बेगनासको ब्राण्डिङ गर्न बेगनास तालमा फिस फेस्टिभल हुने


     एभरेस्ट आवाज    
     कार्तिक २५ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, कात्तिक २५

पोखराको बेगनासलाई ब्राण्डिङ गर्न फिस फेष्टिभल आयोजना हुने भएको छ । होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथले बेगनासको ब्राण्डिङ गर्दै पर्यटक आकर्षित गर्न आगामी कात्तिक १३ देखि २३ गतेसम्म फिस फेष्टिभलको छैटौं श्रृंखला गर्न लागेको हो ।

२०७६ सालसम्म नियमित पाचौं श्रृंखलासम्म सम्पन्न भएको फिस फेष्टिभल कोभिडका कारण २०७७ सालदेखि हालसम्म हुन सकेको थिएन । तर यस वर्ष भने ‘माछाको स्वाद, संस्कृतिको पहिचान, हाम्रो मौलिकताको सम्मान’ भन्ने नारासहित पोखरा–३१ स्थित बेगनास ताल किनारमा फिस फेष्टिभल आयोजना गर्न लागेको एशोसियसनका अध्यक्ष तथा कार्यक्रम संयोजक सुरेश लामिछानेले जानकारी दिए । फेष्टिभलमा देउसी भैलो प्रतियोगितासमेत जोडिएको उनले बताए ।

बेगनास क्षेत्रको पर्यटन प्रवद्र्धन, स्थानीय माछाको बजारीकरण, मौलिक कला तथा संस्कृतिको संरक्षण र आर्थिक गतिविधि चलायमान गराउने महोत्सवको मुख्य उद्देश्य रहेको अध्यक्ष लामिछानेले बताए । महोत्सवमा करीब २५ प्रजाति माछा बिक्री वितरणका लागि राखिने फिस फेष्टिभलका माछा संकलन संयोजक तथा मत्स्य अनुसन्धान केन्द्रका प्रमुख ईकबाल हुसेनले जानकारी दिए । त्यसबाहेक १० वटा स्टलमा माछाका परिकारहरुको स्वाद लिन सकिने उनले बताए । खास गरेर रैथाने प्रजातीका माछाहरु बिक्री गर्नेछौं,उनले भने,‘रेष्टुरेण्टदेखि होटलसम्म पनि स्थानिय जातकै माछाका स्वाद चखाउँछौं ।’

त्यस्तै, महोत्सवको अवसरमा दर्शकहरुलाई सिपीमा मोती उत्पादनबारे जानकारी गराईने भएको छ । महोत्सव स्थलमै स्टल राखेर लेखनाथमा हाल गरिदै आएको सिपी किरामा मोती उत्पादनबारे सम्पूर्ण जानकारी गराईने उनको भनाई छ । ‘हामी प्रत्यक्ष रुपमा सिपीमा मोती उत्पादन कसरी गर्न सकिन्छ भनेर जानकारी गराउँछौं, जुन दर्शक र पर्यटकका लागि नया र अनौठो हुनेछ’–उनले भने ।

महोत्सवमा स्थानिय पर्यटकीय गन्तव्यहरुको श्रव्यदृश्यसमेत देखाईने भएको छ । खास गरेर लेखनाथ क्षेत्रका ७ तालहरु बेगनास, रुपा, खाष्टे, दिपाङ, मैदी, निउरेनी र गुँदेतालसहित आसपासका क्षेत्रहरुको प्रवद्र्धनात्मक श्रव्यदृश्य स्टल राखेरै देखाईने अध्यक्ष लामिछानेले बताए । त्यस्तै, पचभैयास्थित प्राणी उद्यान आवतजावतका लागि गाडीको व्यवस्था गरिने भएको छ ।

महोत्सवमा अर्को आकर्षणको रुपमा देउसी भैलो प्रतियोगिता हुने भएको छ । मौलिक कला र संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले देउसीभैलो प्रतियोगिता गर्न लागेको अध्यक्ष लामिछानेले बताए । पछिल्लो समय हाम्रो मौलिक संस्कृति देउसीभैलोमा विदेशी गीत घन्काएर अस्लिल डान्स गर्न थालेका छन्,उनले भने,‘हामी विकृति उन्मुख हाम्रो संस्कृतिलाई ट्रयाकमा ल्याउन सुसंस्कृत मौलिक कला र संस्कृति झल्किने देउसीभैलो खेलाएर दर्शक र पर्यटकलाई मोहित बनाउने प्रयास गर्नेछौं ।’

महोत्सवमा राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति, पप कन्सर्ट पनि हुने जनाइएको छ । त्यस्तै, मेलाका लागि आवश्यक भाई मसलादेखि दाजुभाई तथा दिदीबहिनीसम्मका लागि उपहार दिने सामानहरु खरिद बिक्रीका लागि राखिने उनले बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले बेगनासमा हुने फिस फेष्टिभल बेगनास क्षेत्रको मात्र नभई समग्र पोखराको ईभेन्ट भएको बताए । उनले पोखराका सबै ८ वटै तालको वर्गिकरण गरेर त्यसको सम्भाव्यताका आधारमा व्यवस्थित गर्ने र ती तालहरुको आपसमा सम्बन्ध खुल्नेगरी छुट्टै नाम पनि दिनुपर्नेमा जोड दिए । लेखनाथ क्षेत्रका कुनै एक तालमा वाटर स्पोर्टस् सञ्चालन गर्दा पर्यटनले गति लिने बताउँदै उनले भने,‘यहि ताल नभनौं, तर कम्तिमा एउटा तालमा वाटर स्पोर्टस् सञ्चालन गरौं, त्यसो गर्न सकियो भने पर्यटकका लागि नया गन्तव्य बन्नेछ र पर्यटक आगमनमा बृघिद्ध ल्याउनुका साथै पर्यटकको बसाई पनि लम्ब्याउन सघाउनेछ ।’

एसोसिएसनका संस्थापक अध्यक्ष दुर्गाप्रसाद अधिकारीले कोभिडपछि रोकिएको फिस फेष्टिभल पुनः सञ्चालनमा आएपछि त्यसले बेगनासको ब्राण्डिङ गर्दै स्थानिय पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन गर्ने विस्वास व्यक्त गरे ।

पोखरा महानगरपालिकाका आर्थिक महाशाखा प्रमुख मनहर कडरियाले लेखनाथ क्षेत्रको आर्थिक गतिविधि बढाउन र पर्यटकको बसाइ अवधि लम्ब्याउन यस्ता महोत्सव उपयोगी हुने बताए । स्थानीय माछाका परिकार तथा रैथाने खानाको प्रवद्र्धनमा महानगरपालिका सहयोग गर्न तयार छ,उनले भने,‘यसले गाउँ र सहरबीच सहकार्य गरेर उत्पादन र आर्थिक विकासमा सघाउ पु¥याउँछ ।’

महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई एक सय रुपैयाँ र विद्यार्थीलाई ८० रुपैयौ टिकट दर तोकिएको सचिव शक्तिश्री कोईरालाले जानकारी दिईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।