मूल्यवृद्धिका कारण तेल उत्पादन बढाउने ओपेकको निर्णय


     एभरेस्ट आवाज    
     जेठ २० गते २०७८ मा प्रकाशित




तस्बीर: गुगलबाट

तेल उत्पादक राष्ट्रहरुको संगठन (ओपेक) र यससँग आबद्ध तेल उत्पादक राष्ट्रहरुले प्रति दिन थप २१ लाख ब्यारेल कच्चा तेल उत्पादन गर्ने योजना अघि सारेका छन्।

कोरोना भाइरस महामारीको प्रभाव कम देखिन थालेका मुलुकहरुबाट तेलको माग बढेको र तेलको मूल्य बढेका कारण उत्पादन बढाउने निर्णयमा ओपेक पुगेको हो।

ओपेकका सदस्य एवं तेल उत्पादक राष्ट्रहरुका ऊर्जा मन्त्रीहरुको मंगलबार भएको अनलाइन बैठकमा यस्तो निर्णय गरिएको हो।

साउदी अरेबियाका ऊर्जा मन्त्री राजकुमार अब्दुलाजिज बिन सल्मानले पछिल्ला दिनहरुमा तेलको बजारमा देखिएको मागका कारण तेल उत्पादन बढाउने निर्णय सही देखिएको छ भनेका छन्। उनले ऊर्जाको माग र आर्थिक गतिविधिको पुनरुद्धारमा अझै पनि ‘क्षितिजमा कालो बादल’ अझै देखिएको बताए।

ओपेकले मे देखि जुलाईका ३ महिनाको अवधिमा प्रति दिन २१ लाख ब्यारेल तेल उत्पादन गर्ने यसअघि नै जनाइसकेको थियो। अब ओपेकले जुनमा प्रति दिन ३ लाख ५० हजार ब्यारेल तथा जुलाईमा ४ लाख ४० हजार ब्यारेल प्रति दिन थप उत्पादन गर्नेछ। साउदी अरेबियाले प्रति दिन १० लाख ब्यारेल पुनः उत्पादन गर्नेतर्फ विचार गर्न थालेको छ। कोभिडका कारण विश्वभर तेलको माग घटेको भन्दै ओपेकको प्रमुख राष्ट्र साउदी अरेबियाले प्रति दिन १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्न राजी भएको थियो।

ओपेकको प्रमुख सदस्य राष्ट्र साउदी अरेबिया र ओपेकको सदस्य नरहेको रसियाबीच तेल उत्पादनको कोटलाई लिएर केही वर्षदेखि विवाद उत्पन्न हुँदै आएको छ। हाल कोभिडको दोस्रो लहरबाट प्रभावित भारत समेतका मुलुकहरुका कारण तेलको खपतमा कमी आउने, विश्वव्यापी मागमा कमी आउने र तेलको मूल्यवृद्धि हुने आशंका छ।

तेल उत्पादक राष्ट्रहरुले सन् २०२० मा कोभिडका कारण तेलको मूल्यलाई स्थायित्व दिन तेल उत्पादन कटौती गरेका थिए। अहिले परिस्थितिमा केही सुधार आएसँगै तेल उत्पादक राष्ट्रहरुले बिस्तारै तेलको उत्पादन बढाउनेतर्फ लागेका छन्।

अहिले विश्व बजारमा तेलको मूल्यमा निधै सुधार आएको छ। साथै मंगलबार मात्र २ वर्ष यताकै सबैभन्दा बढी मूल्य कायम भएको छ। संयुक्तराज्य अमेरिका, युरोप र एसियामा वर्षको मध्यदेखि ऊर्जाको माग बढ्दैछ। हवाई उडान थपिने भएकाले पर्यटकको आवागमन बढ्नेछ जसका कारण तेलको माग थपिने ओपेकको भनाई छ।

मंगलबार अमेरिकी कच्चा तेलको मूल्य २ प्रतिशत बृद्धि भई ६७.७२ डलर प्रति ब्यारेल पुगेको थियो। ब्रेन्ट क्रुडको कारोबारमा पनि २.७ प्रतिशतले वृद्धि भई प्रति ब्यारेल ७१.१७ डलर कायम भएको थियो। ब्रेन्ट क्रुडको मूल्य विगत २ वर्षको अवधिमा यो सबैभन्दा बढी हो। अमेरिकी कच्चा तेलको मूल्य ३ वर्षयताकै सबैभन्दा बढी हो।

बुधबार तेलको मूल्यमा सामान्य वृद्धि भएको छ। अमेरिकी बेन्चमार्क १६ सेन्टले वृद्धि भएर प्रति ब्यारेल ६७.८८ डलर कायम भएको छ भने ब्रेन्ट क्रुडको मूल्य १८ सेन्टले वृद्धि भई प्रति ब्यारेल ७०.४३ डलर पुगेको छ। तेलको मूल्यमा यस वर्षको शुरुदेखि हालसम्म ३० प्रतिशतभन्दा बढीले वृद्धि भइसकेको छ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।