अक्सिजन प्लान्टका लागि स्व.सम्झना बज्राचार्यको परिवारबाट १ लाख १ हजार ५ सहयोग


     एभरेस्ट आवाज    
     जेठ १९ गते २०७८ मा प्रकाशित




पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बृहद अक्सिजन प्लान्ट स्थापना र आईसियू बेड थप्नका लागि शुरु गरिएको ‘रु १०० दान गरौं, महामारीमा प्राण राखौं’ भन्ने नाराका साथ आर्थिक संकलन महाअभियानमा सहयोग आउने क्रम जारी छ ।

बतास फाउण्डेसनको पहल तथा एभरेस्ट एफएमको सहकार्यमा शुरु गरिएको महाअभियानमा पछिल्लो पटक पोखरा १ मोहरियाटोल निवासी स्वर्गिय सम्झना बज्राचार्यको पून्य तिथिमा उनका परिवारले १ लाख १ हजार ५ रुपैयाँ प्रदान गरेका छन् । स्वर्गिय सम्झनाको स्मृतिमा उनको श्रीमान रवीन्द्रमान बज्राचार्य, छोरी दृष्टि र छोरा अनुश बज्राचार्यले सो रकम भिन्तुना युवा क्लवका अध्यक्ष राजन श्रेष्ठमार्फत बतास फाउण्डेसनको पहलमा स्थापना गर्न लागिएको अक्सिजन प्लान्टका लागि खोलिएको बैंक खातामा जम्मा गरिएको छ ।

अक्सिजन प्लान्ट निर्माणका लागि बतास फाउण्डेसनका अध्यक्ष आनन्दराज बतासको अध्यक्षतामा अक्सिजन प्लान्ट निर्माण समिति बनाएको छ । उक्त समितिले ग्लोबल आईएमई बैंक पोखरा शाखामा रहेको बतास फाउण्डेसनको ६५०१०१००००४७७ खाता नम्बरमा रकम जम्मा गर्न सकिने बताएको छ । समितिले रकम कनेक्ट आईपिएस, क्यूआर कोड वा बैंक ट्रान्सफरमार्फत बैंकमा जम्मा गर्न आग्रह गरेको छ भने चेकमार्फत भए बैंकमा जम्मा गर्न नसक्ने अवस्थामा पोखराका लागि विकास आचार्यलाई ९८०१९३५६६६ र काठमाडौंका लागि भए डिके सिंहलाई ९८५११२५९३४ मा सम्पर्क गर्न सकिने जनाइएको छ । तर नगद संकलनलाई भने निरुत्साहित गरिएको कोषाध्यक्ष पौडेलले बताए ।

समितिले आईसियू स्थापनाका लागि सञ्चालित अभियानमा सहभागि मध्ये ५० हजार भन्दा बढी दान गर्ने दाताहरुलाई सार्वजनिक सञ्चारमाध्यममार्फत उच्च सम्मानका साथ नाम सार्वजनिक गरिने अभियानका सदस्य तथा मिडिया संयोजक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

समितिले अक्सिजन प्लान्ट स्थापना र आईसियू बेड थप्ने अभियान सफलतापूर्वक सम्पन्न भएमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुविधा सम्पन्न अस्पतालको रुपमा विकास हुने र कसैलेपनि उपचारको अभावमा ज्यान गुमाउन नपर्ने स्थिति निर्माण हुने विश्वास लिएको श्रेष्ठले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।