स्वास्थ्य संकटकाल घोषणा गर्न निजी क्षेत्रको सुझाव

- अक्सिजनको आपूर्ति सहज बनाउने काममा लाग्न उद्योगी व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह। निजी क्षेत्रले अक्सिजन आपूर्तिमा सहयोग गर्दछ। कतिपय जिल्लामा कतै अक्सिजन छ, सिलिण्डर छैन र कतै सिलिण्डर छ अक्सिजन छैन। अक्सिजन आयात गर्न सरकारले भारत सरकारसँग संवाद गर्नुपर्छ। तत्कालै २० हजार अक्सिजन सिलिण्डर र ५ सय भेन्टीलेटर सरकारले ल्याउनुपर्छ। अक्सिजनको आवश्यकता पुर्ति गर्न जी–टू–जीमार्फत् आयात गर्नुपर्छ।


     एभरेस्ट आवाज    
     जेठ ३ गते २०७८ मा प्रकाशित




तस्बीर

निजी क्षेत्रले सरकारलाई स्वास्थ्य संकटकाल लगाउन सुझाव दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित सम्बन्धित मन्त्रालयका अधिकारी, चिकित्सक,अस्पताल प्रशासन र निजी क्षेत्रका प्रतिनिधिहरुसँगको छलफलमा निजी क्षेत्रले अक्सिजन आपूर्तिमा सहयोग गर्ने प्रतिवद्धता जनाउँदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले स्वास्थ्य संकटकाल लगाउनेबारे सोच्नुपर्ने बताएका हुन्।

उनले स्वास्थ्य संकटकाल घोषणा गरे विश्वको ध्यान नेपालतिर आउने र प्राथमिकताको साथ उपचार गर्न सकिने बताए। अमेरिकासँग नेपाल सरकारले अनुदान अथवा किनेरै भएपनि ल्याउने गरी भ्याक्सिन माग्नुपर्ने पनि उनले बताए। चिकित्सा शिक्षा अध्ययनरत अन्तिम वर्षका विद्यार्थीहरुलाई अस्पतालमा काम गर्न लैजानुपर्ने उनको भनाई थियो।

यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले कतिपय जिल्लामा कतै अक्सिजन हुने सिलिण्डर नहुने र कतै सिलिण्डर हुने अक्सिजन नहुने समस्या रहेको भन्दै यस्तो समस्या हल गर्न ध्यान दिनुपर्ने बताए। उनले अक्सिजन आयात गर्न सरकारले भारत सरकारसँग संवाद गर्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीले अक्सिजनको आपूर्ति सहज बनाउने काममा लाग्न उद्योगी व्यवसायीलाई आग्रह गरेपछि कोरोना संक्रमितको उपचाका लागि निजी क्षेत्रले अक्सिजन आपूर्तिमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले अक्सिजन फ्याक्ट्रीमा आफ्नो कम्पनीको सिलिण्डर भए भरिदिने र अर्को कम्पनीको भए नभरीकन फिर्ता पठाउने गरिएको भन्दै जुनसुकै कम्पनीको भएपनि भर्ने व्यवस्था गर्नुपर्ने बताए। अक्सिजनको आवश्यकता पुर्ति गर्नका लागि जी–टू–जीमार्फत् आयात गर्नुपर्नेमा उनले जोड दिए।

होम आइशोलेसनमा बस्नेहरुका लागि सल्लाह, सुझाव दिनको लागि चिकित्सकहरुको मोवाइल टिम बनाउनुपर्ने उनले बताए। चेम्बरले ३ सय थान अक्सिजन सिलिण्डर मगाएको र ३/४ दिनभित्र सरकारी अस्पताललाई दिइने पनि उनले बताए।

यसैगरि, गैरआवासिय नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतोले तत्कालै २० हजार अक्सिजन सिलिण्डर र ५ सय भेन्टीलेटर सरकारले ल्याउनुपर्ने बताए। ठूलो अक्सिजन प्लान्ट तत्कालै बनाउनुपर्ने आवश्यकता रहेको पनि उनले बताए।

वरिष्ठ चिकित्सक डा चक्रराज पाण्डेले बिरामीको अवस्था हेरेर अस्पताल भर्ना गरिनुपर्ने बताए। अनावश्यक भर्ना भएका बिरामीलाई भन्दा अतिआवश्यक अवस्थाका बिरामीलाई अस्पतालमा भर्ना गरेमा बचाउन सकिने उनको भनाई छ।

वरिष्ठ चिकित्सक डा. भगवान कोइरालाले अक्सिजन उत्पादनमा काम गर्ने मानिसहरुलाई भ्याक्सिन तथा जोखिम भत्ताको व्यवस्था गर्नुपर्ने बताए। बढीभन्दा बढीलाई भ्याक्सिन लगाउनुपर्नेमा उनको जोड छ। ९२ प्रतिशत कोरोना संक्रमित घरमै बस्ने गरेको भन्दै उनले चिकित्सकहरुले होम आइशोलेसनमा बसेकाहरुलाई सल्लाह सुझाव दिन नसकेकाले होम आइशोलेसनमा बस्नेहरुको लागि टेलिभिजनमार्फत् जानकारीमुलक कार्यक्रम संचालन गर्नुपर्ने बताए।

कारोबार दैनिकमा समाचार छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।