छ। कूल २० हेक्टर क्षेत्रफल पानीले ढाकेको यस तालको गहिराई १ दशमलव ६ मिटर रहेको छ। रामसार सूचीमा सूचीकृत भएसँगै यसको संरक्षणमा थप चासो बढ्दै गएको देखिन्छ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।