चौधरी उद्योग परिसरमा लागेको आगो ५ घण्टापछि नियन्त्रणमा


     एभरेस्ट आवाज    
     जेठ २० गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकास्थित चौधरी उद्योग परिसरमा लागेको आगो नियन्त्रणमा आएको छ।

शुक्रबार बिहान उद्योग परिसरभित्रको सिजी ब्रुअरीमा लागेको आगो करीब ५ घण्टामा पूर्णरुपमा नियन्त्रणमा आएको हो।

नवलपरासी पूर्व, नवलपरासी पश्चिम र चितवनका ७ दमकल, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरीसहितको प्रयासमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताएका छन्।

सिजी बु्रअरीको गोदाम घरमा लागेको आगो नियन्त्रणका लागि गोदाम घरका भित्तासमेत भत्काइएको थियो। आगो बढ्दै गएर कम्पनीको प्लान्ट भएको क्षेत्रमा नपुगोस् भनेर गोदाम घरको भित्तासमेत भत्काएर आगो नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए।

आगलागीबाट तयारी अवस्थामा रहेको बियर, अन्य पेयपदार्थ, उत्पादनका लागि राखिएका कच्चापदार्थलगायत सामग्रीमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक गिरीले बताए। विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। आगलागीबाट के कति क्षति भयो भन्ने यकिन विवरण भने अझै नआएको प्रहरी नायब उपरीक्षक गिरीले बताए।
रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।