अन्तरिक्ष केन्द्रमा पठाइने यात्रीका लागि चीनको तयारी, अर्को साता उडान


     एभरेस्ट आवाज    
     जेठ २८ गते २०७८ मा प्रकाशित




तस्बीरः गुगलबाट

चीनले अन्तरिक्षमा निर्माण गरेको आफ्नै नयाँ अन्तरिक्ष केन्द्रमा अन्तरिक्ष यात्रीहरू पठाउन रकेट तयार भएको जनाएको छ।

यो रकेट अर्को साता अन्तरिक्षतर्फ पठाइने तयारी गरेको चीनले बताएको छ।  चीनले पहिलो पटक ३ जना अन्तरिक्ष यात्रीलाई नयाँ अन्तरिक्ष केन्द्रमा पठाउँदैछ।

उनीहरु ३ महिना अन्तरिक्षमा रहने छन्। उनीहरुले त्यहाँ रहँदा अन्तरिक्ष केन्द्र बाहिर हिँड्ने (स्पेस वाक), निर्माण र मर्मतका साथै वैज्ञानिक अनुसन्धान गर्नेछन्।

तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्रको मुख्य खण्ड गत अप्रिल २९ मा अन्तरिक्षमा पठाइएको थियो भने गत महिना अन्तरिक्ष यात्रीका लागि आवश्यक इन्धन, खाद्यान्न र उपकरण बोकेको कार्गो रकेट पठाइएको थियो। लङ मार्च–२ एफ वाई १२ रकेटलाई बुधबार चीनको उत्तरपश्चिमस्थित जिक्वान स्याटेलाइट लन्च सेन्टरमा पठाइएको छ। यो रकेटले सम्भवतः आगामी बुधबार अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्षमा पठाउने छ।

चिनियाँ अन्तरिक्ष इन्जिनियरिङ कार्यालयले अर्को वर्षको अन्त्यसम्ममा ११ वटा रकेट प्रक्षेपण गर्नेछ जसले २ वटा प्रयोगशाला मोड्युलहरु अन्तरिक्षमा पठाउने छ। हाल तियान्हेको वजन करिब ७० टन छ। चीनले ४ पटक अन्तरिक्ष यात्रीहरू अन्तरिक्षमा पठाउने योजना बनाएको छ।

चीनले पठाउन लागेका अन्तरिक्ष यात्रीहरूमा वरिष्ठ अन्तरिक्ष यात्रीहरू, नयाँ व्यक्तिहरु र महिलाहरु पनि रहेका छन्। चीनले यसअघि ११ जना यात्रीलाई अन्तरिक्षमा पठाइसकेको छ जसमा सबैजसो चीनको सेनाका पाइलटहरू रहेका छन्।

हालसम्म संयुक्तराज्य अमेरिका र रुसले अन्तरिक्षमा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र बनाएका छन्। यी केन्द्रमा अमेरिका र रुस समेत अन्य देशका अन्तरिक्ष यात्रीलाई अवसर दिइएपनि चीनलाई भने सुरक्षा खतरा भन्दै संयुक्तराज्य अमेरिकाले सहभागी गराइ रहेको छैन।

एपी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।