नीति तथा कार्यक्रम पारित


     एभरेस्ट आवाज    
     असार १ गते २०७८ मा प्रकाशित




गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित भएको छ । गण्डकी प्रदेश सभामा सोमबार प्रस्तुत नीति तथा कार्यक्रम मंगलबार बसेको प्रदेश सभा बैठकमा बहुमतका आधारमा पारित भएको हो । मंगलबार बसेको बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको नीति तथा कार्यक्रम पारित गर्न प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई सभामुख नेत्रनाथ अधिकारीले निर्णयार्थ प्रस्तुत गर्दा बहुमत सदस्यले पारित गरेको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे ।

नीति तथा कार्यक्रम पारित गर्नुअघी प्रदेश सभाका सदस्यहरुले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नहरुको जवाफ दिएका थिए । उनले नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता भएको भन्दै नीति तथा कार्यक्रम त्यसैमा केन्द्रीत गरिएको बताए । नागरिकको जीवन बचाउनकै लागि नीति तथा कार्यक्रम स्वास्थ्यमा केन्द्रीत गरिएको र यसैमा आधारित भएर बजेट ल्याउने उनले उल्लेख गरे ।

मुख्यमन्त्री पोखरेलले प्रदेश सभा सदस्यहरुले वितरण गरिने अनुदानमा घोटाला हुन्छ कि भन्ने चासो राखेको भन्दै त्यसका सरकार सचेत रहेको बताए । उनले विधि, प्रक्रियाले बाँधेर मूल्यांकनका आधारमा मात्रै अनुदान दिइने भएकाले दुरुपयोग नहुनेमा ढुक्क हुन आग्रहसमेत गरे ।

यसअघी विपक्षी दल नेकपा एमालेका प्रदेश सभा सदस्यहरुले सरकारले आफ्ना कार्यकर्ता पोस्ने खालको बजेट ल्याउने गरि नीति तथा कार्यक्रम ल्याएको आरोप लगाएका थिए । कोभिड–१९ का कारण बुबाआमा गुमाएका बालबालिका, कोभिड–१९ कै कारण ज्यान गुमाएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका परिवारलाई नगद राहत दिने, कृषि अनुदानलगायतका कार्यक्रम कार्यकर्ता पोस्नकै लागि ल्याएको उनीहरुको आरोप थियो ।

प्रदेश सरकारले आजै बजेट ल्याउँदैछ । आजै अपराह्न ४ बजे बस्ने गण्डकी प्रदेश सभाको बैठकमा अर्थ मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको सरकारका प्रवक्ता तथा बिना विभागीय मन्त्री कुमार खड्काले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।